वायु प्रदूषणमा विश्वका ५० सहरमध्ये काठमाडौं एक नम्बर- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वायु प्रदूषणमा विश्वका ५० सहरमध्ये काठमाडौं एक नम्बर

राजधानीमा बढ्यो वायु प्रदूषण
अब्दुल्लाह मियाँ

काठमाडौँ — मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढ्न थालेको छ । आईक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ ।

विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची, चौथोमा चीनको वुहान, पाँचौंमा भियतनाममको हनोइ, छैटौंमा बंगलादेशको ढाका, सातौंमा भारतको मुम्बई छ । प्रदूषणका कारण सोमबारदेखि नै सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।

वातावरणविद् भूषण तुलाधरले मौसम धुम्मिएका कारण पनि प्रदूषणको मात्रा बढ्न गएको बताए । “सबै प्रदूषण कचौरा आकारको उपत्यकामा भरिएको छ”, तुलाधरले कान्तिपुरसित भने, “चिसोका कारण तातोका लागि आगो बाल्नेलगायतका गतिविधि पनि बढेको छ । वायु प्रदूषणका स्रोतहरु बढे, तर प्रदूषण कहीं जान पाएन ।” ‘बाहिरबाट काठमाडौं खाल्डोमा प्रदूषण भित्रिन्छ,’ तुलाधरले भने, ‘स्थानीय रूपमा पनि वायु प्रदूषण उत्सर्जन हुन्छ, जुन कचौराजस्तो उपत्यकामा लामो समय तैरिएर रहन्छ।’

उनका अनुसार जाडो (हिउँद) मा त्यसै पनि वायु प्रदूषण वर्षायाममा भन्दा ४–५ गुणा बढी हुन्छ। जाडोमा बिहान ८ देखि १० बजेसम्ममा वायु प्रदूषण बढी हुन्छ । विज्ञहरूका अनुसार जाडो मौसममा पानी नपर्ने र हावा नचल्ने भएकाले प्रदूषण बढेको हो । “काठमाडौं उपत्यका कचौरा आकारको भएकाले जाडोयाममा धूलोको कण तल्लो भागमा तैरिएको हुन्छ”, तुलाधरले भने ।

अमेरिकाको हार्वड युनिभर्सिटी र जर्मनीका वैज्ञानिकहरूले अमेरिका र चीनमा चार महिनाअघि गरेको अध्ययनअनुसार वायु प्रदूषण बढी भएका स्थानमा बस्नेहरूमा कोभिड–१९ संक्रमण बढी हुने देखिएको छ । उक्त अध्ययनले कोभिड–१९ बाट भएका मृत्युमध्ये १५ प्रतिशतको मुख्य कारण वायु प्रदूषण नै रहेको ठम्याएको छ ।

काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा ५ गुणासम्म बढी छ । डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । सरकारले तोकेको मापदण्डलाई वार्षिक हिसाबले हेर्दा ४९ माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्छ । तर काठमाडौंमा ३ सय ५० माइक्रोग्राम प्रतिघनमिटरसम्म पीएम १० र पीएम २.५ को मात्रा पुग्ने गरेको छ । सरकारले पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर मापदण्ड निर्धारण गरेको छ । जाडो महिना मंसिर, पुस र माघमा हानिकारक कण २.५ को मात्रा सबभन्दा अधिक हुने गरेको छ ।

‘स्टेट अफ ग्लोबल एयर– २०२०’ का अनुसार नेपालमा वायु प्रदूषणका कारण वर्सेनि ४२ हजार १ सय जनाको मृत्यु हुने गरेको छ । डब्लूएचओका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण करिब ३७ हजार जनाको मृत्यु भएको थियो ।

कोभिड–१९ को महामारी जारी भएकाले यो पटकको चिसो हुने समय (पुसदेखि फागुन) सम्म मृत्यु संख्या बढ्ने अनुमान गरिएको छ । “विगतका वर्षहरूमा पनि चिसोको समयमा काठमाडौंमा वायु प्रदूषण सबैभन्दा बढी हुने गरेको थियो,’ स्वच्छ ऊर्जा नेपालका शंकरप्रसाद शर्माले भने, ‘अब आउने २–३ महिना काठमाडौंको वायु प्रदूषण हृवात्तै बढ्ने निश्चित छ ।’

वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग (सीओपीडी), दम, निमोनिया, मस्तिष्कघात (स्ट्रोक), कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ । वायु प्रदूषणका कारण विश्वमा वार्षिक ७० लाख जनाको मृत्यु हुने गरेको छ ।

वातावरणविद् तुलाधरका अनुसार जाडोयाममा काठमाडौं उपत्यका पीएम २.५ को मारमा हुन्छ । २.५ माइक्रोग्रामभन्दा मसिना कणलाई पीएम २.५ भनिन्छ । मानिसको कपालको औसत मोटाइ ६० माइक्रोग्राम हुन्छ । ‘सानो कण श्वास नलीमार्फत फोक्सोसम्म पुग्छ,’ अर्का विज्ञ सञ्जय खनालले भने, ‘मसिना कण हावामा लामो समयसम्म बस्छन् र ती शरीरभित्र पस्ने सम्भावना बढी हुन्छ ।’

