दाहाल-नेपालको नजर गण्डकीमा

जुन ठाउँमा आफ्नो पक्ष अलिक कमजोर छ, त्यहाँ पार्टी अध्यक्षहरु पुग्ने दुवै समूहको ‘रणनीति’ 
‘पार्टीको आधिकारिकता र सर्वोच्च अदालतले गर्ने फैसलाले दुवै पक्षको स्थिति फेरबदल हुन सक्छ’
लालप्रसाद शर्मा

पोखरा — प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाका दुवै समूह मुलुकभर आन्दोलन, सभा र प्रशिक्षण गर्दै हिँडिरहेका छन् । यसका लागि दुवै समूहले प्रदेश इन्चार्जहरू तोकेका छन् । जुन ठाउँमा आफ्नो पक्ष अलिक कमजोर छ, त्यहाँ पार्टी अध्यक्षहरू पुग्ने भित्री रणनीति दुवै पक्षको छ ।

दाहाल-नेपालको नजर गण्डकीमा

त्यही रणनीतिअन्तर्गत मंगलबार दाहाल–नेपाल समूहका अध्यक्षहरू पुष्पकमल दाहाल र माधव नेपाल गण्डकी प्रदेशको भेलामा सहभागी हुन पोखरा पुगे । पार्टी विभाजनपछि दाहाल र नेपाल सँगै राजधानी बाहिर गएर संयुक्त सम्बोधन गरेको यो पहिलो पटक हो । गत साता ओली समूहको प्रदेशस्तरीय आमसभामा सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका थिए । बालुवाटारबाट सिंहदरबारस्थित कार्यालयसमेत नजाने प्रधानमन्त्री ओली सम्बोधनका लागि सुदूरपश्चिम पुग्नुको कारण पनि त्यहाँको पार्टीगत गणितमा आफ्नो पक्ष केही कमजोर देखिनु हो ।

सुदूरपश्चिममा जसरी दाहाल–नेपाल समूह अत्यधिक बलियो छ, त्यसको ठीक उल्टो अवस्था गण्डकी प्रदेशमा छ । त्यसैले दाहाल–नेपालको काठमाडौं बाहिरको प्रशिक्षणको पहिलो नजर गण्डकी प्रदेश परेको हो । गण्डकीमा राष्ट्रियसभा र विघटित प्रतिनिधिसभाका नेकपा सांसद ३० जना रहेकामा १८ जना ओली समूहमा छन् । नेकपाका ४० प्रदेश सांसदमध्ये मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङसहित २७ जना ओलीतिर छन् । १२ सांसद दाहाल–नेपाल समूहका छन् । सभामुख भएकाले कतै खुल्न नमिलेका नेत्रनाथ अधिकारी पूर्वमाओवादी हुन् ।

तत्कालीन एमालेबाट गण्डकीमा २८ प्रदेश सांसद थिए । तीमध्ये २७ जना ओली पक्षमा छन् । बागलुङका इन्द्रलाल सापकोटा मात्र दाहाल–नेपाल पक्षमा उभिएका हुन् । उनी पार्टीको जिल्ला अध्यक्ष पनि हुन् । सभामुखबाहेक पूर्वमाओवादीका ११ जना दाहाल–नेपाल समूहमै छन् । ६० सदस्यीय प्रदेशसभामा २७ जना ओली पक्षकै छन् । तीन सांसद रहेको राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा विघटनको विरोध गरे पनि प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको छैन । मुख्यमन्त्री गुरुङ उनीहरूलाई मिलाउने दौडधुपमा छन् ।

गण्डकीमा पूर्वमाओवादी समूहका नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, हितराज पाण्डे, पूर्वएमाले तुलबहादुर गुरुङ, श्रीमाया थकालीबाहेकका प्रभावशाली नेता सबै ओली समूहमा छन् । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना अहिले पार्टीमा नभए पनि ओली समूहका प्रभावशालीमा गनिन्छन् । उनको पनि गण्डकीमा केही प्रभाव छ । ११ जिल्लामध्ये गोरखा र बागलुङमा दाहाल–नेपाल समूहको अलि पकड छ । गोरखामा नेकपाका गण्डकी अध्यक्ष हितराज पाण्डे, पूर्वएमाले नेता विश्वेश्वर कट्टेल र यादव बस्नेत दाहाल–नेपाल समूहमा छन् । प्रदेशमन्त्री रामशरण बस्नेत ओली समूहमा र अर्का मन्त्री लेखबहादुर थापामगर दाहाल–नेपाल समूहमा छन् ।

