मदन भण्डारी फाउन्डेशनलाई ५० लाख दिने प्रदेश सरकारको निर्णय

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले मदन भण्डारी फाउन्डेशनलाई ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । सत्तारुढ नेकपाभित्र विवाद बढेसँगै देशैभर फाउन्डेशनको नाममा विभिन्न कार्यक्रम भइरहेको बेला मंगलबारको वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले फाउन्डेशनलाई नगद ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

मदन भण्डारी फाउन्डेशनलाई ५० लाख दिने प्रदेश सरकारको निर्णय

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल फाउन्डेशनका केन्द्रीय सदस्य हुन् ।

‘विविध सामाजिक क्षेत्रमा काम गर्ने गरी फाउन्डेशनलाई नगद उपलब्ध गराएका हौं । हामीले अन्य सामाजिक संघसंस्थालाई पनि नगद सहयोग उपलब्ध गराएका थियौं’, भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुँयालले पार्टी निकट फाउन्डेशन भएका कारण मात्र नभएर समाजिक क्षेत्रमा क्रियाशील संस्था भएको कारण सहयोग गरिएको बताए । ‘उत्पादनमूलक र समाजिक क्षेत्रमा गरिने कार्यक्रम पेस भएको खण्डमा अन्य संघसंस्थालाई पनि सहयोग उपलब्ध गराउन सकिन्छ’, उनले थपे ।

फाउन्डेशन तत्कालीन एमालेका महासचिव मदन भण्डारीको स्मृतिमा खोलिएको संस्था हो । फाउन्डेशनका संस्थापक अध्यक्ष राष्ट्रपति विद्यादेवी भण्डारी र केन्द्रीय अध्यक्षमा भण्डारीकी छोरी उषाकिरण छिन् ।

बैठकले प्रदेश सुशासन केन्द्रको निर्देशकमा बिमल पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दोलखाका पोखरेललाई ४ वर्षका लागि निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

संघीय समपुरक तथा विशेष अनुदान तर्फका आयोजना/कार्यक्रमहरु प्रस्ताव गर्ने, वैकल्पिक उर्जा प्रणाली अनुदान परिचालन, दोलखाको जिलुको एकीकृत बस्तीका २ करोड ४० लाख दिने, प्रदेशका स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराउने लगायतका निर्णय गरेको मन्त्री ढुंगेलले जानकारी दिए ।

प्रकाशित : पुस २८, २०७७ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?