संसद् पुन:स्थापना कि निर्वाचन भन्नेमा देउवा र पौडेलको जुहारी

पौडेलले संविधान ल्याउने हामी जिउँदै छौ भन्दा देउवाको प्रतिवाद– 'म पनि जिउँदै छु । आफूमात्रै जिउँदै छु भन्ने ?'

काठमाडौँ — निर्वाचन कि संसद् पुन:स्थापना भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिकरूपमा जुहारी नै सुरु भएको छ । आइतबार एक कार्यक्रममा देउवाले कांग्रेस निर्वाचनको मैदानबाट नभाग्ने भनाई दोर्‍याए भने बरिष्ठ नेता पौडेलले संविधानमाथि गरिएको आघात नसच्चाईएसम्म निर्वाचनमा जानुको अर्थ नभएको बताए ।

संसद् पुन:स्थापना कि निर्वाचन भन्नेमा देउवा र पौडेलको जुहारी

देउवाले शनिबार पार्टीले आयोजना गरेको बिरोधसभामा समेत निर्वाचनको पक्षमा धारणा राखेका थिए । प्रधानमन्त्री केपी ओलीको पार्टी निर्वाचनको मैदानमा गइसकेको भन्दै देउवाले कांग्रेस कार्यकर्ताहरुलाई घरमा नबस्न आग्रह गर्दै निर्वाचनका लागि तयारी थाल्न निर्देशन दिएका थिए । सभापति देउवाको अघिल्लो दिनको भनाईलाई प्रतिवाद गर्दै पौडेलले संसद पुन:स्थापना भएर संविधान ट्रायकमा नआएसम्म निर्वाचनमा जानुको अर्थ नहुने भनाई राखे ।

'चुनावभन्दा संविधान र गणतन्त्र ठूलो हो । त्यसैले संसद् विघटनको कदम नसच्च्याइ चुनावको अर्थ छैन । संविधानलाई लिकमा ल्याएपछि चुनावमा जाउँला’ प्रजातान्त्रिक बिचार समजाले आयोजना गरेको कांग्रेस संस्थापक नेता सूर्यप्रसाद उपाध्यायको जीवनीमा आधारित पुस्तक विमोचन कार्यक्रममा बोल्दै पौडेलले भने, 'आज देशमा आएको यो भूमरीबाट मुलुकलाई बचाउन कांग्रेस नेतृत्वले आँट गर्ने कि नगर्ने ? आम जनताले हेरिरहेका छन् ।’

पौडेलले संविधान बनाउने आफूहरु जिउँदै रहेको भन्दा सभापति देउवाले 'म पनि जिउँदै छु, आफूमात्रै जिउँदै छु भन्ने ?' भन्दै पौडेलको भनाईप्रति प्रतिवाद गरेका थिए । त्यसपछि पौडलले 'तपाईं हामी सबै जिउँदै छौं' भन्दै संविधानलाई रछ्यानमा फाल्ने कुरा स्वीकार गरेर जान नसकिने बताए ।

देउवाले भने पार्टी चुनावाबट नभाग्ने आफ्नो भनाई आइतबार पनि दोहोर्‍याए । संसद् विघटनलाई असंवैधानिक हो भनेरै पार्टी आन्दोलनमा गएको भन्दै देउवाले अदालतले चुनावमा जाने निर्णय लिए मैदानबाट नभाग्ने बताए ।

'सबैभन्दा ठूलो त जनताको अदालत हो नि, कांग्रेस त कानून र अदालतको सम्मान गर्ने पार्टी हो । हामी किन भाग्ने ?' देउवाको भनाई थियो । उनले अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित पार्ने काम नगर्ने भनाईसमेत दोर्‍याएका थिए ।

कार्यक्रममा कांग्रेस महामन्त्री सशांक कोइराला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, समाजका अध्यक्ष डा.केदारनरसिंह केसीले पार्टीका संस्थापक नेता उपाध्यायमाथि अन्याय भएको भन्दै उनको पार्टीमा पुर्नस्थापना हुनुपर्ने माग गरेका थिए ।

प्रकाशित : पुस २६, २०७७ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?