नेकपाको विवाद हेरिरहेका अधिकारीको सरुवा



काठमाडौँ — निर्वाचन आयोगमा नेकपाको विवादसम्बन्धी कागजात अध्ययन गरिरहेका तथा आयोगका पदाधिकारीसमक्ष आफ्नो राय प्रस्तुत गर्दै आएका कानुन तथा राजनीतिक दल महाशाखाका प्रमुख सहसचिव लक्ष्मीप्रसाद गौतमको हठात् सरुवा गरिएको छ ।

उनलाई बुधबार काज सरुवासम्बन्धी पत्र थमाइएको छ । कानुन मन्त्रालयको निर्णयबाट उनलाई कानुन आयोगमा सरुवा गरिएको हो ।
नेकपाको विवाद बढेपछि आयोगमा उनले प्रारम्भदेखि नै दुवै पक्षबाट आएका कागजातको अध्ययन गरिरहेका थिए । उनको ठाउँमा गृह मन्त्रालयमा रहेका कानुनका सहसचिव पुष्कर सापकोटालाई पठाइएको छ । बुधबार आयोग पुगेका दाहाल–नेपाल पक्षका नेताहरूले हठात् रूपमा कानुन महाशाखा प्रमुखको सरुवा गरिएको प्रति आयोगका पदाधिकारीसमक्ष असन्तुष्टि पोखेका थिए । उनीहरूले यसले आयोगको कामकारबाहीलाई लिएर शंका उत्पन्न गराएको उल्लेख गरेका थिए ।
आयोग स्रोतका अनुसार सहसचिव गौतम ऐन र नियमले तोकेको भन्दा बाहिर गएर काम गर्न नसक्ने अडान राख्न सक्ने क्षमताका अधिकारी मानिन्छन् ।
प्रकाशित : माघ १, २०७७ ०८:१७