कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

अक्सिजन खर्च दिनमै डेढ लाख

ठाकुरसिंह थारु

नेपालगन्ज — आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई आवश्यक पर्ने अक्सिजनका लागि भेरी अस्पतालमा दैनिक डेढ लाख रुपैयाँ खर्च हुने गरेको छ ।

अक्सिजन खर्च दिनमै डेढ लाख

संक्रमितको खानामा दैनिक ५० हजार रुपैयाँ खर्च भइरहेको अस्पताल प्रशासनले जनाएको छ । यहाँ लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका जटिल प्रकृतिका कोरोना संक्रमितलाई उपचारका लागि ल्याउने गरिन्छ ।

अस्पताल प्रमुख डा. प्रकाश थापाले प्रदेश सरकार र विभिन्न संघसंस्थासँग सहयोग मागेर दैनिक खर्च धानिरहेको बताए । ‘सबैभन्दा बढी अक्सिजनमा खर्च भइरहेको छ । त्यो खर्च घटाउन अक्सिजन प्लान्ट स्थापना गर्ने पहल थालेका छौं,’ उनले भने, ‘प्लान्ट स्थापना गर्न सक्ने हो भने खर्च धेरै घट्छ ।’ अस्पतालले अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयमा बजेट माग गरेको छ ।

‘निर्माणमा प्लान्टको क्षमता हेरेर एक करोडदेखि १० करोड रुपैयाँसम्म लाग्न सक्छ,’ उनले भने, ‘हाम्रो प्रस्तावमा स्वास्थ्य मन्त्रालय सकारात्मक छ । बजेटका लागि अर्थ मन्त्रालयमा फाइल पुगिसकेको छ ।’उनका अनुसार अर्थबाट बजेट स्वीकृत भएलगत्तै प्लान्ट निर्माणका लागि टेन्डर खोलिनेछ तर टेन्डर प्रक्रिया झन्झटिलो र लामो समय लाग्ने गरेका कारण प्लान्ट निर्माणमा ढिलाइ हुन सक्ने देखिन्छ ।

चिकित्सकहरूले भने ‘फास्ट ट्र्याक’ बाट प्लान्ट निर्माण गर्न सुझाएका छन् । ‘ठेक्का प्रक्रियाबाट काम गर्ने हो भने प्लान्ट निर्माणको प्रक्रियामै चार/पाँच महिना लाग्न सक्छ । त्यसैले संकटका बेला छोटो र छिटो हुने गरी काम गर्नु उपयुक्त देखिन्छ,’ अस्पताल प्रमुख डा. थापाले भने । अस्पतालमा संक्रमितको उपचारका लागि डेढ सय शय्याको आइसोलेसन वार्ड छ ।

बाँकेमा हालसम्म कोरोना संक्रमणबाट ४८ जनाको मृत्यु भइसकेको छ । बाहिरी जिल्लाबाट उपचारका लागि नेपालगन्ज ल्याइएका मध्ये ८२ जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले जनाएको छ । ४ हजार ३ सय ४७ जना निको भएका छन् भने ८८ जना आइसोलेसनमा उपचाररत छन् ।

प्रकाशित : पुस २८, २०७७ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?