कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चिसाले चौरमा पढाइ

राजबहादुर शाही

मुगु — हिमपातका कारण धेरै चिसो बढेपछि मुगुका सामुदायिक विद्यालयहरूले चौरमा पढाउन थालेका छन् । कक्षाकोठामा बस्दा चिसाले विद्यार्थीका हातखुट्टा कठ्याङ्ग्रिन थालेपछि घाम लागेका ठाउँमा कक्षा सञ्चालन हुने गरेको हो ।

चिसाले चौरमा पढाइ

धेरै विद्यार्थी भएका विद्यालयमा भने सानो चौरमा राखेर विद्यार्थी पढाउन समस्या भएको छ । ‘विद्यार्थीहरू कक्षाकोठामा बस्नै मान्दैनन्,’ खत्याड गाउँपालिकास्थित सर्वोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकेन्द्र कार्कीले भने, ‘शिक्षकलाई पनि पढाउन मुस्किल हुने भएपछि चौरमा पढाउन थालेका छौं ।’

घाम नलागेका दिन भने कक्षाभित्रै आगो बालेर पढाइने गरिएको शिक्षकको भनाइ छ । हिमपात भएपछि छायानाथरारा नगरपालिकाको बाम, शोभा, कोल्ली, टोप्ला, ताल्चा, मुर्मालगायत गाउँमा अत्यधिक चिसो बढेको छ । घाम नलागेका दिन आगो बालेर कक्षा सञ्चालन गर्नुको विकल्प नभएको छायानाथरारा नगरपालिका–९, मुर्मास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक नन्दसिंह रोकायाले बताए । ‘घाम नलागेका दिन विद्यार्थी नै आउँदैनन्,’ उनले भने, ‘त्यसैले घाम लागेका दिन मात्र पठनपाठन हुने गरेको छ ।’

मुगुमकार्मारोङ गाउँपालिकाका १७ सामुदायिक विद्यालयमा भने कक्षाभित्रै आगो बालेर पढाइ भइरहेको छ । बर्सेनि हिउँदका २ महिना बन्द हुने विद्यालय कोरोना महामारीका कारण अहिले पनि सञ्चालनमा छन् । ‘कोर्स नसकिने भएपछि यो वर्ष जाडो बिदा भएन,’ बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले भने, ‘वार्षिक परीक्षालाई लक्ष्य गरी कक्षाकोठामै आगो बालेर पढाइरहेका हौं ।’

प्रकाशित : पुस २६, २०७७ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?