कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

ओलीलाई दाहालको चुनौती– 'पार्टीले कहाँ काम गर्न दिएन, प्रमाण ल्याउनुस्'

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । पार्टीले सरकारलाई काम गर्न नदिएपछि संसद् विघटन गरेको भन्ने प्रधानमन्त्रीको दाबीलाई खण्डन गर्दै दाहालले काम गर्न नदिएको प्रमाण दिन चुनौती दिएका हुन् । 

ओलीलाई दाहालको चुनौती– 'पार्टीले कहाँ काम गर्न दिएन, प्रमाण ल्याउनुस्'

काठमाडौंमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘पार्टीले मलाई काम गर्न नदिएको हुँदा संसद् विघटन गरेँ भन्ने दाबी गर्दै आउनु भएको छ । पार्टीले कहाँ घेराबन्दी गर्‍यो ? पार्टीले कुन काममा बाधा हाल्यो । एउटा प्रमाण दिनुस्, चुनौती दिन चाहन्छु केपी ओलीलाई ।’

दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान धरापमा भएको भन्दै त्यसको रक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको बताए । ‘हामी यहाँ प्रहसन देखाउन जुटेका छैनौं । हामी उखान टुक्का गरेर हसाउँ कमेडी सो गर्न उपस्थित भएका छैनौं । मानिसहरुलाई दिग्भ्रमित गर्न र उद्धेलित, उत्तेजित पार्न उपस्थित भएका छैनौं । राष्ट्र र जनताको अगाडि देखापरेको संकटलाई समाधान गर्न उपस्थित भएका छौं,’ दाहालले भने ।

निर्वाचन आयोग र सर्वोच्च अदालतसँग आफूहरु भरोसा कायम रहेको पनि दाहालले बताए । उनले केपी ओलीले संविधान मिचेजस्तै अन्य संवैधानिक निकायले पनि त्यही गर्न थाले जनताले हेरेर नबस्ने बताए । ‘निर्वाचन आयोगको तर्फबाट विधिसम्मत हुन्छ, ढुक्क हुनुस् भन्नु भएको छ । पार्टीको नाम र सूर्य चिन्ह हाम्रै हुन्छ । यदि त्यस्तो भएन भने यहाँ आँधीहुरी आउँछ,’ दाहालले दाबी गरे, ‘केपी ओलीले संविधान मिचेजस्तै अरु संवैधानिक निकायले पनि त्यही गर्न थाले भने जनता हेरेर बस्न सक्छन् ? हेरेर बस्न सक्दैनन् । आँधीहुरी, बतास आउँछ । मैले निर्वाचन आयोग र सर्वोच्च अदालतप्रति अझै पनि भरोसा छ ।’

दाहालले केपी ओलीको नौटंकी र जोकरपनको पछाडी कोही नलाग्ने पनि दाबी गरे । ओलीले आफूहरुलाई भगौडा भनेको भन्दै दाहालले पार्टी बैठक, विधि विधान मिचेर हिँड्ने ओली नै भगौडा भएको बताए । ओलीले केही दिनअघि धनगढीमा आयोजित आफूनिकट कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहाल र नेपाल समूहलाई भगौडाको संज्ञा दिएका थिए ।

‘बडो अनौठो लाग्छ कहिलेकाहीं । उहाँले एक ठाउँ बोल्दा हामीलाई भगौडा भन्नु भएछ । सुन्न पनि कान के थुन्नु पर्ने, आँखा देखिन्छ के आँखा छोप्नु, लाजैमर्दो । ७२ प्रतिशत केन्द्रीय समितिको सदस्य भगौडा रे ! ३० प्रतिशत पनि भएको रैथाने । यस्तो पनि हुन्छ ?’ दाहालले प्रश्न गरे, ‘केपी ओलीको दिमागमा बाहेक यस्तो अन्त हुन्न । जहिले पनि बैठकबाट भाग्ने उहाँ । पछिल्लो बैठक हामी जो बस्यौं त्यो केपी ओली समेतको सहमतिसहितको बैठक हो । त्यो बैठक छोडेर, विधान मिचेर, तानाशाही रुपमा पार्टीलाई लात हानेर हिँड्ने भगौडा नहुने, लाजघिन भन्ने मानिसमा हुनुपर्छ ।’

प्रकाशित : पुस २९, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?