प्रतिलिपि अधिकार उल्लंघनमा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत  पक्राउ - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिलिपि अधिकार उल्लंघनमा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत  पक्राउ 

गायक प्रमोद खरेल भन्छन्,'करार सकिएपछि हिसाब माग्दा उल्टै मैविरुद्ध उजुरी' 
रीना मोक्तान

काठमाडौँ — प्रतिलिपि अधिकार उल्लंघन गरेको मुद्दामा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी प्रकाउ परेकी छिन् । गायक प्रमोद खरेलले गत मंगलबार विन्ध्यवासिनीले आफ्नो प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए । 

पक्राउ पुर्जी जारी भएपछि लीनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले बताए । 'कम्पनीमा पति सुवास र पत्नी लीना दुवैजना संग्लग्न हुनुहुन्छ । दुवै जनाविरुद्ध जाहेरी दर्ता भएको छ, पक्राउ पुर्जी जारी भएको छ,' एसएसपी सिंहले भने,'सुवास अहिले स्याङ्जामा छन् । अब मुद्दाको अदालतले मुद्दाको फैसला गर्छ ।'

विन्ध्यवासिनीसँग सम्झौता गरेको करार समय सकिएपछि 'प्रणय' एल्बम फिर्ता माग्दा नदिएर फेसबुकमा तथानाम टिप्पणी गरेपछि आफूले प्रहरीमा उजुरी दिएको गायक प्रमोद खरेल बताउँछन् । 'मैले एल्बम बीचबीचमा पनि माग्दै आएको थिएँ । तर कहिले समय नमिल्ने कहिले के नमिल्ने भयो । तर ७ महिनाअगाडि उहाँलाई भेटेरै एल्बमको सम्झौता सकियो, अब हिसाबकिताब गर्नुपर्‍यो भन्दा उहाँले फेसबुकमा मलाई गिराएर स्टाटस लेख्न थाल्नुभयो,' खरेलले भने,'मिलेर अगाडि जाउँ भनेर छलफलको धेरै प्रयास गरें । उहाँले एल्बम दिने कुरा गर्नुभएन । फेसबुकमा लगातार गाली गर्नुभयो । त्यसैले बाध्य भएर कानुनी बाटो रोजें ।'

प्रमोदका अनुसार २०७१ सालमै एल्बमको सम्झौता सकिएको हो । यसबीच कम्पनीले आफूले उत्पादन गरेको गीत गायक खरेलले बिनाअनुमति गाएको आरोपसहित १ करोडको क्षतिपूर्ति दाबी गर्दै कम्पनी रजिस्ट्रार कार्यालयमा उजुरी दियो । आफूले लगानी गरेको म्युजिक ट्र्याक प्रयोग गरेर ११ वर्ष खरेलले करोडौं कमाएको भन्ने दाबी गर्दै आएका थिए सञ्चालक रेग्मी । 'मैले गायक प्रमोद खरेलसँग, स्रस्टाको सिर्जना र प्रोड्युसरको ट्रयाक, बिनाअनुमति प्रयोग गर्दै प्रतिलिपि अधिकार ऐनले तोकेको प्रस्तोताको अधिकारको क्षेत्राधिकार बाहिर गई मनग्य आर्थिक लाभ लिँदै, प्रतिलिपि अधिकारका धनी रहेका अन्य पक्षलाई अन्याय गरेको भनेर १ करोडको क्षतिपूर्ति माग दाबी गरेको हूँ,' रेग्मीले फेसबुक स्टाटसमा लेखेका छन् ।

गायक खरेल भने गीतको सर्वाधिकार आफूसँग रहेको र प्रणयको एल्बमको निर्माता नै आफूलाई दाबी गर्छन् । 'एल्बमको प्रकाशन तथा बिक्री वितिरणको सम्झौता पाँच वर्षको हो । कम्पनीलाई दिनुपर्ने ४ लाख रकम मैले पाउने रोयल्टीबाट दिएर उहाँको लगानी सुरक्षित गरिसकेँ । मेरो रोयल्टीबाट कम्पनीले आफ्नो खर्च उठाइसक्यो ।यो एल्बमको लगानीकर्ता मै हो,' खरेलले कान्तिपुरसँग भने ।

