कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

झाँक्रीले फलामले डाम्दा गुल्मीमा एकको मृत्यु, दुई घाइते

माधव अर्याल

पाल्पा — रोग निको पारिदिने भन्दै तातो फलामले डाम्दा गुल्मीमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको बुधबार मृत्यु भएको हो ।

घटना रेसुंगा नगरपालिका–१, ओख्रेनी तीनधारामा भएको प्रहरीले जनाएको छ । मालिका गाउँपालिका–६ अर्जे घर भई तीनधारामा भाडामा बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी पत्नी ३६ वर्षीया शान्तिला श्रेष्ठले मुखियालाई सन्चो बनाउने बहानामा तातो फलामले डामेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी पुरूषोत्तम पाण्डेले जानकारी दिए । ढाड दुख्ने समस्या रहेका मुखिया झारफुकका लागि पुस २५ देखि निरन्तरजसो श्रेष्ठको घरमा जाने गरेका थिए ।

प्रहरीका अनुसार मुखियाका जेठा छोरा ३४ वर्षीय हुमबहादुर र रेसुंगा नगरपालिका–५, भुवनपानीकी ४० वर्षीया टोपला दमाई घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ । श्रेष्ठ दम्पतीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार रामप्रसाद र शान्तिलाले उपचार गर्ने भन्दै खाना खान नदिई फलामे रड, प्लास्टिक पाइप तथा स्टिलको झाँजर तताई रामबहादुरको शरीरका विभिन्न भागमा डामेका थिए । त्यसपछि उनीहरूले आफैं सन्चो भएर उठ्ने भन्दै छाडिदिएको र त्यही क्रममा उनको मृत्यु भएको हो । टोपलालाई पनि श्रेष्ठ दम्पतीले रोग निको पारिदिने बहानामा पुस २४ गते डाम्दा घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : माघ १, २०७७ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?