२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

कसको कोभिड प्रतिरोधी क्षमता कति ?

अब राष्ट्रिय प्रयोगशालामा परीक्षण गराएर थाहा पाउन सकिने
विगतमा संक्रमण भएको या शरीरमा कति मात्रामा यसविरूद्ध प्रतिरोधक क्षमता विकास भएको छ भन्ने रिपोर्टले देखाउनेछ
अतुल मिश्र

काठमाडौँ — राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) टेकुमा सशुल्क ‘टोटल एन्टिबडी परीक्षण’ सुरु गरिएको छ । कोभिड–१९ संक्रमित भएको आफूलाई थाहा नभए पनि विगतमा संक्रमण भएको या शरीरमा कति मात्रामा कोभिड–१९ प्रतिरोधक क्षमता (एन्टिबडी) विकास भएको छ, यो परीक्षणबाट थाहा पाउन सकिन्छ ।

कसको कोभिड प्रतिरोधी क्षमता कति ?

एनपीएचएलमा पछिल्लो दुई दिनमा ७ जनाले यो परीक्षण गराएका छन् । जसमध्ये ५ जनाको शरीरमा कोभिड–१९ प्रतिरोधात्मक क्षमता राम्रो देखिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए । ‘मंगलबार ३ वटा नमुना परीक्षण गर्दा सबैमा कट अफ इन्डेक्स १ भन्दा बढी देखियो । आज (बुधबार) ४ वटा नमुना परीक्षण गर्दा २ वटामा कट अफ इन्डेक्स १ भन्दा बढी थियो,’ गुप्ताले भने, ‘जसबाट उनीहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधक क्षमता राम्रैसँग विकास भइसकेको पुष्टि हुन्छ ।’ टोटल एन्टिबडी परीक्षण शुल्क १ हजार रुपैयाँ तोकिएको छ ।

पोस्ट–कोभिड दुष्प्रभावको पहिचानका लागि व्यक्तिविशेषको कोभिड–१९ इतिहासबारे जान्नु आवश्यक रहेको औंल्याउँदै एनपीएचलकी निर्देशक डा. रुना झाले भनिन्, ‘हाल बच्चामा देखिने मल्टिसिस्टम इन्फ्लामेट्री सिन्ड्रोम (एमआईएस–सी) लगायतकाबारे जान्न यो परीक्षण प्रभावकारी देखिएको छ ।’ उनका अनुसार कोभिड संक्रमण पुष्टि भएका वा निको भइसकेका बालबालिकालाई एमआईएस–सी देखिए उनीहरूको ज्यान जोखिममा रहेको बुझ्नुपर्छ ।

देशभर धेरैले कोरोना परीक्षण गराएका छैनन् । जसमध्ये अधिकांशलाई आफू कतिबेला कोभिड–१९ संक्रमित भएर निकोसमेत भइसकेको थाहा छैन । ती व्यक्तिमा स्वास्थ्य समस्या देखिए कोभिड इतिहासको जानकारी अभावमा चिकित्सकले सही उपचार विधि अपनाउन सक्दैनन् । पछिल्लो समय केही चिकित्सकले ‘लाइन अफ ट्रिटमेन्ट’ निश्चित गर्नसमेत कोभिड–१९ को टोटल एन्टिबडी परीक्षण प्रस्ताव गरिरहेका त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समिति संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले बताए । ‘पोस्ट–कोभिडको जस्तो लक्षण देखिएका बिरामी उपचारका लागि आएमा ती व्यक्ति संक्रमित भएर नै यस्तो समस्या देखिएको हो–होइन निर्क्योल गर्नसमेत यो परीक्षण आवश्यक देखिएको छ,’ उनले भने ।

यो परीक्षणबाट शरीरमा एन्टिबडी ‘टाइटर’ राम्रो देखिए ती व्यक्तिमा कोभिड–१९ विरुद्ध लड्ने प्रतिरोधक क्षमता अन्य सामान्य व्यक्तिको दाँजोमा बढी हुन्छ भन्ने पुष्टि हुन्छ । तर यो क्षमता कहिलेसम्म रहन्छ भन्ने जान्नलाई ‘सिरियल एन्टिबडी टेस्ट’ गर्नुपर्ने बताउँछन् डा. दास । ‘अहिलेसम्मको अध्ययनमा यो एन्टिबडी मानिसको शरीरमा ३ महिनासम्म रहेको देखिएको छ भने कसै–कसैमा लामो समयसम्म पनि रहेको देखिन्छ । यसैले कुन व्यक्तिको शरीरमा कहिलेसम्म कोभिड–१९ विरुद्घको एन्टिबडी रहिरहन्छ भन्ने जान्नलाई सिरियल टेस्ट आवश्यक हुन्छ ।’ सिरियल टेस्ट भनेको निश्चित समयको अन्तरालमा नियमित रूपले एन्टिबडीको परीक्षण गराउनु हो ।

सिरियल टेस्ट प्लाज्मा थेरापीमा समेत उपयोगी देखिएको छ । प्रतिरोधी क्षमता धेरै भएकाहरूले दान दिएको प्लाज्मा कोभिड–१९ संक्रमितहरूका लागि बढी प्रभावकारी देखिएको उनले बताए । यसअघि रोग पहिचानका लागि नभएर सिरो सर्भिलेन्स र अध्ययनका लागि मात्र यो परीक्षण गरिन्थ्यो ।

प्रकाशित : माघ १, २०७७ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?