कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

काठमाडौं महानगरका विद्यालय माघ १ गतेबाट खुल्ने

जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर विद्यालय खोल्न महानगरको अनुमति
गणेश राई

काठमाडौँ — काठमाडौं महानगरपालिकाले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ । चालु शैक्षिक सत्र तीन महिनामात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने टुंगो गरेको हो ।

काठमाडौं महानगरका विद्यालय माघ १ गतेबाट खुल्ने

‘महानगरले माघ १ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ,’ महानगरपालिकाका प्रवक्ता तथा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले कान्तिपुरसँग भने, ‘कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर विद्यालय खुल्न/खुलाउन दिइनेछ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार महानगरका विद्यालयले गत असारबाट अनलाइन कक्षा चलाइरहेका छन् । अधिकांश विद्यालयले अनलाइन कक्षा चलाए पनि भौतिक कक्षाजस्तो प्रभावकारी हुन नसकेको शिक्षक तथा अभिभावकले बताउँदै आएका छन् । महानगरले आफू मातहतको मेट्रो एफएममार्फत रेडियो कक्षासमेत सञ्चालन गरिरहेको छ ।

कतिपय विद्यालयले भने महानगरको बन्देजका बाबजुद भौतिक कक्षा चलाइरहेका छन् । ती विद्यालयले व्यवस्थापन समिति, शिक्षक र अभिभावकको साझा पहलमा पठनपाठन गरेको जनाएका छन् । ‘अभिभावकको अनुरोधमा मंसिर १ बाटै भौतिक कक्षा सञ्चालन गरिरहेका छौं,’ वडा ६ को बौद्ध महांकालस्थित जनकल्याण माविकी प्रधानाध्यापक कुमारीकमला राईले भनिन्, ‘महानगरले औपचारिक कक्षा खोल्न नभनेकाले विद्यार्थीलाई युनिफर्मबिनै उपस्थित गराउँदै आएका छौं । जाडोका बेला यसरी न्यानो लुगा लगाउन दिनु ठीक भएको ठानेका छौं । दिनमा चारवटा पिरियड पढेर फर्किन्छन् ।’

राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एनप्याब्सन) का महासचिव सुवास न्यौपानेले अनलाइन कक्षा सुचारु रहेको बताए । ‘काठमाडौं महानगरपालिकाभित्रका अधिकांश विद्यालयले अनलाइन कक्षा सुचारु राखेका छौं,’ वडा ६ चाबहिलस्थित एपेक्स लाइफ स्कुलका कार्यकारी निर्देशकसमेत रहेका न्यौपानेले भने, ‘सबै विद्यालयले स्वास्थ्य मापदण्ड कायम गरेर भौतिक रूपमै कक्षा चलाउनु उत्तम हुने हाम्रो ठम्याइ छ ।’

शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकअनुसार काठमाडौं जिल्लामा १ हजार ४ सय १५ विद्यालय छन् । तिनमा १ हजार १ सय ४० निजी र २ सय ७५ सामुदायिक छन् । महानगरपालिकाभित्र ९३ सामुदायिक र ६ सय ४२ संस्थागत (निजी) विद्यालय रहेको इकाइ प्रमुख नन्दलाल पौडेलले जनाएका छन् । उपत्यकाका अन्य नगरपालिकाले पनि भौतिक कक्षा सञ्चालनका निम्ति अनुमति दिइसकेका छन् ।

प्रकाशित : पुस २३, २०७७ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?