१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

'प्रधानमन्त्री पद पाउन ओलीले जबज छोड्ने प्रस्तावमा पहिले हस्ताक्षर गरेका थिए'

काठमाडौँ — प्रधानमन्त्रीको पद प्राप्त गर्नका लागि केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) छोड्ने सम्झौतामा सुरुमा हस्ताक्षर गरेको नेकपा अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । दाहाल-नेपाल पक्षका कार्यकर्ताहरूको मंगलबार पोखरामा आयोजित भेलामा प्रधानमन्त्री प्राप्त गर्नका लागि ओलीले 'राजनीतिक बेइमानी' गरेको दाहालको भनाइ थियो ।

'प्रधानमन्त्री पद पाउन ओलीले जबज छोड्ने प्रस्तावमा पहिले हस्ताक्षर गरेका थिए'

पार्टी एकताका क्रममा जबज छोड्न नहुने भन्दै माधवकुमार नेपालले कुरा राखेको र पूर्वमाओवादीका केही नेताले पनि २१औँ शताब्दीको जनताको जनवाद राजनीतिक सिद्धान्त राख्नुपर्छ भनेर कुरा राखेको अवस्थामा ओलीले नै जबज छोड्न तयार भएपछि कुरा मिलेको दाहालको भनाइ थियो ।

'दुई पार्टीइहरूको राजनीतिक सिद्धान्त सम्बन्धमा माओवादीको एक्काइसौं शताब्दीको जनताको जनवादबारे र जनता बहुदलीय जनवादबारे छलफल भएको थियो । अध्यक्ष नेपालले अहिले नै जबज छोड्दा राम्रो हुँदैन भन्नुभयो,' दाहालले थपे, 'पूर्व एमालेको सिद्धान्त र नीतिलाई निषेध गर्न हुँदैन त्यसैगरी पूर्व माओवादीको नीति र सिद्धान्तलाई निशेध गर्न हुँदैन भनेका थियौं ।'

आफू र ओलीबीच साझा कार्यदिशा बनाउनुपर्छ र माओवादी आन्दोलन तथा मदन भण्डारीको भूमिकाको सही मूल्यांकन गरेर अगाडि बढ्ने सहमति भएको पनि दाहालले बताए । उनले थपे, 'अन्तिममा केपी ओली र म छलफल गर्दा मदन भण्डारीको भूमिका र जबज छोडेर समाजवाद उन्मुख जनताको जनवाद भन्ने सिद्धान्तमा पहिला हस्ताक्षर गरेको केपी ओलीले नै हो । सबैले त्यसलाई समर्थन गरेर अगाडि बढ्दा पार्टी एकता भयो । आज के देखियो भने उहाँले जबज छोडेको र समाजवाद उन्मुख जनताको बहुदलीय जनवादमा हस्ताक्षर गरेको प्रधानमन्त्री पद प्राप्त गर्नका लागि मात्रै रहेछ ।'

पार्टीमा अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले पार्टी विभाजन गरेको दाहालको भनाइ थियो । अहिले पनि नेताहरूलाई धम्क्याउने र तर्साउने काम गरिरहेको, संविधान र व्यवस्थाको विरुद्धमा लागिरहेको उनले बताए ।

ओलीले बारम्बार पार्टीको विधान मिचेको र त्यसो गर्न नहुने बताउँदा नमानेको दाहालको भनाइ थियो । उनले संसद पुनःस्थापनाका लागि आफूहरू सडकमा उत्रिएको बताए । निर्वाचन आयोगबाट आफूहरूलाई नेकपा र सूर्य चुनाव चिह्न मिल्नेमा आफू ढुक्क भएको उनको भनाइ थियो ।

दाहालले जनमतको कदर गर्न पनि संसद् पुन:स्थापना हुनुपर्ने बताए । कसैको प्रभावमा नपरी निर्वाचन आयोग र सर्वोच्च अदालतले स्वतन्त्ररुपमा फैसला गर्नेमा आफू विश्वस्त रहेकाले कार्यकर्तालाई पनि विश्वस्त रहनेमा ढुक्क हुन सुझाएका दिए । नेताहरुलाई धम्काउने र धर्काउने शैलीमा ओली प्रस्तुत भएको उनको भनाइ छ । ‘ओली आफ्नो स्वार्थले दलदलमा फसे, अब उठ्ने अवस्थै छैन’, उनले भने, ‘जहिलै पार्टीको विधि र विधान बाहिर रहेर संविधानमाथि 'कु' गर्दै काम गरेका छन् । भ्रष्टाचारमा नेपाल पहिलोमा आयो यसलाई रोक्नुभन्दा भ्रष्टाचारीको संरक्षण गरेका छन् । यसो गर्न हुँदैन भन्यौं । यदि गल्ती नसच्याउने हो भने, हामी दलको नेताबाट हटाउँछौ भनेर भनेका थियौं । पार्टीभित्र सल्लाह भएको थियो । उनले प्रधानमन्त्री पद त्याग्नपर्छ भनेर संसद् नै विघटन गराइदिए ।’ नेकपाको आधिकारिक पार्टी आफ्नो भएको र सूर्य चुनाव चिन्ह पनि आफूहरुलाई नै मिल्नेमा उनी ढुक्का छन् ।

पार्टीभित्र छलफल, बहस र विवाद हुन जरुरी रहेको बताउँदै उनले पार्टीभित्र विवाद भएन भने पार्टी सुध्रिनै नसक्ने बताए । गल्ती सच्याउन विवाद आवश्यक रहेको उनको तर्क थियो ।

ओलीमा पहिलेदेखि नै गुटवादी र स्वार्थ देखिएकाले पार्टी एकतामा समस्या भएको उनले बताए । ‘कहिले सुस्त र कहिले उग्ररुपमा विवाद बाहिर नआएको होइन’, दाहालले थपे, ‘ओलीलाई विधि र विधानका कुरा गर्‍यो रिस उठिहाल्छ । विवाद चर्किहाल्छ ।’ उनले आफूहरुप्रति ७० प्रतिशत बहुमत रहेको दाबी गरे ।

दाहालले अहिले मन्त्री पद पाउने स्वार्थका कारण 'जनयुद्ध' लडेर आएका पूर्वमाओवादीहरु ओली समूहमा लागे पनि केही महिनापछि पुरानै घरमा फर्किने बताए । उनले भने,‘जनयुद्ध कुहिएको आलु हो भनेर ओलीले भनिरहँदा पूर्वलडाकुले कसरी मन बुझाएका होलान् ? ओलीको जयजय कसरी गर्न सके मलाई धिक्कार उनीप्रति लाग्यो ।’ आफूहरुको विजयीको सुरुआत भएको बताउँदै उनले सबैभन्दा ठूलो अदालत जनता नै रहेको बताएका थिए । ओलीको टुक्का र उखानको परास्त गर्न केही समय सडकमै हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित : पुस २८, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?