१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चामल ढुवानी अनियमितता : खाद्य कम्पनीको ढिलाइले कमजोर मुद्दा

कालोबजारी ऐनअन्तर्गत अभियोग दर्ता भएको १६ दिनपछि ‘आपराधिक विश्वासघात कसुर’ अन्तर्गत जाहेरी दिन केन्द्रीय कार्यालयको निर्देशन
प्राकृतिक न्यायको सिद्धान्तविपरीत दोहोरो मुद्दा दर्ता गर्न नमिल्ने भन्दै प्रहरीले जाहेरी लिएन

सुर्खेत — खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आफूसँग भएको सम्झौताविपरीत चामल ढुवानीमा विचलन गर्ने व्यवसायीमाथि कारबाही प्रक्रियामा ढिलाइ गर्दा कमजोर प्रकृतिको मुद्दा दर्ता भएको छ ।

चामल ढुवानी अनियमितता : खाद्य कम्पनीको ढिलाइले कमजोर मुद्दा

मुगु पठाउनुपर्ने ढुवानी अनुदानको चामल भक्तपुर पठाउने ढुवानीकर्तालाई अहिले जिल्ला प्रशासन कार्यालयमा कालोबजारी ऐनअन्तर्गत मुद्दा चलिरहेको छ । कम्पनीले मंसिर २३ गते मुलुकी अपराध संहिताको ‘आपराधिक विश्वासघात कसुर’अन्तर्गत कारबाही अघि बढाउन मातहतको कर्णाली प्रदेश कार्यालयलाई निर्देशन दिएको थियो ।

कम्पनीको ढुवानीकर्ता शर्मा ढुवानी सेवाले मुगुको कालै पठाउनुपर्ने चामल भक्तपुर पठाउँदै गर्दा कात्तिक १३ गते सुर्खेत प्रहरीले सुब्बाकुनाबाट ट्रकसहित २ सय ५० क्विन्टल चामल नियन्त्रणमा लिएको थियो । घटना सार्वजनिक भएलगत्तै ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी कम्पनीले खरिद विभागका प्रमुख डिल्लीराम लम्सालको संयोजकत्वमा ३ सदस्यीय जाँचबुझ तथा अध्ययन टोली गठन गरेको थियो । टोलीले कात्तिक २२ देखि २७ गतेसम्म सुर्खेतमा आएर चामल ढुवानी अनियमितताबारे स्थलगत अध्ययन गरेको थियो ।

कम्पनीले प्रतिवेदनका आधारमा राय मागेपछि कानुनी सल्लाहकार अधिवक्ता युवराज श्रेष्ठले मंसिर १९ गते आफ्नो राय दिएका थिए । उनले ढुवानी ठेकेदार वासुदेव शर्माउपर मुलुकी अपराध संहिता २०७४ को दफा २५२ (१) को उपदफा २ को देहाय (क) बमोजिम ‘आपराधिक विश्वासघातको कसुर’ अन्तर्गत कारबाहीका लागि प्रहरी कार्यालयमा जाहेरी दिन सिफारिस गरेका छन् । उक्त दफामा ‘आफ्नो जिम्मा वा संरक्षणमा रहेको अर्काको सम्पत्ति बेइमानीपूर्वक आफ्ना निमित्त प्रयोग गरेमा वा कुनै प्रकारले रूपान्तरण गरेमा वा त्यस्तो सम्पत्तिको उपयोग तत्सम्बन्धी करार वा सर्तनामा वा कानुनविपरीत बेइमानीपूर्वक आफ्नो निमित्त उपयोग गरेमा वा अरु कसैलाई उपयोग गर्न दिएमा वा हक टुटाई अरुलाई दिएमा वा दिलाएमा’ आपराधिक विश्वासघात गरेको ठहर्ने उल्लेख छ । कसुर प्रमाणित भए कुनै संस्थाको व्यवस्थापक, प्रबन्धक, कर्मचारी वा प्रतिनिधिलाई ५ वर्ष कैद र ५० हजार जरिवाना तथा यीबाहेक अन्य व्यक्तिलाई ३ वर्ष कैद वा ३० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

कम्पनीको केन्द्रीय कार्यालयले मंसिर २३ गते कानुनी सल्लाहकारको रायसहित कारबाही प्रक्रिया अघि बढाउन कर्णाली प्रदेश कार्यालयलाई निर्देशन दिएको थियो । निमित्त प्रमुख विनोद पौडेलले केन्द्रीय कार्यालयको निर्देशनअनुसार भोलिपल्टै जाहेरी लिएर गए पनि प्रहरीले दर्ता गर्न नमानेको बताए । ‘हामी दुईपटक जिल्ला प्रहरी कार्यालयमा र एकपटक सरकारी वकिल कार्यालयमा गयौं, तर जाहेरी दर्ता गर्न मिल्दैन भनेर फर्काइयो,’ उनले भने, ‘मुद्दा चलाउने निकायले नै नमानेपछि हामीसँग अरू उपाय रहेन ।’

सुर्खेत प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत खाद्य कम्पनीको सिफारिस आउनुअघि नै मंसिर ७ गते जिल्ला प्रशासन कार्यालयमा कालोबजार ऐनअन्तर्गत मुद्दा दर्ता गरेको थियो । मुद्दामा शर्मा ढुवानी सेवाका प्रोप्राइटर शर्मालाई मुख्य र अन्य तीन जनालाई मतियारका रूपमा अभियोग लगाइएको छ । ट्रक चालक वीरेन्द्रकुमार थापाले चामल ढुवानी गरेको, शर्माकी श्रीमती शर्मिलाले ट्रकमा चामल लोड गर्न सघाएको र ढुवानी सेवाका लेखापाल शिवराज रेग्मीले बिल काटेर चामल चलानी गरेको आरोपमा उनीहरूलाई आधा सजाय मागदाबी गरिएको छ ।

