प्रतिनिधिसभा विघटनको मुद्दा : पहिलेकै संवैधानिक इजलासलाई निरन्तरता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा विघटनको मुद्दा : पहिलेकै संवैधानिक इजलासलाई निरन्तरता

कृष्ण ज्ञवाली

काठमाडौँ — प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयमाथि चुनौती दिई परेका रिट निवेदनहरुमाथि सुनुवाइका लागि सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सदस्य छन् । यसअघि गठन भएको संवैधानिक इजलासलाई नै पुन: निरन्तरता दिइएको हो ।

उक्त इजलासमा १३ वटा निवेदनहरुको नियमित सुनुवाइ हुने योजना छ । सर्वोच्च अदालतको आदेशअनुसार, राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सभामुखले लिखित जवाफ दिइसकेका छन् भने मागेको अरु फाइलसमेत पठाएका छन् ।

कानुन व्यवसायीहरुले ठूलो महत्वको यो मुद्दा संवैधानिक इजलासको साटो बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने भनी मंगलबार नै निवेदन दिएका छन् । त्यो निवेदनमाथि समेत संवैधानिक इजलासले सम्बोधन गर्नेछ । मागबमोजिम भयो भने मुद्दाको सुनुवाइका लागि बृहत् पूर्ण इजलास गठन हुनेछ भने निवेदनमाथि सम्बोधन नभए संवैधानिक इजलासले नै अब विघटनको मुद्दा सुनुवाइ गर्नेछ ।

यसअघि पुस १० गतेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी थिए । प्रधानन्यायाधीशले वरीयताक्रमअनुसार नराखी बीचबीचबाट न्यायाधीश छानेकोमा त्यसमाथि प्रश्न उठेको थियो ।

प्रकाशित : पुस २२, २०७७ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्

भलिबलमा प्रतिभावान्‌लाई छात्रवृत्ति

भवानी भट्ट

कञ्‍चनपुर — राष्ट्र्रिय खेल भलिबलमा प्रतिभावान् खेलाडीको छनोटका लागि छात्रवृत्ति कार्यक्रम सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले मंगलबार उक्त कार्यक्रमको घोषणा गरेका हुन् ।

प्रतिभावान् खेलाडीलाई छात्रवृत्ति कार्यक्रममा छनोट भएका खेलाडीका साथ राखेपका सदस्यसचिव रमेशकुमार सिलवालसहित पदाधिकारी । तस्बिर : भवानी/कान्तिपुर

१८ वर्षभन्दा कम उमेर र उचाइका खेलाडीलाई प्रशिक्षण दिन उक्त कार्यक्रम सुरु गरिएको हो । भलिबल प्रशिक्षणमा सहभागी हुने खेलाडीले मासिक ३ हजार रुपैयाँ पाउने छन् ।

सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ५४ खेलाडीमध्ये १२ महिला र १२ पुरुष गरी २४ जनालाई उक्त छात्रवृत्ति प्रदान गरिनेछ । उनीहरूलाई महेन्द्रनगरस्थित भलिवल प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिइनेछ ।

‘आगामी दुई वर्षमा राष्ट्रिय टोलीलाई योगदान दिनसक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम लागू गरिएको हो,’ भलिकल प्रशिक्षक जगदीश भट्टले भने, ‘उचाइ भएका र प्रतिभा भएका खेलाडी छनोट गरेर प्रशिक्षण दिइन लागेको हो ।’

पहिलो चरणमा ६ महिनासम्म छात्रवृत्ति दिइने छ । त्यसपछि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको छनोट गरेर यसमा नयाँ पनि थप गरिनेछ । छात्रवृत्ति कार्यक्रम पनि थप हुँदै जानेछ । प्रशिक्षणमा सहभागी भएका खेलाडीलाई महेन्द्रनगर आसपासकै विद्यालयहरूमा निःशुल्क पठनपाठनको व्यवस्थासमेत गरिएको भट्टले बताए ।

प्रतिभावान् खेलाडीलाई छात्रवृत्तिको कार्यक्रम नयाँ भएको परिषद्का सदस्यसचिव सिलवालले बताए । उनले भलिबलमा उत्कृष्ट खेलाडी छनोट गर्न र देशका लागि अब्बल खेलाडी उत्पादन गर्न यो कार्यक्रम प्रभावकारी हुने बताए ।

महेन्द्रनगरस्थित कभर्डहलमा नेपालकै व्यवस्थित भलिबल प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । बिच भलिबल प्रशिक्षणका लागि समेत पूर्वाधार तयार पारिएको छ । आवाससहितको प्रशिक्षण केन्द्र निर्माणको कामसमेत अघि बढेको छ । निकट भविष्यमै आवाससहितको प्रशिक्षण दिने कार्यक्रम रहेको प्रशिक्षक भट्टले बताए ।

प्रकाशित : पुस २२, २०७७ १०:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×