प्रधानमन्त्री ओली धनगढीमा, सुरक्षा व्यवस्था कडा

भ्रमणको जानकारी नगराइएकाले स्वागतमा गएनन् मुख्यमन्त्री भट्ट
अर्जुन शाह

धनगढी — प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार आयोजना हुन लागेको नेकपाको पार्टी कार्यक्रमलाई सम्बोधन गर्न धनगढी आइपुगेका छन् । यतिबेला धनगढी र आसपासको सुरक्षा व्यवस्थालाई अत्यन्त कडा पारिएको छ ।

प्रधानमन्त्री ओली धनगढीमा, सुरक्षा व्यवस्था कडा

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टका अनुसार व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘एकीकृत सुरक्षा व्यवस्था गरेर नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान र आवश्यकता अनुसार नेपाली सेना परिचालन भएको छ,’ प्रवक्ता विष्टले भने ‘कार्यक्रम स्थललाई सुरक्षित राख्ने र कुनै पनि प्रकारका विरोध हुन नदिने रणनीति छ ।’

प्रधानमन्त्री ओली धनगढी पुग्दा गेटा विमानस्थलदेखि धनगढीसम्मको एकतर्फी सडक पूरै खाली गराइएको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिमार्फत सुरक्षा व्यवस्था मिलाइएको छ । तर पनि बिहानै दाहाल–नेपाल निकट विद्यार्थी संगठनहरुले टायर बालेर प्रधानमन्त्रीको विरोध जनाएका छन् ।

धनगढीमा पुगेलगत्तै उनले नेता कार्यकर्तासँग भेटघाट गरिरहेका छन् । सुदूरपश्चिममा ओली र दाहाल–नेपाल पक्षले बेग्लाबेग्लै कार्यक्रमको आयोजना गरिरहेका छन् । यही सन्दर्भमा प्रधानमन्त्री ओलीले धनगढीमा आयोजना हुन लागेको कार्यक्रमलाई राजधानी काठमाडौं बाहिर पहिलो रोजाइमा पारेका हुन् । मौसमका कारण बिहानको तालिकामा ढिलाइ भएपछि श्री एयरलायन्सको जहाजमा १२ बजे धनगढी आएका प्रधानमन्त्री ओलीले कार्यकर्ता भेटघाट र खुलामञ्चमा हुने पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

स्वागतमा गएनन् मुख्यमन्त्री

धनगढी आएका प्रधानमन्त्री ओलीलाई स्वागत गर्न उनी निकटका नेता कार्यकर्ताहरु धनगढी विमानस्थलमा पुगे पनि मुख्यमन्त्री त्रिलोचन भट्ट भने गएनन् । विगतमा प्रधानमन्त्रीको स्वागतका लागि प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्रीहरु उपस्थित हुने भए पनि यो पटक सरकारका प्रतिनिधिहरु देखिएनन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कुनै पनि जानकारी नदिइएकोले प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल नगइएको मुख्यमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । ‘पार्टी विभाजनउन्मुख रहेका बेला आफू निकटका नेता कार्यकर्तालाई भेट्ने राजनीतिक कार्यक्रम भएकाले मुख्यमन्त्री कार्यालयलाई जानकारी नदिइएको होला,’ मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले भने ।

यसैबीच दाहाल–नेपाल समूहका सुदूरपश्चिम इन्चार्ज भीम रावलले एक प्रेस विज्ञप्ति जारी गर्दै ओली गुटले सिर्जना गर्न खोजेका कुनै पनि भ्रममा नपर्न भनेका छन् ।

प्रकाशित : पुस २४, २०७७ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?