कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चिसोमा जीउ जोगाउनै गाह्रो

दिनहुँ बाक्लो कुहिरो र शीत, दुई सय भरिया कामविहीन, गाडीको चाप र बजारमा भीड घट्यो
प्रदेश ब्युरो

भैरहवा — रूपन्देहीको बुटवल–१७ की तुलसा चौधरी हरेक बिहान सहरका गल्ली डुलेर तरकारी बिक्री गर्छिन् । बारीबाट साग, सिमी, मुला र टमाटर टिपेर बजारमा ल्याउँछिन् । तर चार दिनदेखि चलेको शीतलहरले तरकारी बिक्री हुन पाएको छैन । ‘जाडोमा हिँड्न सक्दिनँ,’ उनले भनिन्, ‘तरकारी पनि शीत परेर बिग्रिन थाल्यो ।’ उमेर पाको भएकाले जाडोमा घरबाहिर निस्केर काम गर्न समस्या हुने उनको भनाइ छ ।

चिसोमा जीउ जोगाउनै गाह्रो

शारदा थारूलाई पनि चिसोले पिरोल्न थालेको छ । ‘शीत नपर्ने बेला बिहान घरघरै डुलेर तरकारी बेचिन्थ्यो,’ उनले भनिन्, ‘शीतमा हिँड्यो भने टाउको दुख्छ । बिहानको सिरेटोले शरीर र हातखुट्टा काँप्छ ।’ बिहान ६ बजेदेखि गल्लीगल्लीमा ‘तरकारी आयो’ भन्दै चिच्याएर बिक्री गर्ने उनीहरू अहिले चिसोले अत्तालिएका हुन् । चार दिनयता जिल्लामा घाम लागेको छैन । बाक्लो कुहिरो र शीत पर्ने गरेको छ । सडकमा गाडीको चाप देखिन्न । बजारमा किनमेल गर्ने कम छन् । व्यापारीले पसलबाहिर आगो बालेर तापेको देखिन्छ । सरकारी कार्यालयमा सेवाग्राही छैनन् । जरुरी कामले मात्र सर्वसाधारण घरबाहिर निस्कने गरेका छन् ।

बाँके कोहलपुर–१२ का सुशान्त कार्कीले आइतबार र सोमबार घरमै बसेर बिताए । बैंकसम्बन्धी व्यक्तिगत काम थाती राखेर बस्न बाध्य भएको उनले सुनाए । लगातार शीतलहर परेपछि उनले बाहिरिने आँट गरेनन् । ‘चिसोले सामान्य हिँडडुल गर्न पनि सकिएको छैन,’ उनले भने, ‘आगो ताप्दै बस्ने दिन आए ।’

अहिले लुम्बिनी प्रदेशका तराईका जिल्लामा शीतलहर चलेपछि जनजीवन प्रभावित भएको छ । बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई चिसोबाट जोगाउन समस्या भएको छ । कोहलपुर–२ की धर्मिकला चौधरीले चिसोकै कारण दमरोगी ससुराको विशेष ख्याल गर्नुपर्ने बताइन् । ‘तीन दिनदेखि शीतलहर चलेको छ,’ उनले भनिन्, ‘अलिकता ख्याल गरिएन भने सास फेर्नै गाह्रो हुन्छ ।’ चिसोले बाँकेमा व्यापार प्रभावित भएको छ । सधैं व्यस्त रहने नेपालगन्ज सहर केही दिनयता फुर्सदमा भएजस्तो देखिन्छ । दैनिक ज्यालादारी गरेर पेट पाल्नुपर्ने मजदुर दिनभरि आगो तापेर बस्न बाध्य छन् । ‘चिसोमा न न्याना लुगा छन्, न तातो खान पाइन्छ,’ नेपालगन्जको बीपी चोकमा भारी बोक्ने काम गर्दै आएका जोगेन्द्र खत्रीले भने । शीतलहरले यहाँका दुई सयभन्दा बढी मजदुर कामविहीन भएका छन् ।

बर्दियामा अत्यधिक चिसो बढेपछि जनजीवन थप कष्टकर बनेको छ । बिहानदेखि शीतलहरसँगै चिसो हावा चल्ने गरेको छ । जिल्लामा सोमबार यस वर्षकै चिसो महसुस भएको छ । जिल्ला प्रशासन कार्यालयले बर्दिया अस्पताल गुलरियामा ज्येष्ठ नागरिक र सुत्केरी महिलाका लागि ५० थान न्याना कम्बल वितरण गरेको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जनाए । विपत् व्यवस्थापनका लागि आठवटा पालिकामा १० लाख रुपैयाँ प्रशासनले निकासा गरेको छ । उक्त रकमबाट सडकका चोकचोकमा दाउरा बाल्न र अति विपन्न परिवारलाई न्याना कपडा वितरण गरिने स्थानीय प्रशासनले जनाएको छ । चिसोले विद्यालयमा समेत विद्यार्थी आउन कम भएको गुलरिया नगरपालिकास्थित शिक्षा शाखा अधिकृत सतिश यादवले बताए  ।

