१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सर्वोच्चले संसद् विघटन सदर गरे संविधान बदर गरिदिनुस् भनी प्रार्थना गर्नुपर्छ : पूर्वसभामुख ढुंगाना

काठमाडौँ — असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीको स्वीकृतिलाई सर्वोच्च अदालतले सदर गरे अदालतसामू संविधान पनि बदर गरिदिनुस् भनेर प्रार्थना गर्नुपर्ने पूर्वसभामुख दमननाथ ढुंगानाले बताएका छन् ।

सर्वोच्चले संसद् विघटन सदर गरे संविधान बदर गरिदिनुस् भनी प्रार्थना गर्नुपर्छ : पूर्वसभामुख ढुंगाना

संविधानमाथि प्रहार गरेर प्रतिनिधिसभा विघटन गरिएको भन्दै ढुंगानाले सर्वोच्च अदालतले पुनः स्थापना गर्नेमा आफू विश्वस्त रहेको बताए । संविधानसभा सदस्य मञ्चले सोमबार काठमाडौंमा आयोजित गरेको प्रतिनिधिसभा विघटन र अबको निकास विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, 'संविधान हेर्ने हो भने प्रतिनिधिसभा शतप्रतिशत ब्युँताउनुपर्छ । सर्वोच्च अदालतले यो मुद्दा लम्ब्याउन सक्छ, निर्वाचन हुने बेलासम्म । सर्वोच्चले बदर हुन सक्दैन भने संविधान पनि सँगसँगै बदर गरिदिुनस् भनी प्रार्थना गर्नुपर्छ ।'

संविधान निर्माण गर्ने संविधानसभा सदस्यहरूले अभियान नै सञ्चालन गरेर प्रतिनिधिसभा ब्युँताउन पहल गर्नुपर्ने ढुंगानाको आग्रह थियो । ओलीले प्रतिनिधिसभा मात्रै विघटन गरेको नभएर संघीयता, समानुपातिक प्रतिनिधित्व, समावेशिता, गणतन्त्रलगायतका परिवर्तनमाथि प्रहार गरेको ढुंगानाको भनाइ थियो । ओलीले विगतदेखि नै संविधान र परिवर्तनका मुख्य विशेषतामाथि प्रहार गर्दै आएको भन्दै त्यसलाई रोक्न न्यायालयमाथि अन्तिम विश्वास रहेको ढुंगानाको धारणा थियो ।

प्रतिनिधिसभा विघटन गरेको अवस्थामा राष्ट्रिय सभामा जनताका आवाज उठिरहेको बेला अकस्मात अधिवेशन अन्त्य गरेर जनतालाई सडकमा आवाज उठाउ भनेर सरकारले पठाएको ढुंगानाको भनाइ थियो । 'हिजो एकाएक नाटकीय ढंगले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरिएको छ । जनताको आवाज बोल्ने थलो राष्ट्रिय सभा त थियो त्यसलाई पनि चल्न नदिई स्थगन गरियो । त्यो भनेको सरकारले नै जनतालाई सडकमा जाऊ भनेको हो,' उनले थपे ।

ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रतिनिधिसभा विघटनको चौतर्फी विरोध भइरहेको छ । यता, पुस १७ गते संवैधानिक बाध्यताका कारण आह्वान गरिएको संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन पनि १० दिनमै आइतबार अन्त्य गरिएको छ ।

प्रकाशित : पुस २७, २०७७ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?