कांग्रेसद्वारा कोरोनाको खोप यथाशीघ्र भित्र्याई निःशुल्क वितरण गर्न आग्रह- समाचार - कान्तिपुर समाचार

कांग्रेसद्वारा कोरोनाको खोप यथाशीघ्र भित्र्याई निःशुल्क वितरण गर्न आग्रह

रासस

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोभिड—१९ को खोप नेपालमा यथाशक्य छिटो भित्र्याउन र जनतालाई निःशुल्क उपलब्ध गराउने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस, सूचना, सञ्चार तथा प्रचार केन्द्रीय विभागले कोभिड–१९ को उपचार र रोकथामलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन गर्न तथा विश्व बजारमा आइपुगेको  खोप भित्र्याई निःशुल्क उपलब्ध गराउन आग्रह गरेको हो ।

विभागको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले देशव्यापी रुपमा सञ्चालन गरिरहेको विरोध कार्यक्रममा सहभागिता बढाउनका लागि मिडिया तथा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने निर्णयसमेत गरेको छ ।बैठकले यसअघिको निर्णयानुरुप पार्टीको परिमार्जित रूपमा सार्वजनिक गरिएको वेबसाइटलाई अझ परिष्कृत गर्दै लैजाने, पार्टीका आठै संसदीय दल, जिल्ला कार्यसमिति, भ्रातृ र शुभेच्छुक संस्था एवं विदेशस्थित नेपाली जनसम्पर्क समितिको वेबसाइट सञ्चालनका लागि निर्मित करीब डेढ सय ‘सब डोमेन’ को कार्यान्वयन प्रक्रियालाई आगामी माघ १५ गतेसम्म सार्थक गतिमा अघि बढाउने निर्णय गरेको छ ।

विभागले गत छ महिनायता हरेक मङ्गलबारदेखि शुक्रबारसम्म सांझ ७.१५ बजे पार्टीको फेसबुक पेजबाट नियमित लाइभमा जारी खुला अन्तरक्रियाको कार्यक्रम ‘छहारी संवाद’ लाई निरन्तरता दिंदै स्रोता क्लब गठन गर्ने निर्णय गरेको सचिव दिनेश थापा मगरले जानकारी दिए । विभागले केही सदस्यको जिम्मेवारी हेरफेर तथा विभिन्न उपसमिति र कार्यदलसमेत गठन गरिएको छ ।

यसैगरी बैठकले विभाग प्रमुख विश्वप्रकाश शर्माका संयोजकत्वमा देशका लागि कांग्रेसको आगामी १५ वर्षे परिकल्पनाको प्रारम्भिक खाका तर्जुमा कार्यदलसमेत गठन गरेको छ । कांग्रेसको नीति, विचार र सिद्धान्तलाई नागरिकसम्म पुर्‍याउन प्रविधिको अधिकतम प्रयोग गर्ने नीतिबमोजिम आगामी फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा कांग्रेस एप सार्वजनिक गर्ने निर्णयसमेत गरिएको उनले बताए ।

प्रकाशित : पुस २८, २०७७ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्

हुस्सुले दुई दिनदेखि उडान प्रभावित

रासस

काठमाडौँ — हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको हो ।

बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको बताए । उनका अनुसार सोमबार तराई तथा पहाडी क्षेत्रका विमानस्थल ८८ उडान तालिका रहेकामध्ये ४० उडान रद्द भए । मंगलबार पनि ८८ उडान तालिका रहेको छ ।

बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ । उडान नभएपछि गन्तव्य हिँडेका यात्रु दिनभरजसो विमानस्थलमा अलपत्र परेका छन् । मौसम खराबीका कारण आज पनि तराईका अधिकांश स्थानमा उडान हुनसकेको छैन । सोमबार तराईका अधिकांश गन्तव्यको उडान रद्द भएका छन्

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाकाअनुसार सोमबार विराटनगरमा चार, सिमरामा तीन, भरतपुरमा दुई, नेपालगञ्ज र तुम्लिङ्टारमा समान एक एक उडान रद्द भए । यतीको आजका लागि तय भएको विराटनगर र भद्रपुर गन्तव्यमा अहिलेसम्म पनि उडान हुनसकेको छैन । विराटनगरमा चार उडान तालिका छ । भद्रपुरको दुई उडानमध्ये एक रद्द गरिएको कम्पनीले जनाएको छ ।

बुद्ध एयरको मात्रै सोमबार २८ उडान रद्द भएको थियो । बुद्धको विराटनगरमा सात, सिमरा र भैरहवामा समान पाँच उडान भएन । बुद्धले आज पनि विराटनगरमा सात उडान राखेको छ । मौसमको खराबीले अहिलेसम्म उडान भएको छैन । यस्तै सोमबार श्री एयरलाइन्सको तीन र सौर्यका दुई उडान रद्द भएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका तराई भू–भागका धेरैजसो स्थानमा हुस्सु/कुहिरो लागेको छ । विमानको समयमा तराईमा लागेको हुस्सु कुहिरो अपरान्हसम्म रहने र हुस्सुका कारण राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनका साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज काठमाडौँको अतिकतम तापक्रम २१ दशमलव ५ र न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्रिसेल्सियस रहेको छ । हुस्सु र कुहिरोका कारण देशका अधिकांश स्थानको तापक्रम घटेको छ । राजधानी काठमाडौँ उपत्यकामा पनि आज बिहानैदेखि राम्रोसँग घाम नलागेका कारण केही चिसो महसुस गरिएको छ ।

प्रकाशित : पुस २८, २०७७ १५:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×