सूर्य चिन्ह मैले नै ल्याएको हुँ : नेता नेपाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सूर्य चिन्ह मैले नै ल्याएको हुँ : नेता नेपाल

प्रतीक्षा काफ्ले

कास्की — नेकपाका अध्यक्ष माधवकुमार नेपालले चुनाव चिन्ह सूर्य आफूले नै ल्याएको दाबी गरेका छन् । २०४८ सालमा पार्टीले आफूलाई जिम्मेवारी दिएपछि निर्वाचन आयोगमा चुनाव चिन्ह रोज्न जाँदा सूर्य चिन्ह आफूले नै रोजेर ल्याएको उनले बताए ।

अहिले चुनाव चिन्ह ओली कि दाहाल-नेपालतिर भन्ने विवाद भइरहँदा पार्टीको बहुमतको आधारमा पनि आधिकारिक पार्टी आफूहरु नै भएकाले चुनाव चिन्ह सूर्य पनि आफ्नै हुने उनको भनाइ थियो ।

नेकपा (दाहाल–नेपाल) पक्षका कार्यकर्ताको प्रदेश भेलालाई सम्बोधन गर्न मंगलबार पोखरा आएका नेपालले सूर्य चिन्ह चाहेर पनि कसैले खोस्न नसक्ने बताएका छन् । केपी शर्मा ओलीको विनाशकारी बुद्धिका कारण आज मुलुक द्वन्द्वमा फसेको बताउँदै उनले भने, ‘केपी भाँचिन तयार छन् तर, सच्चिन चाहनन् ।’

पार्टीमा बहुमत पुर्‍याउँछु भन्दै सडकमा हिँड्नेलाई पनि केन्द्रीय सदस्य बनाउँदैमा ओलीले नेकपा आधिकारिक पार्टी बनाउन नसक्ने अध्यक्ष नेपालले ठोकुवा गरे । ओलीमा कम्युनिष्ट भावना नै नरहेको बताउँदै उनले आफूहरु नबिराएकाले नडराई संघर्षको मैदानमा उत्रिएको बताए । पार्टी एकताका लागि संघर्ष जरुरी रहेको उनको भनाइ थियो । ‘पार्टीमा संघर्ष चलिरहन्छ’, उनले भने, ‘ओलीलाई पनि वर्षौदेखि चिन्छु । उनी अहिलेमात्र होइन पहिलेदेखि नै स्वार्थी र छलकपट हुन् । उनलाई आफ्नो स्वार्थबाहेक अरु मतलब छैन ।’

आफू महासचिव हुँदादेखी नै ओली पिछा लागेको भन्दै नेपालले ओली पदको लागि सीपी मैनालीको पनि पिछा लागेको बताए । ओली व्यक्तिवादी र गुटवादीका कारण पार्टीभित्र जहिलै समस्या उत्पन्न उनले बताए । ‘पावरमा पुगेपछि उनमा अहंकार भरियो’, नेपालले भने, ‘उनको अहंकार अब धेरै टिक्दैन । गुप्तचर होस् या सम्पति सुदृढीकरण सबै आफ्नै अन्डरमा ल्याए । उनलाई पावरमात्र चाहिएको छ । उनमा इमान्दारिता छैन ।’

उखान टुक्काले जनताका ताली पाउने कामबाहेक ओलीले जनताको हितमा कुनै काम नगरेको तर्क उनको थियो । डिएनए टेस्ट गर्दा आफूसँग मेल खाएका व्यक्ति बोक्ने प्रचलनले ओलीले मुलुकलाई नै द्वन्द्वमा धकेलेको उनले बताए । ओलीको एकलकाँटे प्रवृत्तिलाई अन्त्यकोा लागि बहस गर्न जरुरी रहेको उनले बताएका छन् । ४४० केन्द्रीय सदस्यमध्ये ओलीका जम्मा ११८ सदस्य रहेको बताउँदै नेपालले ओली अल्पमतमा परेपछि पार्टीभित्र टुटफुटको समस्या देखिएको उनको भनाइ छ । उनले बाटो बिराएर हिँडेका ओलीलाई अझै पनि समय रहेको भन्दै फर्किन आग्रह गरेका छन् ।

प्रकाशित : पुस २८, २०७७ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्रीको प्रतिगमनकारी कदमले देशको विकास १० वर्ष पछि धकेलियो : मुख्यमन्त्री शाही

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताले स्थिर राजनीतिका लागि आफूहरुलाई चुनेको भन्दै बाँकी रहेको दुई वर्ष चुनावमाभन्दा विकासतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक र प्रतिगमनकारी भन्दै यो निर्णयले देशको विकास १० वर्ष पछाडि धकेलिएको उनले बताए । ‘मध्यावधि चुनावले सबै कुरा समाधान हुँदैन,’ मुख्यमन्त्री कार्यालयले मंगलबार गरेको पत्रकार भेटघाटमा बोल्दै शाहीले भने, ‘जनताले पनि यसलाई स्वीकार गर्दैनन्, चुनावमा जानुभन्दा देशको आर्थिक उन्नतितर्फ केन्द्रित हुनुपर्छ ।’

उनले नेकपाको गठबन्धन फुटे पनि जनताले स्वाभाविक रुपमा लिने भन्दै राजनीतिमा आएको भूकम्पले जनतामा निराशा छाएको बताए । ‘इतिहास हेर्ने हो भने पार्टी फुट्दै र जुट्दै आएकै हुन्,’ उनले भने, ‘तर अहिले नेकपाका कार्यक्रम छुट्टाछुट्टै भए पनि वैधानिक रुपले भने एउटै हो फुटेको छैन ।’ मुख्यमन्त्री शाहीले न्यायलयले देश दुर्घटना हुनबाट जोगाउने र पुरानै लयमा देश फर्किने उल्लेख गरे ।

बाधा पन्छाउँदै काम

मुख्यमन्त्री शाहीले कर्णाली सरकारले बाधा पन्छाउँदै आफ्नै गतिमा काम गरिरहेको बताएका छन् । उनले बहुमतकै सरकार भए पनि विभिन्न बाधा आइरहँदा अल्पमतमै सरकार चलाएको अनुभूति गरेको उनले बताए । विकासका काम भए पनि भुक्तानीमा ढिलाइ हुँदा प्रगति थोरै देखिएको उनको भनाइ छ । अन्य प्रदेशको तुलनामा कर्णालीको भौगोलिक बनावट हेरी तीव्रताका साथ काम भइरहेको भन्दै उनले स्वास्थ्य, शिक्षा, खानेपानी, सडकलगायत क्षेत्रमा सरकार गठन हुनुभन्दा अगाडिको अवस्थाभन्दा धेरै परिवर्तन आएको मुख्यमन्त्रीले बताए । ‘तराईको क्षेत्र र कर्णालीमा उही बजेटले काम हुन सक्दैन,’ उनले भने, ‘सुर्खेतमा एक किलोमिटर ट्रयाक खोल्नु र कालीकोटका चट्टान फोडेर एक किलोमिटर सडक खोल्नुमा धेरै फरक छ ।’

उनले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विकास बजेट निकै कम खर्च भए पनि अबको चौमासिकमा भने बढी हुने दाबी गरे ।



प्रकाशित : पुस २८, २०७७ १८:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×