१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

‘पारिवारिक बेमेल’ पछि हत्याको आशंका

शव देखेको १० घण्टापछि प्रहरीलाई खबर
परिवारलाई जानकारी नदिई शव उठाएको केटापक्षको आरोप
मातृका दाहाल

काठमाडौँ — बानेश्वरका ३३ वर्षीय उमेश केसी आउँदो माघ १ गते अमेरिका जाने तयारीमा थिए । २०७२ वैशाख २८ गते अध्ययनका क्रममा अमेरिका पुगेका उनी तीन महिनाको बिदा लिएर दसैंको फूलपातीका दिन गत कात्तिक ७ गते नेपाल आएका थिए । गएको असोजताका अमेरिकी ग्रिनकार्ड पाएपछि उनी काठमाडौंमा रहेकी पत्नी सुदीक्षा गिरीलाई पनि प्रक्रिया पूरा गरेर लैजानेबारे सल्लाहमा थिए ।

बिदाको समय सकिन लागेपछि पछिल्लो एक सातायता उमेश पारिवारिक जमघट र भेटघाटमै व्यस्त रहे । यही क्रममा मंगलबार दाजु हिमेश केसीसहित बानेश्वरको एक रेस्टुराँमा बसेर पारिवारिक जमघट गरे । त्यही क्रममा उनले शनिबार आफू साथीभाइसँग व्यस्त रहने र छिट्टै अमेरिका प्रस्थान गर्ने जानकारी गराएका थिए । यही कुरा भनेर मंगलबार अपराह्न ४ बजेतिर दाजु हिमेशसँग छुट्टिएका उमेश त्यसपछि अस्थायी बसोबास गरिरहेको टोखा नगरपालिका–३ स्थित ग्रान्डी भिला हाउजिङतर्फ लागे । पहिले ललितपुर र पछि बानेश्वर स्थायी बसोबास रहे पनि परिवारको मञ्जुरीबेगर ६ वर्षअघि सुदीक्षासँग विवाह भएपछि उमेश र परिवारबीच सम्बन्ध चिसिएको थियो । परिवारको असहमति रहेकाले उमेश अमेरिका जाँदा सुदीक्षा कहिले माइत र कहिले कोठामै बस्थिन् । त्यही कारण उमेशले ससुरालीको आडभरोसामा टोखामा कोठा खोजेर राखेका थिए ।

पारिवारिक स्रोतका अनुसार उमेश टोखा क्षेत्रमै छिट्टै घर किन्ने तयारीमा थिए । यसको चाँजोपाँजो पनि ससुराली पक्षले नै मिलाइरहेको थियो । सुर्खेत स्थायी घर भएका उमेशका ससुराली गिरी परिवारको घर पनि टोखामै छ । शुक्रबार मध्यरात क्यानडाबाट आएको एउटा फोनले भने केसी परिवारलाई छाँगाबाट खसेजस्तो बनायो । क्यानडाबाट माइजू गीता कार्कीले हिमेशलाई सम्पर्क गरी उमेशको हत्या भएकोबारे जानकारी गराएकी थिइन् । गीताको फोन आउँदा रातको ३ बजिसकेको थियो । हिमेश परिवारका सदस्यलाई यसबारे जानकारी गराएर महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुगे । महानगरीय प्रहरी वृत्त महाराजगन्जसँग पनि बुझे । माइजूले भनेअनुसार उमेशको बसेकै कोठामा हत्या भएको रहेछ । वृत्तका डीएसपी रोशन खड्काले मसला पिस्ने लोहोरोले टाउकोमा हानेर उमेशको हत्या गरेको र पछि सुदीक्षाले झुन्डिएर आत्महत्या गरेको आशंका रहेको बताएका छन् ।

प्रहरीलाई शुक्रबार राति ८ बजेर ४५ मिनेटमा खबर आएको र त्यसलगत्तै ५ मिनेटमा घटनास्थलमा प्रहरी पुगेको उनको भनाइ छ । परिवारका सदस्यको अनुपस्थितिमा राति नै घटनाको मुचुल्का उठाएर दम्पतीको शव पोस्टमार्टमका लागि अस्पताल पुर्‍याएकामा केसी परिवारले असन्तुष्टि जनाएको छ । प्रहरीले भने सुदीक्षाका भाइ अमित गिरी, दिदी शर्मिला र स्थानीय जनप्रतिनिधिको रोहबरमा मुचुल्का बनाएर पोस्टमार्टमका लागि ल्याएको बताएको छ । केसी परिवारले भने घटनामा तेस्रो पक्षको पनि संलग्नता रहेको आशंका गरेको छ ।

प्रहरीलाई किन ढिलो खबर ?

मंगलबार बानेश्वरमा भएको जमघटपछि उमेशको घरका सदस्यसँग सम्पर्क थिएन । शनिबार भेट्ने गरी छुटेका उनी त्यसपछि टोखा गएका थिए । बुधबार उमेश र पत्नी सुदीक्षासँग शर्मिला गिरीको सम्पर्क भएको थियो । बिहीबार भने सुदीक्षासँग पटकपटक फोन सम्पर्क गर्दा पनि नलागेको बयान शर्मिलाले प्रहरीलाई दिएकी छन् ।

शर्मिलाले प्रहरीसँग भनेकी छन्, ‘बिहीबार बहिनीसँग दिनभर सम्पर्क गर्न खोजें, भाइबरमा पनि कल गरें तर लागेन । कोठामै गएर कुरा गर्नुपर्‍यो भन्ठानें, भोलिपल्ट बिहान करिब ११ बजेतिर कोठामा पुग्दा भित्रबाट ढोका लगाइएको रहेछ, भान्सा कोठातर्फको ढोका ठेल्दा चुकुल खुस्कियो,

