वायु प्रदूषण बढेपछि चिकित्सकले भने– आवश्यक परे मात्र घरबाहिर निस्कनु 

बुनु थारु

काठमाडौँ — काठमाडौं उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

वायु प्रदूषण बढेपछि चिकित्सकले भने– आवश्यक परे मात्र घरबाहिर निस्कनु 

वातावरण विभागको वायु गुणस्तर मापन केन्द्रका अनुसार मंगलबार १ बजेको अध्यावधिक विवरण अनुसार एअर क्वालिटि इन्डेक्स (एक्यूआई) ४०२ छ । गएराति काठमाडौंका विभिन्न क्षेत्रमा एक्यूआई ६०७ पुगेको थियो । ३०१ देखि ५०० सम्मको एक्यूआई सूचकलाई खतरनाकको सूचीमा राखिएको छ ।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार यो प्रदूषण भन्दा पनि मौसमको कारणले भएको हो । उनले भने,'प्रदूषण त छ । अस्तिसम्म प्रदूषणका कणहरु डिस्पर्सल भइरहेको थियो । अहिले जान नसकेर थुप्रिएको जस्तो लागेर धुम्म देखिएको होला । यो सिजन यस्तै हुने हो तर यसपालि अलि बढी देखियो । यदि अलि अलि पानी पर्ने हो भने घट्छ । किनकी अरुबेला भन्दा गाडी कम चलेको नै छ । इँट्टाभट्टा कम नै चलेका छन् । त्यसबाहेक हामीले प्रचारप्रसार गर्ने काम पनि गरिरहेका छौँ ।'

काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले नेपाल सरकारले निर्धारण गरेको एक्युआई को मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरुलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ ।

यसैबीच, वातावरण विभागले बिहान र बेलुकाको समयमा वायु प्रदूषण अत्याधिक बढेको जनाएको छ । विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै बालबालिका,वृद्धवृद्धा,दीर्घ रोगी,मुटुका समस्या भएका व्यक्तिहरुलाई प्रदूषणले बढी प्रभावित पार्ने भएकाले घर बाहिर ननिस्कन र बाहिर निस्कँदा विशेष सावधानी अपनाउन अनुरोध समेत गरेको छ ।

विभागका वातावरण निरीक्षक भुपेन्द्र शर्मा भन्छन्,'काठमाडौं उपत्यकाको सन्दर्भमा हेर्ने हो भने यो उपत्यका कचौरा आकारको छ । चिसोले गर्दा तलको बाक्लो हावा र माथिको पातालो हावाले प्रदूषण बढी भएको देखिन्छ । जाडोमा जमिनको धुलोको कणहरु उडेर माथि जान सक्दैनन् । '

जाडो महिनामा गर्मी भन्दा बढी इँट्टाभट्टाहरु चल्ने र लकडाउन हटेसँगै सवारी साधानको चाप पनि बढेपछि प्रदूषण बढेको विज्ञहरु बताउँछन् । यो अवस्था अझै केही दिन रहने दासले बताए । पुसबाट माघ महिनामा वायुको तापक्रम अलि बढ्ने पनि उनले बताए ।

तिलगंगा आँखा प्रतिष्ठानका कन्सल्टेन्ट एवम् अकुलोप्लास्टिक सर्जन डा. रोहित सैंजुले वायु प्रदषणले आँखामा मात्र नभएर शरीरको सबै भागमा असर पार्न सक्ने बताउँछन् । आँखालाई सुख्खा बनाउने, पोल्ने रसिलो हुने, रातो हुने , बिझाएको जस्तो अप्ठ्यारो महसुस गराउन सक्ने उनले बताए । उनले प्रदूषणबाट बच्न कालो चस्मा लगाउने, दिनमा दुईतीन पटक सफा पानीले आँखा पखाल्ने र आँखा धेरै सुख्खा भयो भने ‘आइ ड्रप’ हाल्न सुझाव दिए । यस्ता समस्याहरु बल्झिएमा नजिकैको आँखा केन्द्रमा सम्पर्क राख्‍न पनि उनले अनुरोध गरे ।

श्वासप्रश्वास रोग विशेषज्ञ डा.अर्जुन कार्कीका अनुसार वायु प्रदूषणले श्वासप्रश्वासका समस्याहरु निम्त्याउने सक्छ । उनी भन्छन्,‘वायु प्रदूषणले घाँटी, आँखा, नाकमा समस्या ल्याउन सक्छन् । एलर्जी गराउन सक्छ । दमरोगी ,मुटु रोगीहरुलाई यसले अझ बढी च्याप्न सक्छ । दमका रोगी छैनन् भने पनि यो लाग्न सक्ने जोखिम बढाउँछ ।' लामो समयसम्म प्रदूषणमा बस्ने मानिसलाई क्यान्सरको पनि डर हुने हुँदा यसबाट जोगिनुपर्ने उनले सुझाव दिए ।

डा. कार्कीले सरकारले पनि प्रदूषण कम गर्न प्रभावकारी कदम चाल्नुपर्ने बताउँदै काम परेका बेला मात्र घरबाहिर निस्कन अनुरोध गर्दै घरमै व्यायाम र मास्क अनिवार्य लगाउनुपर्ने बताए ।

'प्रदुषणले श्वासप्रश्वास प्रणालीमा रहेको रोग प्रतिरोधात्मक क्षमतालाई घटाउँछ । रोग प्रतिरोध शक्ति नै घटाएपछि स्वाभाविक रुपमा कुनै पनि किटाणुले आक्रमण गर्ने सम्भावना बढेर जान्छ । त्यसैले कोरोना पनि पर्छ ।कोरोनाको बिरामीलाई गाह्रो बनाउन सक्छ,' उनले भने ।

प्रकाशित : पुस २१, २०७७ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?