२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

जनकपुरमा ओली समूहको शक्ति प्रदर्शन

मन्त्री जुली महतोलाई एक सय ४० किलोको माला
श्यामसुन्दर शशि

जनकपुर — नेकपा ओली समूहका नेता कार्यकर्ताहरुले मंगलबार जनकपुरमा शक्ति प्रदर्शन गरेका छन् । नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलको नेतृत्वमा भएको प्रदर्शनमा बहालवाला दुईमन्त्रीसँगै दर्जन अधिक केन्द्रिय नेताहरु सहभागी थिए ।

जनकपुरमा ओली समूहको शक्ति प्रदर्शन

पार्टी विवाद सुरु भएयता दाहाल–नेपाल समूहका नेता कार्यकर्ताहरुले पटक पटक प्रदर्शन गरेपनि ओलीसमूहको भने यो पहिलो प्रदर्शन थियो ।

जनकपुर रेल्वे स्टेशनबाट सुरु भएको प्रर्दशन भानु चोक, शिव चोक, जनक चोक, जानकी चोक, पुरानो बजार, राम चोक हुँदै जनकपुर-४स्थित पार्टी कार्यालयमा पुगी आमसभामा परिणत भएको थियो । सहभागीहरुले पार्टी एकताको पक्षमा तथा दाहाल–नेपालविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

आमसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोख्रेलले संसद् विघटनको निर्णय रहरले नभई बाध्यताले गर्नुपरेको बताए । उनले भने,‘ बाहिरका भन्दा पनि भित्रैका साथीहरुको गलत क्रियाकलापको कारण संसद् विघटन गर्नु परेको हो । हामी जनतामाझ आएका हौं । जनताभन्दा टाढा जान खोजेका होइनौं ।’

आम सभालाई नेकपा प्रदेश–२ का अध्यक्ष तथा सहरी विकास मन्त्री प्रभु साह, महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महतो, कानुन मन्त्री लीला श्रेष्ठ, स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री रघुवीर महासेठ, केन्द्रिय सदस्य योगनारायण यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

सहरी विकास मन्त्री साहले ओली नेतृत्वको नेकपा आधिकारिक रहेको दाबी गर्दै वैशाखमा निर्वाचन हुने कुरामा ढुक्क रहन आग्रह गरे । उनले भने,'अलमलमा नपर्नु होला । हामी सक्कली नेकपा हौं । हामी सूर्य चिन्ह पनि पाउँछौं अनि निर्वाचनमा स्पष्ट जनमत पनि ।'

मन्त्री श्रेष्ठले ओली नेतृत्वको वर्तमान सरकार मधेसमैत्री भएको बताए । मन्त्री जुली महतोले चुनावमा होमिन कार्यकर्ताहरुलाई निर्देशन दिएकी थिइन् ।

मन्त्री महतोलाई एकसय ४० किलोको माला

मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहनगर आएकी महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोलाई जनकपुर हवाई अड्डामा एकसय ४० किलोको माला लगाएर स्वागत गरिएको थियो ।

मन्त्री महतोलाई स्वागत गर्न ठूलो संख्यामा पार्टी नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो । मन्त्री महतोलाई राजदेवी, बोधी माई लगायतका देवी देवताको दर्शन गराउनुका साथै बाजा गाजासाथ नगर परिक्रमा गराइएको थियो ।

प्रकाशित : पुस २१, २०७७ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?