कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुक्तिपछिका माघी बेग्लै

अहिले थारु गाउँमा न कमैया, कम्लरीका लागि बार्गेनिङ हुन्छ,  न त कोही अर्काका  घरमा दास बन्न जानुपर्छ । परिवारका सबै सदस्य एक ठाउँमा जम्मा भएर माघी  मनाउन पाइरहेका छन् । 
प्रदेश ब्युरो

भैरहवा — माघी पर्व आयो कि थारू गाउँमा कमैया, कम्लरी खोज्न सुरु हुन्थ्यो । पश्चिम तराईका हरेक थारू गाउँमा माघीसँगै जमिनदार र मालिकको लस्कर लाग्थ्यो । आउँदो वर्ष कसलाई कमैया, कम्लरी राख्ने र त्यसका लागि कसरी फकाउने भन्ने तयारी सुरु हुन्थ्यो । माघी थारू समुदायको महान् पर्व हुँदाहुँदै यो दासताको पर्व बन्ने गरेको थियो ।

मुक्तिपछिका माघी बेग्लै

माघीकै दिनदेखि कमैया कम्लरीको नवीकरण हुन्थ्यो तर अहिलेको माघी फेरिएको छ । न त थारू गाउँमा कमैया, कम्लरीका लागि बार्गेनिङ हुन्छ, न कोही अर्काका घरमा दास बन्न जानुपर्छ । परिवारका सबै सदस्य एक ठाउँमा जम्मा भएर माघी मनाउन पाइरहेका छन् ।

घोराही–१६ स्थित मुक्त कमैया शिविरमा बसिरहेकी सन्तोली चौधरीलाई माघी मनाउने चटारो छ । उनी अचेल स्वतन्त्र रूपमा पर्व मनाउन पाइरहेकी छन् । पर्वमा चाहिने खर्च कसरी जुटाउने भन्ने चिन्ता पनि छैन । उनी तरकारी, फलफूल बेचेर दैनिक २ हजारसम्म कमाउँछिन् । ‘अचेल माघी खुसीसाथ मनाउन पाइएको छ । पहिले यस्तो बेला कि त जमिनदारका घरमा भइन्थ्यो कि कसका घरमा कम्लरी बस्ने भन्ने चिन्ता हुन्थ्यो,’ उनले भनिन् । उनका श्रीमान् चुरमान पनि मुक्त कमैया हुन् । उनी फर्निचरको काम गर्छन् । उनीहरूले घडेरी किनेर नयाँ घर बनाएका छन् । ‘आधा जीवन कमैया बसियो तर केही परिवर्तन भएन । जस्तो कमैया बस्यो, त्यस्तै निस्केको हो,’ उनले भने, ‘अहिले आफ्ना नाममा जग्गा र घर भएको छ । छोराछोरी पढेर जागिर खाने भइसके । सन्तुष्टि मिलेको छ ।’

राप्ती–२ बराखुटीकी विपत्ती चौधरीले सिलाइकटाइ गरेर जीवनयापन गरिरहेकी छन् । त्यसबाट उनले दैनिक ५ सयदेखि १ हजार रुपैयाँसम्म आम्दानी गर्छिन् । यही कमाइले उनले छोराछोरी पढाइरहेकी छन् । जग्गा किन्दाको ऋण तिरिन्, नयाँ घर बनाइन् । ‘पहिले कमैया बस्दा घरबास थिएन, आफ्नो भन्ने केही थिएन,’ उनले भनिन्, ‘अहिले आफ्नै घरबास भएको छ । छोराछोरी कमैया कम्लरी बस्नुपरेको छैन । पहिलेको कुरा सम्झँदा त यस्तो दिन पनि आउँदो रैछ र भन्ने लाग्छ ।’

२०५७ साउन २ गते सरकारले कमैया मुक्ति र ०७० असार १३ गते कम्लरी मुक्तिको घोषणा गरेको थियो । मुक्तिको घोषणालगत्तै कमैया कम्लरी प्रथा अन्त्य नभए पनि बिस्तारै चेतनाको विकाससँगै थारू समुदाय कमैया, कम्लरी प्रथाविरुद्ध उभिन सक्ने भएको हो । पश्चिम तराईमा जमिन्दारको जग्गा अधियाँ कमाउन पाएबापत या ऋण पाएबापत कमैया, कम्लरी बस्नुपर्ने चलन थियो । खाना, वर्षमा दुई जोडा कपडा र केही धान पाएका भरमा रातदिन जमिनदारका घरमा काम गर्नुपर्थ्यो । अहिले कमैया कम्लरीबाट मुक्त भएपछि धेरैले आफ्नै व्यवसाय गरेर, छोराछोरी पढाएर र आयआर्जनका विभिन्न उपाय गरेर जीवनमा ठूलो परिवर्तन गरेका छन् ।

