कंगोमा कुटपिटमा संलग्‍न ९ सैनिक कारवाहीमा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कंगोमा कुटपिटमा संलग्‍न ९ सैनिक कारवाहीमा

जगदीश्वर पाण्डे

काठमाडौँ — सैनिक अदालतले संयुक्त राष्ट्र संघ (यूएन) अन्तर्गत कंगोको शान्ति मिसनमा भएको कुटपिट घटनामा संलग्न नौ जनालाई कारवाही गरेको छ । सैनिक प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार घटनामा संलग्न नौ जनालाई उनीहरूले गरेको गल्तीअनुसार सैनिक अदालतले विभिन्न कारबाहीको फैसला गरेको छ । असोज ८ गते शान्ति मिसन कंगोमा आन्तरिक रुपमा कुटपिट भएपछि त्यसबारे सामाजिक सन्जालमा बाहिर आएको थियो ।

‘हाम्रो चेन अफ कमान्डमा रिपोर्ट नभइकन सिधै मिडियामा कुरा आयो, विभिन्न किसिमका दोषी हुन्छन्, कमान्ड नमान्ने पनि दोषी हुन्, कुटपिट गर्ने पनि दोषी हुन्छन्,’ प्रवक्ता पौडेलले भने, ‘यी सबै चिजको प्रकृति हेर्दा यसपटक हामीले नौ जनालाई कारवाही गरेका छौं ।’ सेनाले घटना भएलगत्तै सबैभन्दा पहिला कंगोमै कोर्ट अफ इन्क्वायरी (अनुसन्धान) भयो । यहाँ आएर पनि कोर्ट अफ इन्क्वायरी भयो । त्यसपछि कोर्टमार्सल पनि गरिएको हो, जसको फैसला सैनिक अदालतले पुस १६ मा गरेको उनले बताए ।

कारवाहीमा पर्नेमा तीन जना अधिकृत छन् । उनीहरूको बढुवामा एक वर्ष रोक्का गरिएको छ । बाँकी ६ जना अन्य दर्जाका छन् । उक्त घटनामा सहसेनानीत्रय इन्द्र थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले सैनिक जवान नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । प्रवक्ता पौडेलका अनुसार नेपाली सेनाको मिडिया नीति र सामाजिक सन्जालसम्बन्धी आचारसंहिताविपरीत कार्य गर्ने एक सैनिकलाई ६ महिनासम्म कैद र भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी कारवाही गरिएको छ । मादक पदार्थ सेवन गरेर अधिकृतले दिएको निर्देशन नमान्नेलाई नसियतमात्र दिइएको छ । घटनाका पीडितलाई चाहिँ नसियतमात्र दिइएको प्रवक्ता पौडेलले बताए ।

उनका अनुसार गैरसोसल मिडिया नीति काम गर्ने चार जनामध्ये एक जनालाई दुई वर्ष बढुवा रोक्का, दुई जनालाई एक वर्ष बढुवा रोक्का र एक जनालाई नसियत दिइएको हो ।

प्रकाशित : पुस २६, २०७७ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्

‘जापानी राहदानी सबैभन्दा बलियो’

‘हेन्ली पासपोर्ट इन्डेक्स’ ले गरेको अध्ययनले नेपाली राहदानी १०४ औं स्थानमा रहेको देखाएको छ । जुन उत्तर कोरियाको भन्दा पनि कमजोर हो ।
नवीन पोखरेल

लन्डन — संसारभरिका पासपोर्ट (राहदानी) हरूको एक सर्वेक्षणले जापानको राहदानी सबैभन्दा बलियो देखाएको छ । ‘हेन्ली पासपोर्ट इन्डेक्स’ नामक अध्ययनमा नेपालको राहदानी निकै कमजोर पाइएको छ ।

अध्ययनले नेपाली राहदानीलाई उत्तर कोरियाभन्दा पनि तल अर्थात् १०४ औं स्थानमा राखेको हो । उत्तर कोरिया नेपालभन्दा एक स्थान अगाडि (१०३ औं) स्थानमा छ ।

संसारका कति मुलुकहरूले भिसा नलगाएरै ती मुलुकमा प्रवेश गर्न दिन्छन् भन्ने आधारमा उक्त सूची तयार गरिन्छ । जसअनुसार जापान एक नम्बरमा छ । त्यस्तै सिंगापुर दोस्रो र दक्षिण कोरिया तथा जर्मनी तेस्रो स्थानमा छन् ।

जापानी नागरिकहरूले पहिले नै भिसा नलगाई संसारका १ सय ९१ मुलुकहरूको भ्रमण गर्न पाउँछन् भने नेपालीले मात्र ३८ मुलुकको भ्रमण गर्न मिल्छ । दोस्रो शक्तिशाली सिंगापुरको राहदानीले १ सय ९० देश र तेस्रो स्थानमा रहेका दक्षिण कोरिया तथा जर्मनीको राहदानीले १ सय ८९ देश घुम्न सकिन्छ ।

इटाली, फिनल्यान्ड, स्पेन र लक्जेमवर्ग १ सय ८८ देशसहित चौथो र डेनमार्क तथा अस्ट्रिया राहदानी १ सय ८७ देशसहित पाँचौं शक्तिशाली पाइएको छ ।

स्विडेन, फ्रान्स, पोर्चुगल, नेदरल्यान्ड्स र आयरल्यान्ड (१ सय ८६) छैटौं तथा १ सय ८५ देशसँगै स्विट्जरल्यान्ड, संयुक्त राज्य अमेरिका, बेलायत, नर्वे, बेल्जियम र न्युजिल्यान्ड ७ औंमा छन् ।

दक्षिण एसियाली मुलुकहरूमध्ये भारत ८५ औं स्थानमा, भुटान ९० औं र बंगलादेश १ सय १ औं स्थानमा रहेका छन् । सर्वेक्षण गरिएका १ सय १० मुलुकमध्ये अफगानिस्तान सबैभन्दा पुछारमा (१ सय १० औं स्थानमा) छ ।

नेपालमा देखिएको पछिल्लो राजनीतिक अस्थिरताका कारण आउँदो वर्ष नेपालको स्थान अरू खस्कन सक्ने चिन्ता व्यक्त गरिएको छ । एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो मुलुक समृद्ध नहुँदासम्म व्यक्तिगत रूपमा जति धनी भए पनि इज्जत नहुने बताउँछन् ।


प्रकाशित : पुस २६, २०७७ २१:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×