१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अविश्‍वास प्रस्ताव दर्ताअघि नै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्थ्यो : गौतम

काठमाडौँ — राष्ट्रिय सभा सदस्य एवं नेकपा उपाध्यक्ष वामदेव गौतमले अविश्वास प्रस्ताव आउँदै छ भन्ने थाहा भएपछि प्रधानमन्त्रीले राजीनामा नदिएर पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको बताएका छन् । पार्टीबाट अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिएको भए पार्टी एकता जोगिने उनको तर्क छ ।

अविश्‍वास प्रस्ताव दर्ताअघि नै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्थ्यो : गौतम

राष्ट्रिय सभाको सातौं अधिवेशन बैठकमा बोल्दै गौतमले प्रधानमन्त्री केपी शर्मा ओली प्रनिनिधिसभा विघटन गर्दा आफूलाई कुनै जानकारी नदिएको पनि गुनासो गरे । उनले अविश्वास प्रस्ताव दर्ता गराउने पक्षले पनि आफूलाई जानकारी नदिएको बताए ।

‘अविश्वासको प्रस्ताव लैजाँदा मलाई सोधिएन । मलाई जानकारी थिएन । प्रधानमन्त्रीको म कटु आलोचक हो । ४३ वर्ष देखिको सहयोद्धा हो । उहाँका कारण पार्टीमा धेरै समस्या आए । उहाँलाई धेरै अनुरोध गरेँ सुधारका लागि तर यसपटक प्रनिनिधिसभा भंग गर्दा उहाँले सोध्नु भएन,’ गौतमले भने, ‘मलाई थाहा थिएन । उहाँले पटक पटक भन्ने गर्नुभएको थियो, मलाई अविश्वासप्रस्तावद्वारा प्रधानमन्त्रीबाट बर्खास्त गर्ने काम भयो भने दुर्भाग्य हुन्छ । म हुन्थे भने अविश्वासको प्रस्ताव लगि राखेका छन् भन्ने जानकारी हुँदा अविश्वासको प्रस्ताव दर्ता गर्नु पहिला नै राजीनामा दिन्थे । पार्टी जोगाउँथेँ ।’

राष्ट्रिय सभा सदस्य भएपछि पहिलो पटक बैठकमा बोलेका गौतमले आफूलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने राष्ट्रपति, प्रधानमन्त्री र तत्कालीन पार्टीका नेताहरुलाई धन्यवाद थिए । पहिलो पटक बैठकमा बोल्दा आफू खुसी हुनुपर्ने भए पनि त्यस्तो अवस्था नरहेको गौतमले बताए ।

‘पहिलो पाटक राष्ट्रिय सभामा उपस्थित भएर बोल्दै छु । आज म खुसी हुनुपर्ने हो । तर छैन । गणतन्त्र नेपालको स्थापना गर्ने, नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने मेरो जीवनको उद्देश्य थियो । ती प्राप्त पनि भएका थिए । पार्टी एकता हुँदा म अति खुसी भए । त्यहि पार्टी आज विभाजित छ ।’

पार्टीको सचिवालय सदस्यको नाताले आफूले नेताको कार्यशैली सुधार्न धेरै पटक अनुरोध गरेको तर सुधार हुन नसकेको उनको भनाइ छ । राजनीतिक रुपमा पार्टी विभाजन भएको र कानुनी रुपमा नटुंगिएको अवस्थामा आफू पार्टी एकताको पक्षमा रहेको गौतमले बताए ।

‘दुवै पक्षमा गल्ती कमजोरी छन् । एकताको प्रयास गर्न लागेको छु । पार्टीको बीचको एकता अपरिहार्य छ । तर, दुवै समूहका मुख्य नेताहरु लाज लाग्ने गरी प्रस्तुत हुनु भएको छ,’ गौतमले भने ।

प्रकाशित : पुस २३, २०७७ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?