तत्कालीन निमित्त प्रमुख जिल्ला अधिकारी रोम महतले मंसिर ८ गते प्रारम्भिक आदेश जारी गर्दै मुख्य अभियुक्त शर्मालाई ३ लाख ५९ हजार ५ सय (एक वर्ष कैदको रकमसमेत) रुपैयाँ र चालक थापालाई त्यसको आधा रकम धरौटीमा छोडेका थिए । कार्यालयमा उपस्थित नभएका शर्मिला र रेग्मीलाई भने १५ दिनको म्याद तामेली गरिएको थियो । तीन वर्षभन्दा कम कैद सजाय हुने मुद्दाका अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गर्न नमिल्ने भएकोले उनीहरू धरौटीमा छुटेका थिए ।

‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन’ को दफा ४ अन्तर्गत मालवस्तुको विचलन गरेको पुष्टि भए १ वर्षसम्म कैद वा २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने प्रावधान छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गरेको सिफारिसअनुसार मुद्दा चलाइएको भए शर्मालाई पुर्पक्षका लागि कारागार पठाउन सकिने अवस्था रहन्थ्यो । सुर्खेतका प्रहरीप्रमुख एसपी राजेन्द्र भट्टले एउटै कसुरमा एउटै व्यक्तिलाई दुईवटा मुद्दा लगाउन नपाइने प्राकृतिक न्यायको सिद्धान्तअनुसार कम्पनीको जाहेरी दर्ता नगरिएको बताए । ‘कम्पनीले सिफारिस गर्नुअघि नै कालोबजार ऐनअन्तर्गत मुद्दा दायर भइसकेको अवस्था थियो,’ उनले भने, ‘त्यसैले पछि आएको जाहेरी दर्ता गर्न मिलेन ।’

यद्यपि सुर्खेत प्रहरीमाथि सुरुमै ‘आपराधिक विश्वासघात गरेको’ वा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न सक्ने अवस्था रहे पनि कमजोर प्रकृतिको कालोबजार ऐनअन्तर्गत मुद्दा चलाएको आरोप लागेको छ । मुलुकी अपराध संहिताको ठगीसम्बन्धी महल २४९ मा ‘भ्रष्टाचार हुनेमा बाहेक नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रणमा भएको कुनै संस्थालाई ठगी गरेमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने’ उल्लेख छ । सुर्खेत प्रहरीले सुरुमा ठगीसम्बन्धी महलमा अनुसन्धान गरे पनि पछि कालोबजारीमा मुद्दा चलाएको थियो ।

बाझिने राय

कम्पनीका कानुनी सल्लाहकार श्रेष्ठले ढुवानीकर्ता शर्माले सम्झौताको दफा १७ र १८ प्रतिकूल काम गरेको औंल्याएका छन् । यी दुवै दफामा प्रतिकूल काम गरेमा सम्झौता भंग गर्ने र धरौटी रकम जफत हुने उल्लेख छ । श्रेष्ठले शर्मा ढुवानी सेवासँग भएका अन्य सेक्टरहरूमा खाद्यान्न ढुवानी गर्न भने बाधा नपर्ने राय दिएका थिए । शर्मा ढुवानीले चालु आर्थिक वर्ष कर्णालीका ६ स्थानमा ७ हजार क्विन्टल चामल ढुवानीको जिम्मा लिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले भने ढुवानीकर्तालाई कालोसूचीमा राख्न सकिने बताए ।

घरेलु रक्सी बन्ने गरेको खुलासा

कर्णालीका जनताका लागि आएको पौष्टिक तत्त्वयुक्त जापानी चामल भक्तपुरमा घरेलु मदिरा बनाउन प्रयोग हुने गरेको ढुवानीकर्ता शर्माले स्विकारेका छन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दिइएको बयानमा उनले जापानी चामलको भात गिलो हुने भएकाले कर्णालीका उपभोक्ताले साटेर अरू चामल पठाउन आग्रह गर्ने गरेका बताएका छन् । ‘कर्णालीमा चामल बिक्न गाह्रो हुने र भक्तपुरमा घरेलु मदिरा बनाउनका लागि उपयोगी हुने भएकाले त्यता पठाउने गरेको हुँ,’ उनले बयानमा भनेका छन् ।

प्रोप्राइटर शर्माले यसअघि कति मात्रामा चामल भक्तपुर पठाइयो भन्नेबारे नबोले पनि चालक थापाको बयानमा ५–६ पटक ढुवानी गरिएको उल्लेख छ । उक्त चामल सरकारी ढुवानी अनुदानको हो भन्नेबारे भने आफूलाई थाहा नभएको उनले बताएका छन् । अभियुक्तले भक्तपुर चामल पठाउने गरेको स्विकारे पनि प्रहरी अनुसन्धान भक्तपुरतिर केन्द्रित हुन सकेको छैन । शर्माले आफ्नो स्वामित्वमा रहेको दुर्गा भगवती इन्टरप्राइजेजमार्फत भक्तपुरको अजय खाद्यान्न सप्लायर्सको नाममा चामल पठाउने गरेका थिए । सुर्खेतका जिल्ला प्रहरी प्रमुख एसपी भट्टले भक्तपुरमा जापानी चामल भेटिएको/नभेटिएकोबारे नखुलेको बताए ।

प्रकाशित : पुस २३, २०७७ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?