पाइलट तथा उड्डयनकर्मीलाई जहाजमा फोटो–भिडियोग्राफीमा रोक

सुरज कुँवर

काठमाडौँ — उडान सुरक्षामा असर पर्ने कारण देखाउँदै नागरिक उड्डयन प्राधिकरणले नियमित उडानमा संलग्न हुने नेपाली वायुसेवाका सबै साना ठूला विमानका चालक लगायत उड्डयनकर्मीलाई उडानका क्रममा फोटो तथा भिडियोग्राफी गर्न रोक लगाएको छ ।

पाइलट तथा उड्डयनकर्मीलाई जहाजमा फोटो–भिडियोग्राफीमा रोक

प्राधिकरण मातहतको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले पुस १५ गते उडान सञ्चालन मापदण्ड संशोधन गर्दै उडानका क्रममा वायुयानको चालक कक्ष (ककपिट) तथा बोर्डमा पाइलट, एयर होस्टेस, इन्जिनियर, टेक्निसियन तथा फ्लाइट डिस्प्याचर र ककपिटको जम्पसिटमा बस्ने तेस्रो चालक वा प्राविधिकलाई लागू हुने गरी कुनै पनि प्रकारका यन्त्र तथा उपकरणबाट फोटो र भिडियो नखिच्न कडाइ गरेको हो ।

‘उडानमा स्टरायल ककपिट भन्ने एउटा नियम छ । त्यो भनेको खास उडानको समयमा कुनै पनि गतिविधिहरु नहुन जसका कारण पाइलटहरुको ध्यान नभाँडिओस् भन्ने हो,’ प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘यो नियम भारत लगायतका विभिन्न मुलुकमा छ । हाम्रोमा पछिल्लोपटक जहाजका गतिविधिहरु समेटेर भिडियो बनाउने,युट्युबमा राख्ने गतिविधि देखिएकाले रोक लगाउनु परेको हो ।’

प्राधिकरणले यदि कुनै पनि चालक दलका सदस्यलाई फोटो तथा भिडियोग्राफी गर्नु पर्ने आवश्यकता भएमा उडानअघि महानिर्देशक वा अन्य सरोकारवाला अधिकारीसँग लिखित अनुमति लिन सकिने भनेको छ । तर, अनुमति बिना गरिने फोटो तथा भिडियोग्राफीमा प्राधिकरणको फ्लाइट सेफ्टी स्ट्यान्डर्ड विभागले कारबाही गर्ने जनाएको छ । विभागले यो नियमबारे नेपालमा दर्ता भएका नौवटा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई पत्राचार गरिसकेको छ ।

यसबारे प्राधिकरणले यसअघि पनि बेला बेला उजुरीका आधारमा चेतवानी दिँदै परिपत्र गर्दै आएको थियो । यसपटक भने मापदण्ड नै संशोधन गर्दै यो नियम लागू गरिएको हो । यसबारे थप विस्तृत नियमहरु पनि चाँडै सार्वजनिक गरिने महानिर्देशक पोखरेलले बताए ।

यसअघि लकडाउनका बेला नेपाल वायुसेवा निगमले अनुमति बिना युट्युब च्यानल सञ्चालन गर्दै आएका एक वरिष्ठ क्याप्टेनमा कोरोना देखिएपछि आफ्ना सबै उडान कर्मचारीलाई भिडियो तथा फोटोग्राफी नगर्न परिपत्र गरेको थियो । निगमको अपरेसन विभागले प्राधिकरणले जारी गरेको नियम उडान सुरक्षाका लागि सकारात्मक भएको उल्लेख गर्दै निर्देशन प्राप्त भएकै दिन उडानमा संलग्न हुने सबै पाइलट, एयरहोस्टेस र प्राविधिकहरुलाई कडाइकासाथ फोटो तथा भिडियोग्राफी नगर्न निर्देशन दिएको जनाएको छ ।

प्राधिकरणले यात्रुहरुका हकमा भने फोटोग्राफी तथा भिडियो खिच्न छुट दिएको छ । पर्यटकीय अवधारणमा सञ्चालित पर्वतीय उडान लगायतमा यात्रुहरुले फोटो तथा भिडियोग्राफी गर्न रोक लगाइएको छैन ।

प्रकाशित : पुस २३, २०७७ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?