न्यायाधीशहरू भन्छन्- '११ जना न्यायाधीशको बृहत् इजलासले बनाएको नजिर ५ जनाले काट्दा न्याय व्यवस्थाले हामीलाई के भन्ला ?'- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्यायाधीशहरू भन्छन्- '११ जना न्यायाधीशको बृहत् इजलासले बनाएको नजिर ५ जनाले काट्दा न्याय व्यवस्थाले हामीलाई के भन्ला ?'

जयसिंह महरा

काठमाडौँ — संसद्‌ विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको कुन इजलासमा पठाउने भन्ने बहस जारी छ । सर्वोच्चको संवैधानिक इजलासमा क्षेत्राधिकारबारे बहस भइरहेको हो ।

रिट निवेदकहरू नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित १२ जनाले संसद्‌ विघटनविरुद्धका मुद्दाहरू बृहत् पूर्ण इजलासमा बहस भई टुंगो लगाउनुपर्ने लिखित माग गरेका छन् । विपक्षीहरू राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको पक्षबाट बहसमा सहभागी महान्यायाधीवक्ता अग्नि खरेलले भने संवैधानिक इजलासबाट नै मुद्दाको टुंगो लगाउनुपर्ने तर्क गरेका छन् ।

संवैधानिक इजलासमा बुधबार बहसका क्रममा खरेलले ५ जनाको संवैधानिक इजलासले नै संसद्‌ विघटनविरुद्धका रिट निवेदनको टुंगो लगाउनुपर्ने बताएपछि इजलासमा रहेका न्यायाधीशहरूले भने विगतमा बृहत् पूर्ण इजलासबाट संसद्‌ विघटनका मुद्दा टुंगो लागेकोबारे विपक्षीको धारणा के छ ? भनेर प्रश्न गरेका छन् ।

विगतमा गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, सूर्यबहादुर थापा र शेरबहादुर देउवाले संसद्‌ विघटन गरेको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्दा त्यतिखेर बृहत् पूर्ण इजलासले टुंगो लगाएका थिए । संसद्‌ विघटनका मुद्दामा सर्वोच्चका विगतका इजलासमा ११ जना न्यायाधीश रहेका थिए ।

यिनै आधारलाई उल्लेख गर्दै संवैधानिक इजलासमा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले भने, 'एकपटक ११ जनाको इजलासले कुनै कुराको व्याख्या गरेको छ भने त्योभन्दा कम न्यायाधीश भएको इजलासले त्यसबाट भएको व्याख्यालाई ओभररूल गर्न मिल्छ ?'

निवेदकका कानुन व्यवसायीहरूले बृहत् पूर्ण इजलासले मागिरहेको बेला अहिलेको संवैधानिक इजलासले गर्दा भविष्यमा न्याय प्रणालीमा कस्तो प्रभाव पर्ला भनेर न्यायाधीश श्रेष्ठले महान्यायाधीवक्ता खरेललाई सोधे, 'बृहत् इजलासले नजिर स्थापना गरिसकेको अवस्थामा हामीले त्योभन्दा सानो इजलासबाट ओभररुल (स्थापित नजिर काट्दा) गर्दा भोलिको न्याय व्यवस्थाले के भन्ला हामीलाई ?'

न्यायाधीश श्रेष्ठले संवैधानिक इजलासबाट संसद्‌ विघटनको मुद्दा टुंगो लगाउँदा त्यसको औचित्यमाथि प्रश्न उठ्छ कि उठ्दैन भनेर पनि खरेललाई प्रश्न गरेका थिए ।

संवैधानिक इजलासमा रहेका न्यायाधीश अनिलकुमार सिन्हाले पनि विगतमा ११ जना न्यायाधीशको इजलासले स्थापित गरेका नजिर ५ जनाको इजलासले गर्दा अमान्य हुन्छ कि हुँदैन भनेर महान्यायाधीवक्ता खरेलसामू जिज्ञासा राखेका थिए । विगतमा गरिएको कुरालाई उपेक्षा गरिएको भन्ने प्रश्न उठ्नसक्ने धारणा राखे ।

त्यस्तै, संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पनि ११ जनाको इजलासले विगतमा भएका संसद्‌ विघटनका मुद्दा छिनोफानो रहेको परम्परा महान्यायाधीवक्ता खरेललाई स्मरण गराएका थिए ।

महान्यायाधीवक्ता खरेलले भने विगतको संविधानमा संवैधानिक इजलासको व्यवस्था नभएकाले ११ जनाको इजलास गठन गर्ने गरिएको जवाफ दिँदै संवैधानिक इजलासले नै अहिलेको संसद्‌ विघटनविरुद्ध परेका मुद्दाहरूको टुंगो लगाउनु नै संविधानको व्यवस्था अनुसार हुने बताए ।

प्रकाशित : पुस २९, २०७७ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्

केपी ओलीले विदेशी शक्तिको मन्त्र सुनेर संसद् विघटन गर्नु भयो : दाहाल

'जी न्यूजको अन्तर्वाता नाटकै हो'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्ति केन्द्रले सुनाएको मन्त्र सुनेर संसद् विघटन गरेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित दाहाल-नेपाल पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री ओलीले विदेशी शक्ति केन्द्रको मन्त्र सुनेर संसद् विघटन र पार्टी विभाजन गरेको दाबी गरेका हुन् ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले भारतीय न्यूज च्यानललाई दिएको अन्तर्वार्ता पनि नाटक भएको बताएका छन् । 'उहाँलाई लोकतन्त्र, राष्ट्रप्रति अलिकति पनि जिम्मेवारीबोध भएको भए, अहिले त देखिएको छ, विदेशी शक्ति केन्द्र आएर के के मन्त्र सुनाए, उहाँले त्यो मन्त्र सुन्नु भयो,' दाहालले भने,' अस्ति भर्खर हेर्नु भयो जी न्यूजको अन्तर्वार्ता । उहाँले त्यो बोलाएको, त्यो पनि नाटकै हो । नाटक हो भन्ने कुराको पट्टाक्षेप भइसक्यो । जी न्यूजले नाम फेर्न रे त्यही जी न्यूजले ।’

अध्यक्ष दाहालले असारको स्थायी कमिटी बैठकमा आफूलाई भारतले हटाउन खोजेको भन्ने अभिव्यक्ति दिएपछि त्यही बेला नहटाएको बताए । उनले भने, 'असारको स्थायी कमिटी बैठकमा उहाँले भारतले मलाई प्रधानन्त्रीबाट हटाउन खोज्यो, मेरो साथीहरुले हटाउन खोजेका छन् भन्नु हुन्थ्यो । हामीले हटाएनौं त्यतिबेला । भारतले भनेर हटाउने हो र भनेर हटाएनौं । उहाँले अहिले पार्टी विभाजन, संसद् विघटन भारतले भनेर हो । सारा जनताले देखे बुझे । तपाई के भन्नु हुन्छ केपीजी ?'

प्रकाशित : पुस २९, २०७७ १५:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×