कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वास्थ्यमन्त्री भन्छन्- ‘कोरोना खोप सबैलाई निःशुल्क’

अतुल मिश्र

काठमाडौँ — कोरोनाविरुद्धको खोप ल्याउन तदारुकता नदेखाएकामा चौतर्फी आलोचना खेप्दै आएको सरकारले समयमै खोप ल्याएर निःशुल्क लगाउने दाबी गरेको छ ।

स्वास्थ्यमन्त्री भन्छन्- ‘कोरोना खोप सबैलाई निःशुल्क’

‘खोप उपलब्ध भएको एक सातामै अभियानका रूपमा लगाउन सकिनेछ’, कार्यभार सम्हालेको दुई सातापछि सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने, ‘मन्त्रालयका तीन वटामध्ये कोभिडविरुद्घको खोप ल्याउने पहिलो प्राथमिकता हो । खोप ल्याउने मिसनकै रूपमा सरकारले काम अघि बढाउनेछ ।’

हालसम्म सरकारले खोपको प्रि–बुकिङ गरेको छैन । तर उनले आमजनतालाई खोप आउनेमा ढुक्क रहन आग्रहसमेत गरे । ‘त्यो पनि समयमै र पारदर्शी ढंगबाट ल्याइएको खोप सरकारले सबैलाई निःशुल्क रूपले लगाउन अभियान चलाउनेछ र खोपको वितरणसमेत न्यायपूर्ण ढंगबाट हुनेछ,’ मन्त्री त्रिपाठीले भने । उनले विभिन्न मुलुकसँग निकटतम् सम्बन्ध राखेर खोप ल्याइने र त्यसक्रममा रुस र भारतका राजदूतसँग कुराकानी भएको जानकारी दिए । सरकारले विभिन्न देशलाई कूटनीतिक नोट पठाए पनि खोप ल्याउन ठोस कदम भने चालेको छैन ।

‘अन्य छिमेकीभन्दा धेरै पछाडि रहने अवस्था छैन,’ भारत र चीनमा खोप कार्यक्रम सुरु भएको संकेत गर्दै त्रिपाठीले भने, ‘हरेक च्यानल हरेक सम्भावनालाई अगाडि बढाउँदै छौं ।’ सरकारले कसरी पहल गरिरहेको छ भन्नेबारे उनले स्पष्ट खुलाएनन् । खोप खरिदका लागि अर्थ मन्त्रालयले रकम सुनिश्चित गरिसकेको जानकारी दिँदै बजेटको अभाव नहुने पनि बताए ।

निजी क्षेत्रलाई खोप खरिदको प्रक्रियाबाट टाढा नराख्ने जनाउँदै त्रिपाठीले पहिले सरकार–सरकार (जीटूजी) तहबाट खोप खरिद प्रक्रियालाई अघि बढाउने उनको भनाइ थियो । ‘निजी क्षेत्रलाई पनि यो खरिद प्रक्रियाबाट टाढा राख्न चाहँदैनौं,’ उनले

भने, ‘बाहिर जति चर्चा भइरहेको छ, विशेषगरी के हो भने सरकारले आफू पनि नल्याउने र निजीलाई पनि ल्याउन नदिने कठोरतामा लागेको छ कि क्या हो भनेर, त्यो होइन । सरकार प्राथमिकताका साथ पारदर्शी ढंगले पहिले सरकार–सरकारबीच खरिद प्रक्रियालाई नै अगाडि बढाउँछ ।’ उनले कोभाक्स सुविधाबाट समेत मुलुकको कुल जनसंख्याको २० प्रतिशतका लागि कोभिडविरुद्घ खोप पाउने सुनिश्चितता प्राप्त गरिसकेको जनाए ।

खोप उपलब्धतासँगै सबैभन्दा पहिले मुख्य जोखिममा रहेका स्वास्थ्यकर्मीलगायत अग्रपंक्तिमा रहेका, त्यसपछि ५५ वर्षमाथिका र दीर्घरोगीलाई खोप दिइनेसमेत उनको भनाइ थियो । मुलुकमा कोभिडविरुद्धको खोप अभियान सञ्चालन गर्न १६ हजार खोप केन्द्र, ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकालाई उपयोग गरिने उनले बताए । १६ हजार केन्द्र राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल मुलुकको सरकारी संरचनाअन्तर्गत २ डिग्री सेल्सियसदेखि ८ डिग्री सेल्सियस तापक्रममा एक करोड ७० लाख मात्रा खोप भण्डारण गर्ने क्षमता छ । यस्तै शून्यभन्दा तल अर्थात् माइनस २० डिग्री सेल्सियस तापक्रममा ९ लाख ११ हजार जनालाई पुग्ने खोप राख्ने क्षमता छ । विज्ञहरूका अनुसार नेपाललाई करिब २ करोड १० लाख जनालाई पुग्ने कोभिडविरुद्घको खोप आवश्यक छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म मुलुकमा १९,८७,५५५ जनाको पीसीआर परीक्षण गर्दा २,६५,२६८ जनामा कोभिड पोजिटिभ देखिएको छ भने यसमध्ये १,९२७ जनाको मृत्यु भइसकेको छ । हाल कोभिड पोजिटिभमध्ये मृत्युदर ०.७ प्रतिशत देखिएको छ । मुलुकमा सोमबार मात्र कोभिडले १० जनाको मृत्यु भएको छ भने ५,३०९ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ८८ जनामा कोभिड देखिएको हो । हाल मुलुकमा कोभिड निको हुने दर ९७.६ प्रतिशत देखिएको छ । देशभरिमा सोमबार कोभिडका कारण १ सय ६३ जना आईसीयू र ३७ जना भेन्टिलेटरमा गरी २ सय जना सघन उपचारमा छन् ।

‘जोखिम घटेको छैन’

मन्त्री त्रिपाठीले कोभिड संक्रमणको दर घट्दै गए पनि जोखिम नघटेको बताएका छन् । ‘यो लडाइँ सकिएको छैन, थोरै देखिएको छ भने यो मध्यान्तर होला तर यो आदि र अन्त होइन,’ उनले भने । उनले हाल विश्वका विभिन्न भागमा कोभिड भाइरसको नयाँ रूप देखिएकोप्रति चिन्ता प्रकट गरे । जोखिम नघटेकाले अझै उत्तिकै स्वास्थ्य सतर्कता आवश्यक रहेको उनले बताए ।

कोभिड महामारीबाट बच्न स्वअनुशासन आवश्यक रहेको औंल्याउँदै उनले मास्क, सामाजिक दूरी र हातको सफाइजस्ता जनस्वास्थ्यको उपाय अपनाउन सबैसँग आग्रह गरे ।

प्रकाशित : पुस २८, २०७७ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?