चिसोले वृद्धवृद्धा र बालबालिका बढी जोखिममा पर्ने भएकाले रूपन्देहीको कोटहीमाई गाउँपालिकाले कम्बल र दाउरा वितरण थालेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले बताए । ‘तराईमा हुने चिसोले स्थानीयलाई असर नपारोस् भन्ने हेतुले ज्येष्ठ नागरिक र विपन्न परिवारलाई सहयोग गरिरहेका छौं,’ उनले भने, ‘यसका लागि गाउँपालिकाले ५ लाख रुपैयाँ बराबरका दाउरा र कम्बल वितरण गर्ने तयारी गरेको छ ।’ तिलोत्तमा नगरपालिकाले सबै वडाका सामुदायिक वनसँग समन्वय गरी दाउरा वितरण गर्ने भएको छ । चिसो मौसममा सडकमा कोही मानिस देखिएमा आश्रममा लगी व्यवस्थापन गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले बताए ।

कपिलवस्तुमा तीन दिनदेखि घाम नलागेपछि कठ्यांग्रिने चिसो बढेको छ । यस सिजनमा मंगलबार सबैभन्दा जाडो रह्यो । मंगलबार न्यूनतम ८ डिग्री सेल्सियस र अधिकतम १४ डिग्री सेल्सियस तापक्रम रहेको रामनगरस्थित जल तथा मौसम विज्ञान विभागको एकाइका रामु रेग्मीले बताए ।

कपिलवस्तु नगरपालिका–२ रमतलहाकी ६८ वर्षीया रबडा चमारको दिनरात चिसोले कष्टकर बनेको छ । ‘फाटेको कम्बल छ,’ उनले भनिन्, ‘यो चिसोमा रात काट्नै मुस्किल छ । टाउको छोपिन्छ । तर, खुट्टा ढाकिन्न । खुट्टा छोपे टाउको ह्वांगै हुन्छ ।’ उनकी २८ वर्षीया छोरी सीता र १० वर्षीया नातिनी पनि कठ्यांगिँदै रात बिताउने गरेका छन् । श्रीमान् रामदासको ८ वर्षअघि मृत्यु भएपछि उनका दुःखका दिन सुरु भएका हुन् । विवाह भएकी छोरी कहिलेकाहीं आएर उनको रेखदेख गर्छिन् । उनका श्रीमान् ज्याला मजदुरीका लागि मुम्बईमा छन् ।

‘तीन दिनदेखि घाम लागेको छैन,’ छोरी सीताले भनिन्, ‘फुसको घर छ । माटोको भित्ताले अझ चिसो बनाउँछ । आयआर्जन नहुँदा जाडोमा ओढ्ने कपडाको अभाव छ ।’ ठाउँठाउँमा फाटेर सिलाएको र झुत्रा परेका दुईवटा पातला सिरक मात्र रहेको उनले सुनाइन् । ‘एउटा मैले, अर्को छोरी र नातिनीले ओढेर रात काट्छौं,’ आमा रबडाले भनिन्, ‘जाडो बढेपछि गाउँबाट खोजेर एक लेहना पराल ल्याएकी छु ।’ त्यसैलाई बिस्तरा बनाएको उनले सुनाइन् ।

बाँकेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरका उपनिर्देशक डा. दिनेश श्रेष्ठका अनुसार चिसोमा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीलाई विशेष ख्याल गर्नुपर्छ । ‘५ वर्षभन्दा मुनिका बालबालिकालाई निमोनिया हुने खतरा बढ्दै छ,’ उनले भने । चिसोबाट जोगिन वृद्धवृद्धा र बालबालिकाले बढी ख्याल गर्नुपर्ने लुम्बिनी प्रादेशिक अस्पतालका जनरल फिजिसियन डा. सुदर्शन थापाले बताए । ‘अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्किँदा राम्रो हुन्छ,’ उनले भने, ‘अहिले घरबाहिरको तापक्रम कम छ, त्यसले हानि पुर्‍याउँछ ।’ धेरै कपडा र विशेषगरी कालो कपडा लगाउन उनले सुझाए । कालो कपडाले घामको प्रकाश लिने भएकाले यसले फाइदा पुर्‍याउने उनको भनाइ छ । खाना खाँदा पानी मनतातो बनाएर बढी मात्रामा पिउने, प्रोटिन बढी सेवन गरेमा ताप उत्पादन भएर सहयोग पुग्ने उनको भनाइ छ ।

-सन्जु पौडेल (तिलोत्तमा), मनोज पौडेल (कपिलवस्तु), मधु शाही (बाँके) र कमल पन्थी (बर्दिया)

प्रकाशित : पुस २९, २०७७ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?