२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रतिनिधिसभा विघटन गर्नेलाई सार्वजनिक बहिष्कार गरौं : रामकुमारी झाँक्री

देवनारायण साह

मोरङ — नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपमा बहिष्कार गर्न आह्वान गरेकी छन् ।

प्रतिनिधिसभा विघटन गर्नेलाई सार्वजनिक बहिष्कार गरौं : रामकुमारी झाँक्री

प्रधानमन्त्री ओली समूहका नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको सपथ ग्रहणको एक हप्ता नबित्दै दाहाल–नेपाल समूहका अनेरास्ववियुले आइतबार विराटनगरमा आयोजना गरेको सपथग्रहण कार्यक्रममा झाँक्रीले एकातिर प्रधानमन्त्रीले राज्यशक्तीको दोहन गरेर तामझामका साथ कथित चुनावी अभियान चलाइरहेका छन् भने अर्कोतिर हामी चिसो सडकबाट खबरदारी, जनतालाई सचेत र जागरुक बनाउने काम गरेर नहुने बताएकी हुन् ।

‘प्रतिनिधिसभा विघटन जस्तो जघन्य राजनीतिक अपराध गर्नेलाई सार्वजनिक रुपमा बहिष्कार गरौं पार्टीले भन्नुपर्ने अवस्थामा हाम्रा नेताहरु जोखना हेरेर बसेका छन्,’ उनले भनिन्, ‘सूर्य चिह्न, झण्डा र पार्टीको नाम कता पर्छ भनेर यो जोखना हेरेर बस्ने बेलो हो ?’ जनआन्दोलन र बलिदानीले संविधानसभाबाट निर्माण गरिएका संविधान च्यातिएको अवस्थामा नेताहरु जोखना हेरेर बसेको भन्दै झाँक्रीले आपत्ति जनाइन् ।

‘एउटै पार्टीका नेताहरुमध्ये प्रधानमन्त्रीले बालुवाटारमा र अर्कोले बाहिर बसेर पार्टी, झण्डा र सूर्य चिह्नका लागि निर्वाचन आयोगमा दलिल पेस गरेका छन् तर पार्टी फुटेको कसैले पनि स्वीकारदैनन्,’ उनले भनिन्, ‘यस्तो अवस्थामा निर्वाचन आयोगले कसलाई वैध र कसलाई अवैध प्रमाणित गर्न सक्छ ? कित्ता प्रष्ट गरेर अघि बढ्नु पर्दैन ?’ पार्टीका नेताहरुले धुप र बत्ती बाल्नेजस्ता संघर्षका कार्यक्रम सार्वजनिक गरेको प्रति पनि झाँक्रीले आपत्ति जनाइन् ।

‘मुलुकमा अहिलेको अवस्था आउनुमा हाम्रै नेताहरु पनि दोष छन्,’ उनले भनिन्, ‘प्रधानमन्त्री केपी ओलीले विधिपूर्वक पार्टी र सरकार दुवै सञ्चालन नगर्दा पनि हाम्रा नेताहरुले विधिसम्मत चलाउन लगाउन नसक्नुको परिणाम संसद् विघटन हो ।’


विराटनगरमा प्रतिनिधिसभा विघटनको विरोधमा बयलगाडा प्रदर्शन गर्दै । तस्बिर : देवनारायण साह/कान्तिपुर

पार्टीका निर्णयहरु कार्यान्वयन नहुनु, एकलौटी रुपमा अघि बढ्न संवैधानिक परिषद्को कार्यविधि संशोधनको बेला मौन समर्थन गरेको परिणाम अहिले नेताहरुले चुकाउनु परेको झाँक्रीको भनाई थियो । ‘राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु, सांसद र अवकाश प्राप्त प्रहरी प्रमुख परिचालन गरेर सांसद अपहरण जस्ता घट्नामा प्रधानमन्त्रीलाई घुँडा टेकाउन नसक्नु नै गल्ती हो,’ उनले भनिन्, ‘जसको फलस्वरुप एउटा सुदृढ कम्युनिष्ट आन्दोलनलाई बिसर्जनतर्फ लगेर हामी आफ्नै इतिहासको अन्त्यको मलामी र साक्षी बन्ने अवस्थामा छौं ।’

नैतिक मूल्यको मानकहरु समाजले निर्धारण नगरुञ्जेल अहिलेको जस्तै किंकर्तव्यविमुढ राजनीतिक अवस्था आइरहने झाँक्रीले बताइन् । ‘अब जोखना र भीडको पछि नलागी सत्यको पक्षमा उभिने बेला हो,’ उनले भनिन्, ‘सत्यको पक्षमा एक्लै उभिएका व्यक्तिको पछाडी एक दिन भीड आफै आउने कुरो नेताहरुले बुझ्नु आवश्यक छ ।’

प्रकाशित : पुस २६, २०७७ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?