१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘प्रधानमन्त्रीद्वारा सर्वसत्तावाद र निरंकुशता लाद्‍ने प्रयास’

प्रधानमन्त्री ओलीलाई ३० दिनमा सडकबाटै फाल्ने नेता भट्टराईको चेतावनी
देवनारायण साह

मोरङ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई धोका दिई प्रतिक्रान्ति गरेर सर्वसत्तावाद र निरंकुशता लाद्न खोजेको आरोप लगाएका छन् ।

‘प्रधानमन्त्रीद्वारा सर्वसत्तावाद र निरंकुशता लाद्‍ने प्रयास’

जसपाले विराटनगरमा शनिबार आयोजना गरेको जनप्रदर्शन तथा विरोधसभामा भट्टराईले प्रधानमन्त्री ओलीलाई ३० दिनमा सडकबाटै फाल्ने उद्घोष गरेका छन् ।

जननिर्वाचित प्रधानमन्त्रीले जनतालाई धोका दिएर राजा महेन्द्रको बाटोमा अगाडि बढेर प्रतिक्रान्ति गरेको भट्टराईले आरोप लगाए । ३० वर्ष लगाएर राजा महेन्द्र फालेका नेपालीले ३० दिन नभए ३० सातामा प्रधानमन्त्री ओलीको प्रतिगमनलाई फालेर अहिलेसम्म प्राप्त उपलब्धिको रक्षा गर्दै अघि बढ्ने उनको भनाइ थियो । ‘अहिलेसम्मको प्राप्त उपलब्धि सडकबाटै पुनस्र्थापित गरेपछि संविधानको अपूर्णता संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली, नागरिकतालगायतका विषयलाई संशोधन गरेर अगाडि जान्छौं,’ उनले भने, ‘अहिले प्रतिगमन सच्चिन संसद् पुनस्र्थापना गर्नुपर्छ र यो विषयमा सर्वोच्च अदालतको निर्णय के आउँछ, पर्खेर बसेका छौं, होइन भने जनताले आफ्ना अधिकार छाड्दैनन् ।’ प्रधानमन्त्री ओलीको निरंकुश र फासिस्ट प्रवृत्तिलाई परास्त गर्न भट्टराईले सबै दललाई आग्रह गरे । ‘नेकपा आधिकारिकताको टुंगो लागेको छैन । दाहाल–नेपाल समूह अहिले पनि प्रधानमन्त्री ओली सच्चिएर आउने आशमा छ तर यसबाट केही हुनेवाला छैन,’ उनले भने, ‘दाहाल–नेपाल समूहले छिट्टै आफ्नो कित्ता प्रस्ट गरोस् ।’

उनले कांग्रेसलाई ढुलमुले नीति त्यागेर आन्दोलनमा सँगै आउन आग्रह गरे । ‘कांग्रेसले चुनाव जित्छु भन्नु त्योभन्दा ठूलो भ्रम अरू केही पनि होइन । किनकि बीपी कोइरालाले पञ्चायतको र गिरिजाप्रसाद कोइरालाले राजा महेन्द्रको चुनावमा भाग लिएका थिएनन्,’ उनले भने, ‘त्यसैले कांग्रेसका नेताहरुले इतिहास सम्झिऊन् । ओलीसँग सती जाने काम नगरुन् ।’

कार्यकारी अध्यक्ष यादवले संविधानमा हुँदै नभएका अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक र प्रतिगामी कदम भएको बताए । ‘असंवैधानिक कदम खारेज गरी प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाउनु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘प्रधानमन्त्री ओलीले संसद् भंग गरेर चुनाव गराउन नभई सर्वसत्तावाद र निरंकुशता लाद्ने दुष्प्रयास गरेका छन् ।’

कामचलाउ सरकार भएर पनि मन्त्रिपरिषद् विस्तार गर्नुले प्रधानमन्त्री ओलीको नियतमा खोट रहेको भन्दै यादवले संघीयता, लोकतन्त्र, गणतन्त्र, समावेशिता उल्लेख भएको संबिधान जोगाउन प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सडक संघर्षमा उत्रिनुपरेको बताए । प्रदेशसभा र स्थानीय तहलाई खारेज गर्ने, संकटकाल लगाउने तथा सेना परिचालन गर्नेजस्ता प्रधानमन्त्री ओलीको धम्कीले उनैलाई समाप्त पार्ने यादवको भनाइ छ । ‘न्यायालयमा पनि प्रधानमन्त्री ओलीले सेटिङ गरेको हल्ला छ, सेटिङकै आधारमा जनताको अधिकार खोस्ने र संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशितामाथि प्रहार भयो भने जनअदालतमा जान्छौं,’ उनले भने, ‘जनताको अदालत जनसंघर्षबाटै विरोधी र प्रतिगमनकारी शक्तिलाई फाल्छौं ।’ प्रतिगमनलाई परास्त गर्न कांग्रेसलाई संयुक्त आन्दोलनमा आउन आह्वान गर्दै उनले थपे, ‘प्रधानमन्त्री ओलीको दुष्कर्मलाई साथ दिए कांग्रेसको इतिहासमाथि प्रश्न उठ्छ ।’

प्रकाशित : पुस २५, २०७७ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?