सम्झौता सकिएपछि नयाँ करार नवीकरण गर्ने/नगर्ने भएपछि खरेलले एल्बमको हिसाबसमेत मागे । तर रेग्मीले उनीविरुद्ध उजुरी दर्ता गरेपछि आफू छक्क परेको प्रमोद बताउँछन् । 'एल्बमको सर्वाधिकार मसँग छ । उहाँले प्रमोदले आफ्ना गीत गायो भन्दै मुद्दा हाल्नु भनेको त रिक्सावालाले रिक्सा चलायो, घर बनाउनले घर बनायो भनेर हालेको मुद्दा जस्तै हो । एउटा गायकले आफूले गाएको गीत गाउँदा मुद्दा हाल्ने कम्पनी कस्तो होला । कि त करार गरेको हुनुपर्‍यो,' खरेलले भने,'गायकसँग आफूले गाएको गीतको फर्मिङ राइट हुन्छ । मैले त मेरो एल्बमकै गीत गाउँछु । उहाँले रजिस्ट्रारबाट उजुरी प्रहरीकोमा पठाउनुभयो । मलाई थुनाउन कोसिस गर्नुभयो । मानसिक तनाव दिनुभयो ।'

गायकले गाएको गीत स्टेजमा गाएको भन्दै कम्पनीले गरेको उजुरी न्यायोचित कुरा नरहेको गायक सत्यराज आचार्य बताउँछन् । 'करारले नै सत्य के हो गलत के आफै बोल्छ । प्रमोदसँगको करार सकेर पनि गीतको बिक्री वितरण गरेको र करार अवधिभर कुनै हिसाब किताब बुझाएको छैन । तर प्रमोदविरुद्ध नै मुद्दा हालियो,' उनी भन्छन्,'एउटा गायकले गाउनै नपाउने भनेको डाक्टरले उपचार गर्नै नपाउने जस्तो भयो । गायकसँग पर्फमिङ राइट हुन्छ । कि त करार गरेको हुनुपर्‍यो पहिल्यै ।'

गीत हिट भएपछि स्टेजमा त्यही गीतको माग हुन्छ । आफूले गाएको गीत गायकले स्टेजमा गाएको भन्दै उजुरी गर्नु तर्कसंगत नरहेको उनको भनाइ छ ।

प्रमोद र विन्ध्यवासिनीका सुवासबीच विवाद चर्किरहँदा ५७ जना संगीतकर्मी एकजुट भएर प्रतिलिपि अधिकारको उल्लंघन हुन नदिन र यस विषयमा दोषीलाई कारबाही गर्न माग गर्दै प्रहरी परिसरमा अपिल गरेका थिए ।

कुनै पनि स्रष्टा, गायक/गायिकाको प्रतिलिपि अधिकार हुन नदिन आफूहरुले सामूहिक हस्ताक्षर गरेको गायक शिव परियार बताउँछन् । 'हामी सम्पूर्ण कलाकारले प्रमोद खरेलको प्रतिलिपि अधिकार हनन भयो । यसैगरी विगतमा पनि प्रतिलिपि अधिकार हनन भएको इतिहास छ । र भविष्यमा पनि यस्तो हुने अवस्था छ । आजको समयमा पनि हामी कुनै कलाकार यो विषयमा चुप बस्यौं भने हामीमाथि अन्याय हुन जान्छ । यसै मुद्दालाई आधार मान्दै कसैको प्रतिलिपि अधिकार कसैले पनि हनन गर्ने अधिकार छैन है भन्न एकजुट भएर ऐक्यबद्धता जनाएको हो,' उनले भने ।

गायक खरेल सामाजिक सञ्जालमार्फत रेग्मीले आफ्नो मानहानी गरेको भन्दै मानहानीको मुद्दा दर्ता गर्ने सोचमा छन् । 'अब एल्बमको गीत नयाँ भर्सनमा बनाएर स्रोतामाझ पस्किउँ भनेर काम गर्न फिर्ता मागेको थिएँ । उहाँले आफैँ उजुरी गरेर मलाई मानसिक तनाव दिनुभयो । अब म मानहानीमा जान्छु,' उनले भने,'ममाथि चार महिनादेखि यति प्रहार भयो म मानसिक रुपले विक्षिप्त भएँ । डिप्रेस्ड भएँ ।'

दर्शकले अत्यन्तै रुचाएका कारण प्रमोदले स्टेजमा 'प्रणय' एल्बमका गीत गाउँदै आएका थिए । एल्बममा आठ गीत समावेश छन् ।