सरकारले ०५७ सालमा लिएको तथ्यांकअनुसार पश्चिम तराईका पाँच जिल्लामा १८ हजार २ सय ८८ परिवार मुक्त कमैया छन्, जसअनुसार दाङमा १ हजार ५९, बाँकेमा १ हजार ३ सय ४२, बर्दियामा ६ हजार ९ सय ४९, कैलालीमा ५ हजार ९ सय २६ र कञ्चनपुरमा ३ हजार १२ परिवार मुक्त कमैया छन्, जसमा ९८ हजार ९ सय ८५ जना सदस्य छन् । मुक्त भएका अधिकांश कमैयाको जीवनमा परिवर्तन आएको र अहिले कमैया बस्ने अवस्था नरहेको मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिशचन्द्र चौधरीले बताए ।

‘अहिले थारू गाउँमा कोही पनि कमैया, कम्लरी खोज्न आउँदैन । पहिले माघीसँगै साना नानीहरूको रुवाबासी हुन्थ्यो । माघीकै बेलादेखि अरूका घरमा काम गर्न जानुपर्थ्यो,’ उनले भने, ‘पर्व मनाउनेभन्दा बढी कसका घरमा कमैया, कम्लरी जानुपर्ने हो भन्ने चिन्ता हुन्थ्यो । माघी दासताको पर्व थियो । अहिले त त्यस्तो त्रास केही पनि छैन ।’

कमैया मुक्तिले थारू समुदायमा नसोचेको परिवर्तन ल्याएको मुक्त कमैया समाजका केन्द्रीय सदस्य टेकबहादुर रावत बताउँछन् । ‘पहिले माघी आयो कि कमैया, कम्लरी जानेकै पिर हुन्थ्यो । पर्व मनाउने बेला खुसीभन्दा बढी चिन्ता हुन्थ्यो,’ उनले भने, ‘अहिले यो समस्याबाट पश्चिम तराई पूरै मुक्त छ । कोही पनि कमैया, कम्लरी पठाउन तयार छैन । बरु सबैले आआफ्नो घरबास बनाएर नयाँखालको जीवन सुरु गरेका छन् ।’

पहिले कतिपय कम्लरीले माघीमा समेत घर जान पाउँदैनथे । अहिले पश्चिम तराईमा १२ हजार ७ सय ६९ मुक्त कम्लरी रहेको र तीमध्ये १ हजार ३ सय ५९ जना विभिन्न तहमा अध्ययनरत रहेको मुक्त कम्लरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष शान्ति चौधरीले बताइन् । आमाबुबा तथा घरबास नभएका १ सय ६६ मुक्त कम्लरी दाङ, कैलाली र कञ्चनपुरमा रहेका छात्रावासमा बसेर पढिरहेका छन् ।

मुक्त कम्लरीले नै पश्चिम तराईका पाँच जिल्लामा ४३ वटा सहकारी खोलेका छन्, जसमा १२ हजार ९ सय ४९ सदस्य छन् । सहकारीबाट ऋण लिएर ३ हजार २५ मुक्त कम्लरीले विभिन्न व्यवसाय गरिरहेको मञ्चकी कोषाध्यक्ष विष्णु चौधरीले बताइन् । ‘व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् । घरपरिवारलाई आवश्यक पर्ने खर्चसमेत जुटाइरहेका छन्,’ उनले भनिन्, ‘यसले ऋण तिर्न नसकेर कम्लरी बस्नुपर्ने समस्याबाट मुक्त गरेको छ ।’

कतिपय कम्लरीले स्नातक, स्नातकोत्तर तहसम्म उत्तीर्ण गरिसकेका छन् । केही सामाजिक संघसंस्थाको नेतृत्व गरिरहेका छन् । कमैया, कम्लरी आन्दोलनमा लाग्दालाग्दै दाङकी शान्ता चौधरी र बर्दियाकी सुकदैया चौधरी सभासदसम्म भए । ‘अहिले पहिले जस्तो अवस्था छैन । कमैया, कम्लरीको जीवनमा ठूलो परिवर्तन आएको छ,’ शान्ताले भनिन्, ‘दासताबाट थारू समुदायले मुक्ति पाएको छ । कम्लरीहरूले पढ्न पाएका छन् । सरकारले यो समस्यालाई गम्भीर रूपमा लिन थालेको छ ।’

बाँसगढीकी गीता थारूलाई धुमधामले माघी मनाउने मन थियो । न्यानो लुगा लगाउने, तातो मीठो खाने र परिवारसँग बसेर नाचगान गर्ने । यत्तिमै उनको माघी भव्य हुन्छ । रहरअनुसारको खर्च पनि खासै होइन तर ५५ वर्षीया गीताका लागि चिसोका कारण सानो रहर ठूलो कहर बनेको छ । दिनभरि मजदुरी गरेर बेलुका हातमुख जोर्नुपर्ने उनको दिनचर्यामा अहिले शीतलहर छाएको छ । बिहानै ६ बजे शीतले लुछुप्प भिज्ने गरी कामको खोजीमा उनी घरि नेपालगन्जको रामलीला मैदान त घरि त्रिभुवन, बीपी चोक वरिपरि भौंतारिन्छिन् ।

