आधिकारिकता पर्खंदै नेकपा कार्यकर्ता

केन्द्रस्तरका सबैजसो नेताहरुले कित्ता क्लियर गरिसके पनि जिल्ला र पालिकास्तरका धेरैजसो नेता–कार्यकर्ता जसले सूर्य चिह्न पाउँछ, उतैतिर लाग्ने गरी कुरिरहेका छन् ।
प्रदेश ब्युरो

धनगढी — नेकपा विभाजनको असर केन्द्र, प्रदेश र जिल्ला हुँदै वडा तहसम्म पुगेको छ । कानुनी रूपमा आधिकारिक विभाजन भइनसके पनि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहबीच आफ्नो पक्षमा कार्यकर्ता तान्ने अभियान भने तीव्र भएको छ ।

आधिकारिकता पर्खंदै नेकपा कार्यकर्ता

दुवै समूहले आफ्नै पकड भएको दाबी गरिरहेका छन् । पार्टीको माथिल्लो तहमा पुगेका नेताहरू समूहमा खुले पनि तल्लो तहका नेता–कार्यकर्ता भने निर्वाचन आयोगबाट पार्टी आधिकारिकता पर्खिरहेका छन् ।

बझाङमा समुदायस्तरमा प्रभाव राख्ने नेकपा कार्यकर्ताको ठूलो हिस्सा जता सूर्य चिह्न उतै समर्थन गर्ने मानसिकताका साथ पर्ख र हेरको अवस्थामा देखिएका छन् । जिल्लाबाट पार्टीको माथिल्ला पदमा रहेकाहरूले भने कित्ता क्लियर गरिसकेका छन् । विघटित प्रतिनिधिसभा सदस्य भैरव सिंह, आशाकुमारी विक, संविधानसभा सदस्यहरू मानप्रसाद खत्री, अफिलाल ओखेडा, जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर खड्का र अनेरास्ववियुका केन्द्रीय संयोजक ऐन महरलगायतले ओली समूहको खुलेरै समर्थन गरिरहेका छन् ।

पूर्ववनमन्त्री भानुभक्त जोशी, संविधानसभा सदस्य जनकबहादुर बुढा, नेकपा केन्द्रीय सदस्य देवराज रेग्मी, नेकपा जिल्ला कमिटी अध्यक्ष मीनबहादुर कुँवरलगायत दाहाल–नेपाल समूहमा खुलेका छन् ।

केन्द्रस्तरका सबैजसो नेताहरूले आफ्नो कित्ता क्लियर गरिसके पनि जिल्ला कमिटी र पालिकास्तरका धेरैजसो नेता–कार्यकर्ताहरू पार्टी आधिकारिकताको पर्खाइमा रहेको नेकपा बझाङका कार्यालय सचिव सुरतबहादुर सिंह बताउँछन् । ‘अहिले पनि नेता–कार्यकर्ताको ठूलो हिस्सा कतैतिर पनि खुलेको छैन । नखुलेका साथीहरूको जोड अहिले पनि पार्टी एकता हुनुपर्छ भन्नेमै छ,’ उनले भने, ‘पार्टी एकता भएन भने जुन समूहले आधिकारिकता पाउँछ, उतै लाग्ने खालको मानसिकता उनीहरूमा देखिन्छ ।’ उनले दाहाल–नेपाल समूहमा खुलेका केन्द्रीय नेताहरूसमेतको सहभागितामा केही दिनअघि भएको जिल्ला कमिटी बैठकमा १ सय ३५ जनामध्ये ९५ सदस्य उपस्थित भए पनि धेरैजसोले कुनै समूहको खुलेर समर्थन नगरेको बताए ।

दाहाल–नेपाल समूहमा रहेका जिल्ला कमिटी अध्यक्ष मीनबहादुर कुँवरले जिल्ला कमिटीको बहुमत आफूतिर रहेको दाबी गरे पनि पार्टीको आधिकारिकताको पर्खाइमा १५ प्रतिशत जति नेता–कार्यकर्ता रहेको बताए । ‘बहुमत नेता–कार्यकर्ता हाम्रो पक्षमा खुलिसकेको भए पनि १०/१५ प्रतिशत जसले आधिकारिकता पायो, उतै लाग्ने मानसिकतामा देखिन्छ,’ उनले भने । दाहाल–नेपाल समूहले भने जस्तो जिल्लामा उनीहरूको बहुमत नरहेको बताउँदै ओली समूहका केन्द्रीय सदस्यसमेत रहेका संविधानसभा सदस्य अफिलाल ओखेडाले पनि ठूलो हिस्सा आधिकारिकताको पर्खाइमा रहेको स्विकारेका छन् ।

बाजुराका अधिकांश नेता–कार्यकर्ता भने खुलिसकेका छन् । विभाजन हुनुपूर्व तीन जना केन्द्रीय सदस्य रहेको बाजुरामा कर्णबहादुर थापा र लालबहादुर थापा ओली समूहमा खुलेका छन् भने सुदूरपश्चिम सरकारका आन्तरिक मामिलामन्त्री प्रकाश शाह दाहाल–नेपाल समूहमा खुलेका छन् । १ सय ५१ सदस्य रहेको जिल्ला कमिटीमा आफ्नो बहुमत रहेको ओली पक्षमा खुलेका जिल्ला अध्यक्ष कालीबहादुर शाहीले बताए । दाहाल–नेपाल समूहमा रहेका पूर्वराज्यमन्त्री कर्णबहादुर विकले शाहीले भनेजस्तै बहुमत ओली पक्षमा नरहेको दाबी गरे । ‘माथिका नेताहरू बढी ओली समूहमा गएको हुनाले धेरैको बुझाइ त्यो भएको हुन सक्छ, ग्राउन्डमा हाम्रै बहुमत छ,’ उनले भने ।

