उदाहरणीय सन्थाल दम्पती

वडासचिवमा कार्यरत दम्पती भन्छन्– ‘सिंगो समुदायलाई शिक्षित बनाउने हाम्रो उद्देश्य छ ।’
पर्वत पाेर्तेल

काठमाडौँ — झापाको मेचीनगर–१४ दुवागढीका ३६ वर्षीय जिसु मुर्मु र २८ वर्षीया सुनिता सोरेनलाई ९ बजेपछि कार्यालय दौडने हतारो हुन्छ । दुई बच्चा नजिकैको स्कुल पठाउँछन् अनि लाग्छन् आ–आफ्नो ड्युटीमा ।

उदाहरणीय सन्थाल दम्पती

कनकाई नगरपालिका–८ का वडासचिव जिसु श्रीमती सुनितालाई चारआलीस्थित वडा कार्यालयमा छाड्छन् । आफू झन्डै १५ किलोमिटर लामो यात्रा गरेर कनकाई–८ को वडा कार्यालय दुर्गापुर पुग्छन् । सीमान्तकृत सन्थाल समुदायबाट ‘देशकै पहिलो वडासचिव’ दम्पतीलाई कार्यालय पुगेपछि पनि सेवाग्राहीको कामले भ्याइनभ्याइ हुन्छ । ‘सास फेर्ने फुर्सद पनि हुन्न,’ गत मंसिर २८ देखि सचिवको जिम्मेवारी सम्हालेकी सुनिताले सुनाइन्, ‘साताको ६ दिन त जनताका कामले नै फुर्सद मिल्दैन ।’ तत्कालीन दुवागढी गाविस हुँदाताका उनले २०६७ सालमा सहलेखापालका रूपमा जागिर सुरु गरेकी थिइन् । ‘दुवागढी गाविसले कर्मचारी माग गरेको थियो, निवेदन दिएकी थिएँ छानिएछु,’ उनले भनिन् ।

उनी आफ्नो समुदायबाट गाउँकै सबभन्दा बढी पढ्ने महिला हुन् । भद्रपुरको पुहातु जनज्योति माविबाट एसएलसी र चारआलीको त्रिदेव क्याम्पसबाट शिक्षामा स्नातक गरेकी छन् । वडाध्यक्ष कृष्ण सिग्देलले स्थानीय सेवाग्राहीको मागबमोजिम नै सन्थाल समुदायकी कर्मचारीलाई वडासचिवको जिम्मेवारी दिइएको बताए ।

दुवागढीकी सुनिताले २०६८ सालमा दक्षिणी झापाकै राजगढका जिसुसँग बिहे गरिन् । बिहेअघि सुनितालाई आफन्त र छरछिमेकले भन्थे रे, ‘तँ यति धेरै पढेकी छस्, आफैं जति पढेको केटो पाउन मुस्किल छ है ।’ एक दिन झापाको सुरुंगामा सन्थाल समुदायको एउटा भेटघाट कार्यक्रम थियो । त्यही कार्यक्रमले सुनिता–जिसुको भेट जुराइदियो । सुरुमा चिनजान भयो । पछि माया पिरती । ‘मामाकी छोरीमार्फत चिनजान भयो,’ हँसिली स्वाभावकी सुनिताले सुनाइन्, ‘आफूजस्तै पढे–लेखेको भन्ने थाहा पाएर मन पर्‍यो ।’ केही समयको प्रेमपछि उनीहरूले बिहे गरे । अंग्रेजी विषयमा स्नातकोत्तर गरेका जिसु पहिला रेडियोकर्मी थिए । आफ्नो समुदायबाट एमए पढ्ने उनी मुलुककै दोस्रा व्यक्ति हुन् ।

मोरङका शीतल टुडु सतार समुदायका पहिलो एमए होल्डर हुन् । झापा धुलाबारीको रेडियो सरगममा केही वर्ष काम गरेका जिसुले पत्रकारिता यात्रा बिहेपछि बिट मारे । ‘पत्रकारिता मेरो रुचिको विषय मात्रै थियो,’ उनले सुनाए, ‘तर लक्ष्य भने अर्कै थियो ।’ पत्रकारिता छाड्न जागिरे श्रीमतीको ठूलो हात रहेको उनी बताउँछन् । ‘पत्रकारिताले भन्दा सरकारी सेवाले नै जीवन चलाउन सहज हुने श्रीमतीको सल्लाह पाएँ,’ उनले थपे, ‘त्यसपछि लोक सेवाको तयारीमा लागें ।’ कडा मिहिनेतपछि खरिदारमा नाम निकाले । २०७२ साउन ६ मा पहिलो पोस्टिङ भयो कनकाई नगरपालिकामा । नगरले दुई वर्षअघि वडासचिवको जिम्मेवारी दियो ।

लोपोन्मुख आदिवासी सन्थालहरूको बसोबास पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा छ । २०६८ सालको जनगणनाअनुसार सन्थालको कुल जनसंख्या ५१ हजार ७ सय ३५ छ । तर, यो संख्या पछिल्लो समय घटेको हुन सक्ने अनुमान सन्थाल अगुवाहरूको छ । भूमिहीन, विपन्न यो समुदायका धेरै भारत विस्थापित भएको पाइएको छ । खेती किसानी र मजदुरी गरेर जीवनयापन गर्ने समुदायका धेरै बालबालिकाले आर्थिक अभावका कारण पढ्न पाएका छैनन् । पढ्दै गरेकाले समेत बीचमै पढाइ छाड्ने गरेको पाइएको बाल अधिकारकर्मी मणिकुमार लिम्बू बताउँछन् ।

सुनिता–जिसु भने यही समुदायका उदाहरणीय पात्र हुन् । यी दुवैले कुनै बेला चरम आर्थिक संकट बेहोरेका थिए, आम सन्थालले झैं । तर, जस्तोसुकै परिस्थितिमा पनि पढाइ भने छाडेनन्, बरु थप मिहिनेत गरेर अघि बढे । जसका कारण आज यी सफल दम्पतीप्रति सिंगो समुदायले गौरव गरिरहेको छ । बिदाका दिनमा पनि सुनिता–जिसु व्यस्तै रहन्छन् ।

बिहान प्रार्थना गर्न चर्च जान्छन् । दिउँसो सन्थाल समुदायका बस्ती चाहर्दै सफलताका अनुभव साट्छन् । ‘सिंगो समुदायलाई शिक्षित बनाउने हाम्रो उद्देश्य छ,’ सुनिता सुनाउँछिन्, ‘लेखपढ गरे हामीजस्तै सफल बन्न सकिन्छ भन्ने उदाहरण पेस गर्छौं ।

प्रकाशित : पुस २३, २०७७ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?