३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

माइनस तापक्रममा मनाङमा डढेलो

आश गुरुङ

लमजुङ — हिमाली जिल्ला मनाङमा अहिले तापक्रम सामान्यतया शून्य वा त्यो भन्दा तल छ । पुस लागेयता त हरेक रातको तापक्रम माइनसमा रेकर्ड भएको छ । माइनस तापक्रममै यहाँ आगलागी पनि भइरहेको छ । आगलागीले हालसम्म करिब ७ सय हेक्टर वन क्षेत्र सखाप भएको प्रारम्भिक अनुमान छ ।

माइनस तापक्रममा मनाङमा डढेलो

नासों गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङका अनुसार थान्चोक र कोतोको पारिपट्टि रहेको कोटेबाट आगलागी सुरु भएको हो । आगो अहिले रैंदु जंगलमा फैलिएको छ । ‘सुकेको पातपतिंगर र सालको काठमा आगो सल्किएको छ, निभाउन सकिएको छैन,’ उनले भने, ‘आगोलाई गाउँतिर आउन नदिन अनेक उपाय लगाएका छौं । जंगल भने सखापै बनायो ।’

मंसिर ११ देखि आगलागी भइरहेको छ । आगलागी भइरहेको ठाउँ हिउँ पर्ने र जम्ने ठाउँ हो । तर यस वर्ष हिउँ खासै परेको छैन । एक साताअघि भ्राताङदेखि माथिल्लो क्षेत्रमा मात्रै हिमपात भएको थियो । आगलागी भइरहेको ठाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्र पर्छ । एक्यापको धारापानी चेकपोस्टका पर्यटन सहायक क्षेत्र गुरुङका अनुसार आगलागी डरलाग्दो गरी फैलिएको छ । मर्स्याङ्दीको किनारदेखि पहाडको टुप्पोसम्म जंगल सखाप बनाएको छ ।

आगलागी फैलिएर ३ हजार ५ सय मिटर उचाइसम्म पुगेको छ । तर आगलागी भएको सबै ठाउँमा पुग्न भने नसकिएको बताउँछन् एक्याप लमजुङका प्रमुख लेखनाथ गौतम । ‘मनाङमा तापक्रम रातको समयमा माइनस छ । हामी बस्ने ३ हजार ५ सय मिटर उचाइमा रातमा माइनस १३/१४ डिग्री सेल्सियससम्म झर्छ,’ उनले भने, ‘सुकेको रूखमा सल्किएको आगो रातभरि रहने र भोलिपल्ट हावा चलेपछि फेरि सुरु हुँदो रहेछ ।’

उनका अनुसार हिउँ नपरेकाले जमिन सुक्खा छ । पातपतिंगर सुकेर झरेका छन् । शीत पनि नपर्दा मुढा/ठुटामा सल्किएको आगो माइनस डिग्रीमा पनि निभ्न नसकेको उनले बताए । ‘मंसिर ११ बाट सुरु भएकामा पुस १३ मा आगलागीले उग्ररूप लियो,’ उनले भने, ‘कम्तीमा २ सयदेखि ३ सयवटा झारल, घोरलको बासस्थानलाई असर पुर्‍याएको देखिन्छ । बहुमूल्य जडीबुटी पनि सखाप बनाएको अनुमान गर्न सकिन्छ ।’ आगलागीबाट मानवीय क्षति भने नभएको उनले बताए ।

उक्त क्षेत्रमा घोरल, झारल, कस्तुरी, मृग, थार, हिमचितुवाजस्ता जनावर पाइने एक्यापले जनाएको छ । यार्चागुम्बु, पाँचऔंले, नीरमसी, कुटकी, पदमचाल, पाँचऔंले, वनलसुनलगायत जडीबुटीसमेत पाइन्छ । ‘कति वन्यजन्तु, वनपैदावार र जडीबुटीमा क्षति पुग्यो भन्ने त अनुमान मात्रै गर्न सक्छौं, यकिन गर्न सकिएको छैन,’ एक्याप प्रमुख गौतमले भने । उनले आगो सल्काउनेको खोजी भइरहेको बताए । ‘घाँस र च्याउ राम्रो आउँछ भनेर आगो लगाएको हुन सक्छ । सिकार गर्न पनि आगो लगाएको हुन सक्छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर आगो निभाउने प्रयास गरिरहेको बताए । ‘हामी मुख्य बाटोबाट दुई–अढाई घण्टा हिँडेर आगलागी भएको ठाउँसम्म पुग्यौं । आगो नियन्त्रणमा लियौं । तर अर्को ठाउँमा आगो फैलिरहेको छ,’ उनले भने । उनले आगो अझै नियन्त्रण बाहिर रहेको बताए ।

आगलागी नियन्त्रणमा लिन ५ सय मिटर लामो र ३ मिटर चौडाइको अग्निरेखा बनाइएको छ । ‘आगोलाई मानव बस्तीमा आउन नदिन अग्निरेखा बनाएका छौं । टेलिफोनको टावरलाई सुरक्षित राखिएको छ । जंगली जनावर, काठदाउरा र जडीबुटी नाश भए । सायद बस्तीमा आउँदैन होला,’ उनको आकलन छ ।

उनले ठाडो भीरमा जान नसकिएको र त्यही ठाउँमा आगो फैलिरहेको बताए । आगो निभाउन ताचै गाउँका करिब ५५ घरधुरीका स्थानीय दैनिक खटिएका छन् । सेना, प्रहरी, एक्यापका कर्मचारी गरी दैनिक १ सयदेखि डेढ सय जना खटिरहेको प्रजिअ लामिछानेले बताए । आगो निभाउन बेल्चा, गैंची, आगो निभाउने साधन, स्याउलालगायत प्रयोग गरिएको छ ।

प्रकाशित : पुस २९, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?