कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

दाहाल–नेपालले पदको लोभ गर्दा आजको अवस्था आयो : ऊर्जामन्त्री रायामाझी

सम्झना रसाइली

तनहुँ — नेकपाका ओली पक्ष स्थायी कमिटी सदस्यहरुले पछिल्लो राजनीतिक अवस्था सिर्जना हुनुमा पदको लोभ भएको दाबी गरेका छन् । ओली पक्षले सोमबार दमौलीमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनीहरुले पार्टीभित्रकै शीर्ष नेताहरुबीच पदको लोभले गर्दा मुलुक आजको अवस्थामा पुगेको दाबी गरेका हुन् ।

दाहाल–नेपालले पदको लोभ गर्दा आजको अवस्था आयो : ऊर्जामन्त्री रायामाझी

भेलालाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले संसद् विघटन रहरले नभई बाध्यात्मक परिस्थितिमा भएको बताएका छन् । ‘सडकबाट संसद् पुनःस्थापनाको माग गर्नु पश्चगामी सोच हो’, मन्त्री रायमाझीले भने, ‘पुष्पकमल दाहाल र माधव नेपालको पदको लोभका कारण आजको स्थिति पैदा भएको र पार्टीभित्रैबाट सरकारका विरुद्ध षड्यन्त्र गरिँदा यो अवस्था आएको हो ।’

‘सरकारले गरेको राम्रा काम र प्रशंसा बढ्दै जाँदा केपी शर्मा ओलीले एकछत्र राज गर्ने सम्भावना भएका कारण पार्टीभित्रैका मान्छेहरुको निन्द्रा हराम भयो’, मन्त्री रायमाझीले भने,‘राष्ट्रिय अडान र विकासवादी नेताको हिसाबले केपी शर्मा ओली एकछत्र नेता हुने भए भन्ने हुटहुटीका कारण पार्टीभित्रैबाट उहाँलाई असहयोग भएको र अब हामी हराएर जाने भयौ भन्ने चिन्ताले उहाँहरुले सरकार असफल बनाउने खेल खेल्नु भएको छ ।’

मध्यावधि निर्वाचन गर्ने निर्णय सरकारको अग्रगामी कदम भएको बताउँदै मन्त्री रायमाझीले पद्धति बचाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नुपरेको बताएका छन् ।

त्यस्तै, कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रकै नेताहरुको कारण संसद् विघटन भएको दाबी गरेका छन् ।

‘नेकपालाई विभाजन गर्ने तथा पार्टीलाई फुटाएर जाने दाहाल–नेपाल फुटवादी र विभाजनकारी हुन्’, मुख्यमन्त्री गुरुङले भने, ‘केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी संस्थापन पार्टी हो । यही पार्टी संस्थापन भएको र यही पार्टीले नै सूर्य चिहृन लिन्छ र निर्वाचनमा जनमत पनि पाउँछ ।’

अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै नेताहरुले संसद् कुनै पनि हालतमा पुनःस्थापना नहुने र अब मध्यवधि निर्वाचनको विकल्प नभएकाले वडावडा र टोलटोलमा पुगेर चुनावी अभियानमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।

प्रकाशित : पुस २७, २०७७ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?