१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कर्णाली सरकार ओली पक्षविहीन

ओली पक्षका दुई मन्त्रीले कित्ता परिवर्तन गरेसँगै ६ सदस्यीय कर्णाली सरकार दाहाल–नेपाल पक्षको पकडमा

सुर्खेत — ओली समूहका दुई मन्त्री दाहाल–नेपाल पक्षमा लागेपछि कर्णालीको सिंगो मन्त्रिपरिषद् ओली पक्षविहीन भएको छ । मुख्यमन्त्रीसहित सबै मन्त्री दाहाल–नेपाल पक्षमा खुलेका हुन् ।

कर्णाली सरकार ओली पक्षविहीन

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार विज्ञप्ति जारी गर्दै ‘कर्णाली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्नका लागि’ दाहाल–नेपाल पक्षको नेकपामा आबद्ध रहेको बताएका छन् । डोल्पाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले आइतबार कित्ता परिवर्तन गर्ने बताए पनि अन्तिम समयमा पछि हटेका थिए । उक्त दिन ओली पक्षीय सामाजिक विकासमन्त्री दल रावल र जुम्लाबाट प्रदेशसभामा निर्वाचित पदम रोकाया भने दाहाल–नेपाल पक्षमा प्रवेश गरेका थिए । ओलीको साथ छाड्ने तीनै जना पूर्वएमालेबाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।

२०७४ फागुनमा सरकार गठन हुँदा ७ सदस्यीय मन्त्रिपरिषद्मा पूर्वमाओवादीबाट मुख्यमन्त्रीसहित ३ जना, ओली समूहबाट ३ जना र नेपाल समूहबाट १ जना मन्त्री नियुक्त भएका थिए । ओली समूहबाट भौतिक पूर्वाधार विकासमन्त्री बनेका खड्कबहादुर खत्री २०७६ साउनमा नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पदमुक्त भएपछि उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हालिरहेका छन् ।

अब ४० सदस्यीय कर्णाली प्रदेशसभामा दाहाल–नेपाल समूहका सांसदको संख्या २२ पुगेको छ । सभामुखलाई छाडेर ओली समूहका १०, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । यही अवस्थामा अविश्वासको प्रस्ताव दर्ता भइहाले कांग्रेस र राप्रपाको समर्थन हुँदा पनि पारित हुने अवस्था देखिँदैन । अविश्वासको प्रस्ताव पास हुन २१ सांसदको आवश्यकता पर्छ । असोज २५ गते मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता हुँदा ओली पक्षमा रहेका दुवै जना मन्त्रीले असन्तुष्टि जनाएका थिए । उतिबेला ओली पक्षीय नेताले मन्त्रीबाट राजीनामा दिन दबाब दिए पनि उनीहरूले अटेर गरेका थिए ।

अविश्वासको प्रस्ताव असफल बनाउने क्रममा नेपाल पक्षका असन्तुष्ट सांसदलाई मन्त्री दिने ‘भद्र’ सहमति भएको थियो । उतिबेला नेपाल समूहका ३ जनालाई मन्त्री र १ जनलाई संसदीय दलको सचेतक बनाउने सर्तमा उक्त समूहका ७ जना सांसदले अविश्वासको प्रस्ताव फिर्ता लिएका थिए । सहमतिअनुसार कुर्मराज शाही सचेतक नियुक्त भइसकेका छन् । अहिले ओली समूहका रावल र बुढालाई मन्त्रीमा थमौती गर्ने गरी दाहाल–नेपाल समूहमा प्रवेश गराइएको स्रोतको भनाइ छ । अब दाहाल–नेपाल पक्षले असन्तुष्ट पक्षलाई कसरी थामथुम पार्छ भन्ने चासोको विषय बनेको छ ।

कर्णाली सरकारमा रिक्त रहेको भौतिक पूर्वाधार विकासमन्त्री र संविधानअनुसार थप एक मन्त्री वा राज्यमन्त्री गरी दुई जना थप्न सकिने अवस्था छ । ओली समूह भने दाहाल–नेपाल समूहका असन्तुष्ट सांसदलाई आफ्नोतिर तान्ने रणनीतिमा देखिन्छ । यही रणनीतिअनुसार पूर्वमाओवादी खेमाका दुई जना सांसद धर्मराज रेग्मी र ठम्मर बिष्ट ओली समूहमा प्रवेश गरिसकेका छन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका राजनीतिशास्त्रका उपप्राध्यापक दुर्गाप्रसाद सापकोटा तत्कालका लागि प्रदेश सरकार सुरक्षितजस्तो देखिए पनि नेकपाभित्रको तरल राजनीतिक अवस्थाले कति बेला के हुन्छ भन्न नसकिने बताउँछन् ।

कमिटीमा पनि दाहाल–नेपालको वर्चस्व

कर्णालीका प्रदेश तथा जिल्ला कमिटी पदाधिकारीमा दाहाल–नेपाल समूहको वर्चस्व रहेको छ । २० जना अध्यक्ष र सचिवमध्ये उक्त समूहका १६ र ओली समूहका ४ जना छन् । १० जिल्लामध्ये ६ जिल्ला हुम्ला, जुम्ला, मुगु, कालीकोट, जाजरकोट र रुकुम पश्चिममा पूर्वमाओवादी (दाहाल) समूहका र सुर्खेतमा नेपाल पक्षका ध्रुवकुमार शाही गरी ७ जना दाहाल–नेपाल समूहका नेता जिल्ला अध्यक्ष छन् । दैलेख, सल्यान र डोल्पामा भने ओली समूहका अध्यक्ष छन् ।

सचिवमा पनि दाहाल–नेपाल समूहका ९ जना छन् । सुर्खेत, सल्यान, डोल्पा र दैलेखमा पूर्वमाओवादी तथा जुम्ला, जाजरकोट, रुकुम पश्चिम, मुगु र हुम्लामा नेपाल खेमाका सचिव छन् । हुम्ला जिल्ला कमिटी सदस्य रहेका मन्त्री रावल नेपाल–दाहाल समूहमा फर्केपछि कालीकोटमा मात्र ओली पक्षीय सचिव बाँकी रहेका छन् । प्रदेशका पदाधिकारीमा पनि दाहाल–नेपाल पक्षको वर्चस्व छ । ६ सदस्यीय पदाधिकारीमा इन्चार्ज जनार्दन शर्मासहित ४ जना दाहाल–नेपाल र २ जना ओलीका छन् । शर्मासहित सहइन्चार्जहरू प्रकाश ज्वाला, कालीबहादुर मल्ल र सचिव मायाप्रसाद शर्मा दाहाल–नेपाल समूहमा र अर्का सहइन्चार्ज यामलाल कँडेल तथा अध्यक्ष गोरखबहादुर बोगटी ओली समूहमा छन् ।

प्रकाशित : पुस २१, २०७७ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?