त्यसपछि भित्र पसें अनि बहिनी झुन्डिएको अवस्था र ज्वाइँको शव गन्हाएको अवस्थामा भुइँमा ढलेको देखेपछि आत्तिएर बाहिर निस्किएँ ।’

त्यसपछि आफू आत्तिँदै टोखास्थित घर पुगेर आमालाई सबै कुरा बताएको उनले जिकिर गरेकी छन् । अमेरिकामा भएका केही मानिसलाई पनि खबर गरेको उनको भनाइ छ । उमेश दम्पतीको हत्याबारे केसी परिवारलाई किन खबर गरिएन भन्नेमा प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान भइरहेको जनाएको छ । महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार शर्मिलाले शव देखेको करिब १० घण्टापछि मात्रै खबर गरेको, मृतकका परिवारलाई जानकारी नगराएको, सुदीक्षा गिरीले आत्महत्या गरेको वा हत्या भएको लगायत विषयमा सूक्ष्म रूपमा अनुसन्धान भइरहेको बताए ।

बहिनी र ज्वाइँबीच पहिलेदेखि नै पारिवारिक विवाद हुने गरेको पनि शर्मिलाले बताएकी छन् । उमेशका दाजु हिमेशले भाइबुहारीको हत्यामा तेस्रो पक्षको पनि संलग्नता हुन सक्ने आशंका गरे । ‘सुदीक्षाले भाइको हत्या गरेर आत्महत्या गरिन् भन्ने पत्यार लाग्दैन, कतै आर्थिक कारण त घटना घटाइएन भन्ने हाम्रो आशंका छ,’ उनले भने, ‘यहीअनुसार नै प्रहरीमा जाहेरी दिएका छौं, घटनाबारे पहिले नै थाहा पाएर पनि गिरी परिवारले हामीलाई किन जानकारी गराएनन् ?’ एसएसपी थापा केसी दम्पतीको मृत्युको कारण आवेग र निराशासँग पनि जोडिएको हुन सक्ने आशंका गर्छन् ।

बर्सेनि ६ सयभन्दा बढीको हत्या

२०७७ भदौ २६ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ निकोसेरास्थित एक घरमा ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया सम्झना र उनीहरूका १५ वर्षीय छोरा सुशान्तको शव घरमा फेला पर्‍यो । सोही घरमा पालेको कुकुर पनि मृत अवस्थामा भेटियो । प्रहरी अनुसन्धानले सुदीपले श्रीमती, छोरा र कुकुरको हत्या गरी आत्महत्या गरेको निष्कर्ष निकाल्यो । २०७६ माघ २७ गते ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी ४९ वर्षीया मुना र घरेलु कामदार २२ वर्षीय विजय चौधरी मृत अवस्थामा भेटिए । विजयले मुनाको हत्या गरी डोरीले पासो लगाएर आत्महत्या गरेको अनुसन्धानको निष्कर्ष निस्कियो ।

२०७५ भदौ ४ गते पूर्वराजदूत ८० वर्षीय केशव झा बबरमहलस्थित निवासमै मृत भेटिए । त्यस घटनामा पनि घरेलु कामदार सानुकान्छा तामाङलाई कसुरदार देखाएर मुद्दा दायर गरियो । तामाङलाई काठमाडौं जिल्ला अदालतको २०७६ भदौ २५ को आदेशमा पुर्पक्षका लागि जेल पठाइयो । यस्तै, २०७७ साउन २५ गते चितवन घर भई काठमाडौं बस्ने कल्पना मुडवरी पौडेलले छोरीको सहयोगमा दाङका कृष्णबहादुर बोहरालाई नशालु पदार्थ सेवन गराई लठ्याएर गोंगबुमा बीभत्स हत्या गरेकी थिइन् । टाउको र खुट्टा काटेर हत्या गरी घरबाट केही पर सार्वजनिकस्थलमा फ्याँकेर चितवन पुगेकी पौडेललाई २ दिनपछि प्रहरीले पक्राउ गरेको थियो ।

आफन्त र चिनेजानेकाबाटै भएका यी बीभत्स हत्यालाई आधार मान्ने हो भने यस्ता ९० प्रतिशत घटनामा बाहिरी पक्षको संलग्नता नदेखिने अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् । ‘एकाधबाहेक कर्तव्य ज्यानसम्बन्धी धेरैजसो घटनामा परिवारकै सदस्यको संलग्नता देखिने गरेको छ,’ महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले भने, ‘आर्थिक विवाद, पारिवारिक बेमेल र सनक तथा आवेग त्यसको मुख्य कारण देखिन्छ ।’

प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ६ वर्षको तथ्यांकमा बर्सेनि परिवार, चिनेजानेका मानिस र तेस्रो पक्षबाट करिब ६ सयको हत्या भएको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा ५ सय ५५ जनाको घरेलु हतियार, चिर्पट र अन्य औजार प्रहारबाट हत्या भएको छ । आव २०७५/७६ मा ६ सय ५९, २०७४/७५ मा ६ सय २८, २०७३/७४ मा ६ सय १६, २०७२/७३ मा ६ सय र २०७१/७२ मा ६ सय ६ जनाको हत्या हतियार/औजार प्रहारबाट भएको छ । एसएसपी थापा यस्ता अपराध गर्ने व्यक्तिमा आवेग, उत्तेजना, चेतनाको कमी, आर्थिक विवाद, प्रतिशोध नियन्त्रण गर्न नसक्दा त्यसले हत्या जस्तो बीभत्स रूप लिने गरेको बताउँछन् ।

प्रकाशित : पुस २६, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?