कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

संविधान निर्माणमै खोट छ : नेता महतो

श्यामसुन्दर शशि

जनकपुर — जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान निर्माणमै खोट भएकोले मुलुकमा संवैधानिक अड्चन खडा भएको बताएका छन् ।

संविधान निर्माणमै खोट छ : नेता महतो

जनता समाजवादी पार्टीले सोमबार यहाँ आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भारत, चीनलगायतका देशहरुको उदाहरण दिँदै प्रतिप्रश्न गरे – ‘भारतमा ७० वर्षअघि बनेको संविधान अहिलेपनि उतिकै कारगर छ तर हाम्रो मुलुकमा पटकपटक संविधान निर्माण गर्नुको कारण के होला ? ’

संविधान निर्माताहरुले आफ्नो समुदायको हितमा संविधान लेख्ने काम गरेको कारण पटकपटक असफल भएको उनको दाबी थियो । उनले २०१७ सालमा शाहवंशका राजाहरुले आफ्नो लागि, ४६ सालमा राजा, कांग्रेस र कम्युनिष्टले आफ्नो समुदायको लागि तथा ७२ सालमा कांग्रेस, एमाले र माओवादीले आफ्नो जातीय अग्राधिकार कायम राख्न संविधान निर्माण गरेको आरोप लगाए । उनले भने, ‘देशमा मधेसी, आदिवासी, जनजाति, महिला तथा उत्प्रेरित वर्ग र समुदायको पक्षमा कहिल्यै पनि संविधान लेखिएन । संविधान निर्माणमै खोट छ ।’

जसपाका अर्का वरिष्ठ नेता शरदसिंह भण्डारीले मधेस आन्दोलनकै कारण मुलुकमा संघीयता, समावेशी र समानुपातिकतालगायतका अग्रगामी परिवर्तन भएको उल्लेख गरे । केपी ओली नेतृत्वको सरकार प्रत्येक मोर्चामा असफल भएको तथा आफ्नो असफलता ढाकछोप गर्न उनले संसद् विघटन गरेको उनले बताए । संसद् विघटनको कदन गैरसंवैधानिक तथा अलोकतान्त्रिक रहेको उल्लेख गर्दै भण्डारीले अदालतबाट जनताको पक्षमा फैसला आउने विश्वास व्यक्त गरे ।

जसपा कार्यकारिणी समिति सदस्य रेणुकुमार यादवले नेकपा ओली समूहले हालै काठमाडौंमा प्रदर्शन गरेको धोती जुलुस तथा राप्रपाले सोमबार आयोजना गरेको एकता दिवसबारे कडा प्रतिक्रिया जनाए । धोती जुलुसका सहभागीहरुलाई नक्कलीको संज्ञा दिँदै उनले भने – ‘मधेसलाई अपमान गर्ने, अधिकारविहीन बनाउने अनि मधेसीको छाती ताकेर गोली हान्न लगाउनेहरुको पक्षमा जुलुस प्रदर्शन गर्नेहरु नक्कली धोतीधारीहरु हुन् ।’

पूर्व सांसद बृषेशचन्द्र लालले नेपालको संविधान २०७२को कुनै पनि धारा उपधारामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको जिकिर गर्दै जनआन्दोलन मार्फत् संसद् पुन:स्थापना हुने चेतावनी दिए । ‘जनताको अदालतभन्दा ठुलो केही हुन सक्दैनन् । राजालाई फाल्न सक्ने सामर्थ्य राख्ने जनता आफ्नो अधिकार लिन राम्ररी जानेको छ,’ उनले भने ।

प्रकाशित : पुस २७, २०७७ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?