चार दिनअघि जस्तै बुधबार पनि उनको हात रित्तै रह्यो । ‘काम पाए त माघी मनाउने हो,’ उनले निराश हुँदै भनिन्, ‘चिसाले कमाइ नै छैन, घर जान पनि मन लाग्दैन ।’ गीतासँगै उनकी नन्द प्रमिला थारू पनि मजदुरी गर्छिन् । उनीहरू रोजगारकै खोजीमा बाँसगढीदेखि आएर नेपालगन्जमा भाडामा बस्छन् । घरमा श्रीमान् छन् । ‘श्रीमान् घरबार हेर्छन्, म काम खोज्छु,’ प्रमिलाले भनिन् । तीन छोरीको पालनपोषण उनकै खर्चमा हुन्छ ।

कमाइ नभएपछि उनले यस वर्ष छोरीले फालेका पुराना लुगाले आङ ढाक्नुपरेको सुनाइन् । चिसामा दिनभरि बाहिर डुलेर मजदुरी गर्नुपर्ने कामको प्रकृति हेर्दा सबैभन्दा बढी स्याहार उनलाई चाहिने हो । यथार्थ भने बेग्लै छ । १० दिनअघि १५ सय कमाउँदा उनले छोरी र श्रीमान्लाई बाक्ला कपडा किनेर न्यानो बनाइन् । आफू भने पुरानैमा खुसी भइन् । ‘आगो तापेर चित्त बुझाउँछु,’ उनले भनिन् । रामलीला मैदानमा गीता, सीता र प्रमिलाजस्ता दुई सयभन्दा बढी मजदुर कामको खोजीमा बस्छन् । एकसरो फाटेका लुगाका भरमा प्लास्टिक सल्काएर आगो ताप्दै उनीहरूको दिनचर्या बित्छ । दिनदिनै शीतलहर चल्न थालेपछि यहाँका मजदुरका मनमा दुई किसिमको चिसो गड्दै छ ।

लुम्बिनी प्रदेशअन्तर्गत तराईका ६ जिल्लामा मनाइने माघी पर्व कोरोनाका कारण खल्लो बनेको छ । कोरोना संक्रमण त्रासले घरघरमै बसेर आफन्तबीच पर्व मनाइँदै छ । रूपन्देहीको तिलोत्तमा–१३ सेमरीका हरिनारायण चौधरीलाई पुसको अन्तिम दिन रमाइलो लागेको छैन । माघ १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गरेका उनले रौनक नभएको बताए । ‘विगत सम्झिने, बस्ने काम भएको छ,’ उनले भने, ‘कोरोनाका कारण माघीको उत्साह छैन ।’

थारू समुदायको बाहुल्य रहेको सेमरीका स्थानीयले हर्सोल्लाससाथ मनाइने माघीमा यस वर्ष खासै खुसी नआएको बताए । थारू समुदायको अस्तित्व जोगाउनकै लागि थारू होमस्टेसमेत सञ्चालन रहेको सेमरीमा एक सातादेखि पाहुनाको विशेष स्वागत र माघी विशेष कार्यक्रम चल्ने गर्थ्यो । माघीको अवसरमा विभिन्न परिकार चखाउने र थारू संस्कृति झल्किने नाचगान देखाइने गरेकामा कोरोना त्रासले रोकिनुपरेको भन्दै स्थानीयले नयाँ वर्ष आएजस्तै नलागेको सुनाए । आफूहरूले सबैभन्दा महत्त्व दिएर मनाउने गरेको माघी अथवा नयाँ वर्षमा दिदीबहिनीलाई अनिवार्य माइतीमा ल्याउने, नयाँ लुगा किनिदिने र मीठा परिकार खुवाउने गरेको सियारी–४ का श्रीराम थारूले सम्झिए । ६७ वर्षीय थारूले पहिलोपटक परिवार र छिमेकमा माघीको उल्लास नरहेको देखेको बताए ।

पश्चिम नवलपरासीमा माघीको एक दिनअगाडि मछवारीका दिन माछा मार्ने, साथीभाइबीच भेटघाट गर्ने गरिन्छ । थारू जातिको नयाँ वर्षका रूपमा मनाउने प्रचलन छ । माघी पर्वमा पहिले पहिले गाउँको मुखिया चुन्ने प्रचलन थियो । मुखिया चुनेपछि उसले चौकीदार र गाउँमा कसले के गर्ने भन्ने जिम्मेवारी दिने गर्थे तर अहिले त्यो परम्परा हटेको भए पनि माघीमा थारू समुदायले वर्ष दिनभरिको कामको समीक्षा, योजना र आर्थिक कारोबारको छिनोफानो गर्ने गर्छन् ।

अघिल्लो दिन मछवारीका दिन माछा मारेर माघेसंक्रान्तिका दिनमा दिदीबहिनी, आफन्त र गाउँका अगुवा बोलाएर गीत गाउँदै आफ्ना पिरमर्का पोख्ने र रमाइलो गर्ने प्रचलनअनुसार थारू बस्तीमा यसको रौनक बढेको सरावलका दिलीप चौधरीले बताए ।

-दुर्गालाल केसी (दाङ), मधु शाही (बाँके), सञ्जु पौडेल (तिलोत्तमा), नवीन पौडेल (परासी) र कमल पन्थी (बर्दिया)

प्रकाशित : माघ १, २०७७ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?