प्रधानमन्त्री निवासमा योग दिवस मनाइयो

काठमाडौँ — राष्ट्रिय योग दिवसका अवसरमा बिहीबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा योगाभ्यास कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित मनाइएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरू, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायत सहभागी छन् ।

प्रधानमन्त्री निवासमा योग दिवस मनाइयो

दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो । कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए । योगगुरु आनन्द अरुणले विश्वमा योगाभ्यास बढ्दै गएको र तीन करोडले दैनिक योग गर्ने गरेको बताए ।

योगगुरु हरिप्रसाद पोखरेलले नेपाल योगको जननी भएकाले विश्व योग दिवसको प्रस्ताव संयुक्त राष्ट्रसंघमा भारतभन्दा अगाडि नेपालले गर्न सकेको भए सो प्रस्ताव पारित हुने धारणा राखे । नेपालमा २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ ।

दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सन्देश दिँदै कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिको अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको महत्त्व र सान्दर्भिकता बढेको बताए ।

प्रकाशित : माघ १, २०७७ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?