प्रकाशित : पुस २८, २०७७ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्

अतिरिक्त शुल्क नबुझाउँदा परीक्षाबाटै वञ्‍चित

रामजी राम र पंकज रामलाई जुन शुल्क नबुझाएको भन्दै परीक्षाबाट बाहिर निकालिएको छ, उक्त शुल्क नै अवैध हो
सुदीप कैनी

काठमाडौँ — वीरगन्जस्थित नेसनल मेडिकल कलेजले अतिरिक्त शुल्कबापतको ७ लाख ५१ हजार रुपैयाँ नबुझाउने दुई छात्रलाई सोमबारबाट सुरु भएको एमबीबीएस चौथो वर्षको परीक्षामा सहभागी हुन रोकेको छ । सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरिरहेका छात्र रामजी राम र पंकज रामलाई शुल्क नबुझाएको भन्दै परीक्षा हलबाटै बाहिर निकालिएको हो ।

रामजीले अध्ययन गर्दा लाग्ने शुल्क बुझाइसकेको विश्वविद्यालय अनुदान आयोगले प्रस्टाएको छ । तर परीक्षा हलमा प्रवेश गरेपछि निष्कासन गरिएको रामजीले गुनासो गरे । उनले परीक्षा आवेदन फाराम भर्न नदिँदा नै शिक्षा मन्त्रालयलगायतका निकायमा जानकारी गराइसकेका थिए ।

यता चिकित्सा शिक्षा आयोगले दुवै छात्रलाई परीक्षामा सहभागी गराउने व्यवस्था गर्न आइतबार नै त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान डिनको कार्यालयलाई निर्देशन दिएको थियो । तर नेसनल कलेजले प्रधानमन्त्री अध्यक्ष रहेको आयोगको निर्देशन अवज्ञा गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय नेकपाका केन्द्रीय सदस्य बसरुद्दिन अन्सारी उक्त कलेजका सञ्चालक हुन् ।

होस्टल बसेको शुल्क नतिरेको भन्दै गतवर्ष परीक्षा आवेदन फाराम भर्नै नदिएको रामजीले सुनाए । मन्त्रालयको अनुगमन र निर्देशनपछि मात्रै उनीहरूले त्यसबेला तेस्रो वर्षको परीक्षा दिन पाएका थिए । ‘यसपालि होस्टल, खाना र बिजुलीको ८ लाख ११ हजार तिरें,’ उनले भने, ‘फेरि वार्षिक शुल्क र तह बढुवा शुल्क भनेर ७ लाख ५१ हजार रुपैयाँ मागिएको छ ।’ कलेजले मागेको वार्षिक र तह बढुवा शुल्क अवैध हो । रामजीले यसअघि आंशिक परीक्षामा समेत सहभागी हुन नपाएको गुनासो गरे ।

२०७२ मा सरकारले डोम, बादी, मुसहर र चमार समुदायलाई निःशुल्क एमबीबीएस पढाउने निर्णय गरेपछि सोही कोटामा उनीहरू नेसनलमा भर्ना भएका थिए । यसअघि रामजी एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण भएपछि ललितपुरको किस्ट मेडिकल कलेज गएका थिए । उनलाई किस्टले भर्ना लिन मानेको थिएन । किस्टले पनि त्यतिबेला १५ लाख रुपैयाँ अतिरिक्त शुल्क मागेर भर्ना नलिएको उनले सुनाए । सर्वोच्च अदालतको आदेशपछि उनी नेसनलमा भर्ना भएका हुन् ।

होस्टल बस्नुपर्ने बाध्यकारी नियम बनाएर पैसा लिइएको पंकजले सुनाए । गतवर्ष नियमित परीक्षामा सामेल हुन नपाएपछि होस्टलतर्फको शुल्क उनीहरूले हालै मात्र बुझाएका हुन् । ‘पहिलो वर्षदेखि नै वार्षिक र बढुवा शुल्कको रकम जोडेर राखिएको रहेछ,’ पंकजले भने । डिन कार्यालयले परीक्षामा सहभागी गराउन कलेजलाई निर्देशन दिइसकेको जनाएको छ । नेसनललगायत मेडिकल कलेजहरूले चिकित्सा शिक्षा अध्ययनरत छात्रवृत्ति पाएका र डोनेसनमा पढ्ने सबै विद्यार्थीसँग निर्बाध अतिरिक्त शुल्क असुल्दै आएका छन् ।

प्रकाशित : पुस २८, २०७७ ०८:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×