प्रतिनिधिसभा विघटन असंवैधानिक भन्‍नेले पुन:स्थापनाका लागि संघर्ष गर्नुपर्छ : नेता कोइराला

देवनारायण साह

मोरङ — कांग्रेस नेता शेखर कोइरालाले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेले पुन:स्थापनाका लागि संघर्ष गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्‍नेले पुन:स्थापनाका लागि संघर्ष गर्नुपर्छ : नेता कोइराला

विराटनगरस्थित कोइराला निवासमा आइतबार पत्रकारसँगको कुराकानीमा उनले प्रमुख प्रतिपक्षी पार्टी कांग्रेसले प्रतिनिधिसभा विघटन असंवैधानिक भनिरहेको अवस्थामा यसलाई वैधानिक बनाउन पुन:स्थापनाको विकल्प नभएको बताएका हुन् ।

तर अहिले यो विषय सर्वोच्च अदालतमा रहेको र कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले अदालतको जे निर्णय आउँछ त्यसलाई पनि स्विकारेर अघि बढ्ने कोइरालाको भनाइ थियो । ‘सर्वोच्च अदालतले प्रधानमन्त्रीले गरेको निर्णय सदर गरेको अवस्थामा प्रजातान्त्रिक पार्टी कांग्रेस चुनावबाट भाग्न मिल्दैन,’ उनले भने, ‘तर चुनावको सुनिश्चिततासँगै कांग्रेसको महाधिवेशनको पनि सुनिश्चित हुनुपर्छ ।’

त्यसैले कांग्रेस अहिले प्रतिनिधिसभा पुन:स्थापना र सर्वोच्चको फैसला प्रधानमन्त्री अनुकूल आएको अवस्थामा वैशाख १७ गतेको चुनाव दुवै स्थितिका लागि तयार रहनुपर्ने र भदौअगावै पार्टी महाधिवेशन गराउने तयारी पनि थाल्नुपर्ने कोइरालाको भनाइ थियो ।

पार्टी सभापति शेरबहादुर देउवाले वैशाख १७ गते चुनाव हुने विश्वास व्यक्त गरिरहेकाले अब तीन महिनाजति मात्र बाँकी रहेको अवस्थामा चुनावको तयारीबारे निर्वाचन आयोगलाई सोध्नुपर्ने कोइरालाले बताए । ‘सर्वोच्च अदालतको फैसला कहिले आउने हो र नेकपाको दुवै समूहलाई निर्वाचन आयोगले चुनाव चिन्ह कहिले दिन्छ ?,’ उनले भने, ‘त्यसैले हरेक परिस्थितिसँग लड्न कांग्रेस कुनै दल वा समूहसँग नभई एक्लै संघर्ष गरिरहन्छ ।’

प्रतिनिधिसभा पुन:स्थापना नहुने र वैशाख १७ मा चुनाव पनि नहुने अवस्थामा मात्रै प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई फाल्न दलहरुको संयुक्त संघर्ष आवश्यक हुने कोइरालाको भनाइ थियो । ‘सर्वोच्चको फैसला वैशाख १७ अगावै चुनावको पक्षमा आयो र चुनाव हुन नसकेको अवस्थामा प्रधानमन्त्रीमा ओलीज्यू बसिरहने औचित्य समाप्त भएर जान्छ,’ उनले भने, ‘वैशाख १७ सम्म पुन:स्थापना र चुनाव दुवैमध्ये कुनै हुन सकेन भने त्यहाँबाट अघि बढ्ने व्यवस्था संविधानमा छैन ।’ त्यो परिस्थितिमा संविधानसभाबाट निर्माण भएको संविधान विफल भएर मुलुक अँध्यारो बाटोमा फस्ने कोइरालाले बताए ।

नेकपाको समूह विभाजनले प्रदेश सरकारहरु पनि समस्यामा परेको उनले बताए । धेरै प्रदेशमा सरकार टिकाउन वा बनाउन कांग्रेसको साथ आवश्यक रहेको उनको भनाइ छ । अहिलेको परिस्थितिमा कांग्रेस तटस्थ भएर बस्नु आवश्यक भएको कोइरालाले बताए ।

प्रकाशित : पुस २६, २०७७ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?