कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा तिवारी

सुरज कुँवर

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा नागरिक उड्डयन प्राधिकरणले प्रताबबाबु तिवारीलाई पठाएको छ । एयर ट्राफिक कन्ट्रोलर पृष्ठभूमिका तिवारी प्राधिकरणमा मंसिर १७ गतेको संचालक समिति बैठकको निर्णयबाट १२औं तहमा बढुवा भएका उपमहानिर्देशक हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा तिवारी

३२ वर्ष सेवा अवधि पूरा गरी उपमहानिर्देशक देवेन्द्र केसी मंसिर ३ गते निवृत्त भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक देवचन्द्रलाल कर्ण निमित्त महाप्रबन्धक तोकिएका थिए । सय हाराहारी निकायसँग सहकार्य गर्ने अन्तर्राष्ट्रिय विमानस्थल डेढ महिनादेखि प्रमुखविहीन थियो । तिवारीले शुक्रबार प्राधिकरणबाट महाप्रबन्धको पत्र पाएको बताए ।

तिवारी यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विमानस्थल संचालन विभागका निर्देशक थिए । लुक्ला, पोखरा र नेपालगन्ज विमानस्थलको प्रमुखको जिम्मेवारी पनि सम्हालिसकेका लमजुङका तिवारीले एयर ट्राफिक कन्ट्रोलरका भई भरतपुर, पोखरा, विराटनगर, जोमसोम र रामेछापमा काम गरेका छन् ।

२४ वर्षअघि प्राधिकरणमा प्रवेश गरेका तिवारीले नेपालको आफ्नो कार्यकालमा एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई प्रशंसा र गर्व गर्नलायक संस्था बनाउने कार्ययोजना प्राधिकरणमा बुझाएका छन् । आफ्नो २ वर्षको कार्यकालमा विमानस्थलको व्यवस्थापकीय कार्य प्रणाली सुधार्ने, यात्रुहरुलाई डिजिटल तथा स्तरीय सेवा र सुविधा प्रदान गर्ने, विमानस्थलमा डिजिटलका साथै स्मार्ट प्रविधि भित्र्याउनेलगायत कार्ययोजना बनाएको उनले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१९ मा अन्तर्राष्ट्रियतर्फ ४१ लाख ३८ हजार यात्रु आवागमन भएको थियो भने आन्तरिकतर्फ ३१ लाख ८८ हजार यात्रु आवागमन भएको थियो । सन् २०२० मा भने कोभिडका कारण करिब ६५ प्रतिशत यात्रु आवागमन घटेको छ ।

प्रकाशित : पुस २४, २०७७ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?