कञ्चनपुरमा प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरू पनि आफ्नो गुटमै खुलेरै लाग्न थालेका छन् । अधिकांश आफ्नो गुटमा खुलेर लागे पनि कतिपय अहिले पनि पर्ख र हेरकै स्थितिमा रहेका छन् । कञ्चनपुरमा जनप्रतिनिधि र जिल्ला कमिटीमा दाहाल–नेपाल समूह नै बलियो देखिन्छ । नौ पालिकामध्ये सात वटाको प्रमुखमा नेकपामा नेताहरू छन् । तीमध्ये पनि दाहाल–नेपाल समूहमा ४ स्थानीय तहका प्रमुख प्रस्ट रूपमा देखिएका छन् । ओली समूहमा अहिलेसम्म दुईवटा स्थानीय तहका प्रमुख मात्रै देखिएका छन् ।

साविक एमालेबाट निर्वाचित भएका पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापा र वेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द दाहाल–नेपाल समूहमा छन् । यसैगरी साविक माओवादी केन्द्रबाट निर्वाचित भएका बेलौरी नगरपालिकाका प्रमुख पोतीलाल चौधरी र लालझाडी गाउँपालिकाका प्रमुख मदनसेन बडायक पनि दाहाल–नेपाल समूहमै देखिएका छन् ।

ओली समूहमा साविक एमालेबाट निर्वाचित भएका बेलडाँडी गाउँपालिकाका प्रमुख धनबहादुर थापा र कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमाल देखिएका छन् । साविक एमालेबाट निर्वाचित भएका भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्ट अहिलेसम्म कुनै पनि समूहमा खुलेर लागेका छैनन् ।

एमालेबाटै निर्वाचित भएका जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ ओली समूहमै लागेका छन् भने उपप्रमुख सानुकुमारी बुढथापा दाहाल–नेपाल समूहमा देखिएकी छन् । नेकपाको जिल्ला कमिटीका अधिकांश सदस्यहरू दाहाल–नेपाल समूहमा देखिएका छन् । यद्यपि अध्यक्ष वीरबहादुर थापा भने ओली समूहमा देखिएका छन् । ‘स्थानीय जनप्रतिनिधिले पनि गुट क्लियर गरिसकेका छन्, अधिकांश दाहाल–नेपाल समूहमै छन्,’ वेदकोट नगर प्रमुख अशोक चन्दले भने ।

कञ्चनपुरबाट प्रदेशसभामा निर्वाचित भएकाहरू पनि एक जनाबाहेक सबै दाहाल–नेपाल समूहमै देखिएका छन् । साविक माओवादी केन्द्रबाट क्षेत्र नं. २ क बाट निर्वाचित भएका महेशदत्त जोशी मात्रै ओली समूहमा देखिएका छन् । ६ जना प्रदेशसभा सदस्यमध्ये ५ जना दाहाल–नेपाल समूहमा छन् । ‘अहिले हाम्रो समूहमा आउने नेता–कार्यकर्ताहरू बिस्तारै खुल्दै गएका छन्,’ ओली समूहमा रहेका जिल्ला समन्वय समिति प्रमुख फैरु तामाङले भने ।

कार्यकर्ता आफूतिर तान्न डडेलधुरामा पनि दुवै समूह सक्रिय छन् । डडेलधुरामा झन्डै ७० प्रतिशत कार्यकर्ता दाहाल–नेपाल पक्षमा देखिएका छन् । अध्यक्ष तारा जोशीसहित जिल्ला कमिटीमा ७० प्रतिशत दाहाल–नेपाल समूहमा र ३० प्रतिशत प्रधानमन्त्री ओली समूहमा रहेको देखिएको छ । ‘जिल्लामा हामी कमजोर देखिए पनि समग्र सुदूरपश्चिममा भने बहुमतमा छौं,’ ओली समूहका नेता जिविस पूर्वसभापति गजेन्द्र शाहीले भने । उनले जिल्लामा ७०/३० को आँकडा रहेको स्वीकार गरे । डडेलधुराबाट विघटित प्रतिनिधिसभामा रहेका समानुपातिक सांसद नीरा जैरु दाहाल–नेपाल समूहमा छिन् ।

राष्ट्रिय सभामा रहेका दुई जनामध्ये चक्र स्नेही ओली पक्षमा र महेश महरा दाहाल–नेपाल पक्षमा देखिएका छन् । प्रदेशसभामा निर्वाचित सांसद पठानसिंह बोहरा ओली समूहमा छन् भने समानुपातिक सांसद कुन्ती जोशी भने दाहाल–नेपाल पक्षमा छिन् । जिल्लाभित्र निर्वाचित जनप्रतिनिधिमध्ये पनि अधिकांश दाहाल–नेपाल समूहमा छन् । अमरगढी नगरपालिका प्रमुखबाहेक नेकपाबाट जितेका अरू सबै प्रमुख/उपप्रमुख भने दाहाल–नेपाल समूहमा छन् ।

प्रकाशित : पुस २४, २०७७ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?