ओली समूहको गण्डकी इन्चार्जसमेत रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको जिल्ला लमजुङमा उनीपक्षीयकै पकड छ । जमिन्द्रमान घले, भीष्म अधिकारीलगायत नेता ओली समूहमै देखिएका छन् । दाहाल–नेपाल समूहका प्रभावशाली नेता देव गुरुङ यहींबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तनहुँका प्रदेशमन्त्री किरण गुरुङ तथा संघीय सांसदहरू ओली समूहमा छन् । पर्वतमा प्रदेशमन्त्री विकास लम्साल र संघीय सांसद पदम गिरी ओली समूहमा छन् । बागलुङका देवेन्द्र पौडेल दाहाल–नेपाल समूहको गण्डकी इन्चार्ज भएका छन् ।

विगतदेखिकै साविक नेकपा एमालेको मजबुत संगठन, प्रभावशाली नेता ओली समूहमै रहनु, तत्कालीन नेकपा माले समर्थक केही नेता–कार्यकर्ता ओली समूहमा क्रियाशील रहनु जस्ता कारणले पनि गण्डकीमा ओली समूह बलियो देखिन्छ । ‘सरकारले गर्न खोजेका काम, काम गर्न नदिइएको अवस्था र राष्ट्रिय घटनाक्रमलाई बुझ्ने कार्यकर्ता बढी भएर पनि हाम्रो समूह बलियो छ,’ ओली समूहका गण्डकी प्रदेश कमिटी सचिव गोविन्द नेपालीले भने, ‘केपी ओलीलाई नेता मान्ने समूह यहाँ हिजैदेखि बलियो थियो ।

त्यहीमाथि राजनीतिक स्थायित्व हुन नदिने खेलमा लागेर दाहाल–नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध छापामार शैलीमा अविश्वास प्रस्ताव ल्याएको पनि प्रदेशका नेता–कार्यकर्ताले रुचाएनन् ।’ स्थानीय तहका अधिकांश जनप्रतिनिधि ओली समूहमा रहेकाले आफ्नो संगठन मजबुत भएको नेपालीको भनाइ छ ।

दाहाल–नेपाल समूहका नेता–कार्यकर्ता भने गण्डकीमा आफूहरू कमजोर नरहेको दाबी गर्छन् । उक्त समूहका उद्योग, व्यवसाय विभागका केन्द्रीय सदस्य धनराज आचार्य पूर्वमाओवादीका ९९ प्रतिशत र एमालेका ४० प्रतिशतभन्दा बढी नेता–कार्यकर्ता आफ्नो समूहमा रहेको दाबी गर्छन् । ‘२ सय १६ प्रदेश कमिटी सदस्यमध्ये १ सय १० जना दाहाल–नेपाल समूहमा छन्,’ उनले भने, ‘हिजो एमाले बनाउने पुराना र इमानदार सबै यतै छन् । कसरी कमजोर हुन्छ ?’ स्थानीय तह, प्रदेश र संघमा एक पक्ष (ओलीपक्ष) का लाई मात्रै उम्मेदवार बनाइएकाले अहिले जनप्रतिनिधिहरू उतै जस्तो देखिएको उनले बताए । ‘अर्को पक्षलाई टिकटै नदिएपछि कसरी जनप्रतिनिधि हुन्छन् त ?’ उनले भने 

राजनीतिशास्त्रका उपप्राध्यापक कपिलमणि दाहालले सरसर्ती हेर्दा गण्डकीमा ओली पक्षमा नेता–कार्यकर्ता दुई तिहाइ रहेजस्तो देखिएको बताउँछन् । ‘तर पार्टीको आधिकारिकता र भोलि सर्वोच्च अदालतले गर्ने फैसलाले यसमा फेरबदल हुन सक्छ, अहिले सत्ताकै कारण ओलीपक्ष बलियो देखिएको हो,’ उनले भने, ‘पूर्वएमालेका प्रभावशाली नेता ओलीमै रहेकाले त्यस समूहका लागि केही अनुकूल देखिन्छ ।’

प्रकाशित : पुस २९, २०७७ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?