वायु प्रदूषणको जोखिमबाट यसरी जोगिऔं

अतुल मिश्र

काठमाडौँ — वायु प्रदूषणले मुटुका साथै फोक्सोलाई बढी असर गर्ने विज्ञहरूले बताएका छन् । उनीहरूले प्रदूषणबाट जोगिन मास्क प्रयोग गर्न सल्लाह दिएका छन् । विज्ञहरूका अनुसार प्रदूषणले सामान्यतया आँखा, नाक र वायु मार्गमा जलन उत्पन्न हुन्छ ।

वायु प्रदूषणको जोखिमबाट यसरी जोगिऔं

एलर्जी पीडितहरूका लागि यो स्थिति जोखिम हो । प्रदूषित हावाले आँखामा प्रतिकूल असर पर्छ । ‘प्रदूषणको असर फोक्सोलगायतका समस्या भएकाहरूमा तुरुन्त देखिन्छ । अन्य स्वस्थ व्यक्तिलाई समेत कुप्रभाव कुनै समयमा देखा पर्छ,’ वरिष्ठ छाती रोग विशेषज्ञ डा.रमेश चोखानीले भने ।

वायु प्रदूषणबाट जोगिन मुस्किल छ । किनभने यो चारैतिर फैलिएको हुन्छ । हावामा रहने सूक्ष्म प्रदूषित कण (पार्टिकुलेट म्याटर–पीएम) ले श्वासप्रश्वास र रगत सञ्चार प्रणालीमा प्रवेश गरेर मुटु, मस्तिष्क र फोक्सोलाई असर गर्छ । ‘हरेक व्यक्तिले श्वास फेर्दा उसको फोक्सोमा प्रदूषित कण जम्मा भइरहेको हुन्छ,’ डा. चोखानीले भने, ‘त्यो तन्तुमा समेत पुग्छ र रगतको माध्यमले अन्य ठाउँमा जान्छ । प्रदूषण साइलेन्ट किलर हो । यसबाट कोही जोगिँदैन ।’ उनले वायू प्रदूषण घटाउन बेलैमा लाग्नुपर्नेमा जोड दिए ।

पार्टिकुलेट म्याटर (पीएम) मुख्य रूपले इन्धन डढ्दा र सडक यातायातले उत्पन्न हुने ठोस र तरल थोपाको मिश्रण हो । यसले श्वास र मुटुसँग सम्बन्धित रोग उत्पन्न गर्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार १० माइक्रोन वा यो भन्दा कम व्यास भएको कण फोक्सोभित्र गहिराइमा प्रवेश गर्न सक्छ । स्वास्थ्यलाई पछि धेरै हानि पुर्‍याउने कण २.५ माइक्रोन वा यो भन्दा पनि कम व्यासको हुन्छ । यो कण यति सानो हुन्छ कि यस्ता ६० वटा कण मान्छेको कपालको चौडाइ बराबर हुन्छ ।

पीएम २.५ फोक्सोभित्रको अवरोधकलाई छेडेर रक्तप्रणालीमा प्रवेश गर्न सक्छ । यसले मुटु र श्वासप्रश्वाससम्बन्धी रोगसँगै फोक्सोको क्यान्सरको जोखिमलाई समेत बढाउन सक्छ । ओजोन दम वा यसलाई झन् नराम्रो पार्ने एउटा प्रमुख कारण हो । नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइडले पनि दम, ब्रोकियल समस्या, फोक्सोको सुन्नाइ र फोक्सोको कार्यप्रणाली कम गर्न सक्छ । हाल मुलुकमा प्रदूषणले दम, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) लगायतका फोक्सोसम्बन्धी समस्या बढाइरहेको राष्ट्रिय क्षयरोग केन्द्रका वरिष्ठ छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले बताए । ‘फोक्सोसम्बन्धी दीर्घकालीन समस्या भएकालाई प्रदूषित वातावरणले थप समस्यामा पारिरहेको छ,’ उनले भने ।

श्वाससम्बन्धी रोगले पीडितहरू प्रदूषण बढेपछि घर बाहिर निस्किए उनीहरूमा श्वाससम्बन्धी लक्षण बढ्न सक्छ । वायु प्रदूषणको स्तर बढी भएकाले यो समयमा कठिन व्यायाम नगर्न डा. शाह सल्लाह दिन्छन् । उनका अनुसार हालको बढ्दो प्रदूषणको अवस्थामा मर्निङ वाक, इभिनिङ वाकले स्वास्थ्य झन् बिगार्न सक्छ ।

के गर्ने ?

  • सम्भव भएसम्म घरमै बस्ने
  • श्वास फेर्न असजिलो, खोकी, छातीमा समस्या, आँखा पोल्नेलगायत समस्या भए चिकित्सकसँग सम्पर्क गर्ने
  • फोक्सोसम्बन्धी रोग वा श्वास लिन समस्या भएकाहरुले औषधि साथमा राख्ने, प्रशस्त पानी पिउने
  • गमलामा बोटबिरूवा लगाउने जसले हावालाई सफा गर्न सघाउँछ
  • घरबाहिर निस्किँदा गुणस्तरीय मास्क लगाउने

के नगर्ने ?

  • बढी भीड र ट्राफिक भएको स्थानमा नजाने
  • बिहान र बेलुका नहिँड्ने
  • बिहान र बेलुका घरका झ्यालढोका नखोल्ने

डब्लूएचओको सल्लाह

  • व्यस्त सडकमा हिँड्ने समय सीमित गर्ने, साथमा बच्चा भए उसलाई गाडीको धूवाँ निस्किने ठाउँको उचाइभन्दा माथि हुने गरी बोक्ने
  • ट्राफिक हुने खास ठाउँ, ट्राफिक लाइटनजिक गाडी रोकिने ठाउँमा बढी समय नबिताउने
  • घरबाहिर शारीरिक गतिविधि गरिरहेको समय, कम प्रदूषित क्षेत्रमा व्यायाम गर्ने
  • अत्यधिक प्रदूषित दिनमा गाडीको उपयोग कम गर्ने
  • फोहोर पदार्थलाई नडढाउने

प्रकाशित : पुस २२, २०७७ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?