काठमाडौं उपत्यकामा यातायातका साधन वायु प्रदूषणका मुख्य स्रोत हुन् । उपत्यकामा साना–ठूला गरी १२ लाख सवारीसाधन गुड्छन् । सडकको धूलोसमेत अर्को स्रोत हो । फोहोर र कृषिजन्य अवशेष बाल्दाको धूवाँ, इँटाभट्टा, घरभित्र दाउरा र गुइँठाबाट निस्किने धूवाँ पनि वायु प्रदूषणका स्रोत हुन् ।

प्रकाशित : पुस २१, २०७७ १४:३५
प्रतिक्रिया
पठाउनुहोस्

स्पोर्ट्स अवार्ड मनोनयनमा साग स्वर्णधारीको वर्चस्व

‘१३औं सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । खेलाडी छनोटको सुरूआती प्रक्रिया ती स्वर्णधारीको प्रदर्शनलाई मूल्यांकन गरी थालिएको हो । त्यसपछि पटक–पटकको छलफलपछि चारै विधाको शीर्ष ५ प्रतिस्पर्धीको मनोनयन सूची तयार गरेको हो ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — १७ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका चार विधाको मनोनयन सार्वजनिक हुँदा सागका पदकधारी खेलाडीले एकाधिकार जमाएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार राजधानीमा वर्ष खेलाडी पुरुष, महिला र युवा तथा प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको हो ।

यही पुस २८ गते हुने अवार्डको वर्ष खेलाडी पुरुषतर्फ मनोनयनमा फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्देकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन् । विकेशबाहेक यस विधाको मनोनयनमा पर्ने सबै नयाँ हुन् । विकेश २०७२ मा प्रतिस्पर्धी थिए । मनोनयनमा पर्ने सबै खेलाडी २०७६ सालको मंसिरमा आयोजित १३औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी हुन् । त्यसमा मन्देकाजी र सुवासले दोहोरो स्वर्ण जितेका थिए ।

महिलातर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ छन् । उनीहरू पनि सागका स्वर्णधारी हुन् । सागमा गौरिकाले ४ र आयशाले २ स्वर्ण जितेका थिए । यी दुवै यस विधामा दोस्रोपटक मनोनयनमा परेका हुन् । आयशा २०६३ मा महिलातर्फ मनोनयनमा पर्दा सोही वर्ष युवा विधाको उपाधि जितेकी थिइन् । गौरिका २०७२ की प्रतिस्पर्धी हुन् । जतिबेला उनले १२ औं सागमा रजतसहित चार पदक जितेकी थिइन् ।

युवातर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सीना मादेन लिम्बु, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ छन् । सागका स्वर्ण विजेता उनीहरू पनि अवार्डका नयाँ प्रतिस्पर्धी अनुहार हुन् । वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की परेका छन् ।

अवार्डका लागि मञ्चका सचिव गोविन्द रेग्मीको संयोजकत्वमा रहेको ११ सदस्यीय छनोट समितिले यसपालि खेलाडी छनोटको मुख्य आधार १३औं साग र आठौं राष्ट्रिय खेलकुदको सफलतालाई मानेको छ । त्यसबाहेक अन्य आधिकारिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको प्रदर्शन पनि हेरिएको मञ्चले जनाएको छ ।

‘१३ औं सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो । खेलाडी छनोटको सुरुआती प्रक्रिया ती स्वर्णधारीको प्रदर्शनलाई मूल्यांकन गरी थालिएको हो । त्यसपछि पटक–पटकको छलफलपछि समितिले चारै विधाको शीर्ष ५ प्रतिस्पर्धीको मनोनयन सूची तयार गरेको हो,’ खेलाडी छनोट समितिका संयोजक गोविन्द रेग्मीले भने ।

प्रशिक्षकको हकमा यस वर्ष सागमा स्वर्ण जित्ने खेलका राष्ट्रिय खेलकुद परिषदबाट नियुक्त मुख्य प्रशिक्षकहरू समावेश गरिएको हो । ‘सागमा एउटै खेलबाट धेरै पदकहरू हासिल भएका छन् र एउटै खेलका लागि एकभन्दा बढी प्रशिक्षकले जिम्मा पाउनुभएको थियो । समग्र खेलको उपलब्धि आधार मानेर सम्बन्धित खेलको मुख्य प्रशिक्षकलाई मनोनयनमा राखेका हौं,’ संयोजक रेग्मीले थपे ।

चारै विधाका विजेता घोषणा पुस २८ गते हुने अवार्ड कार्यक्रमकै दिन घोषणा गरिनेछ । पहिलो पटक अवार्ड कार्यक्रम भर्चुअलका आधारमा हुनेछ । पल्सर स्पोर्टस अवार्डमा १० विधामा प्रदान गरिने मञ्चले जनाएको छ । पिपल्स च्वाइससँगै पारा एथलिट, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेलपत्रकारको सम्मान गरिनेछ । यस वर्षदेखि पारा एथलिट अवार्डलाई ‘पारा एथलिट सम्मान’को नामबाट दिन लागिएको मञ्चले जनाएको छ ।

पिपल्स च्वाइसको मनोनयनमा परेका करातेका मन्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ, पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही र फुटबलकी सावित्रा भण्डारीको ई–सेवाबाट भोटिङ भइरहेको छ । वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी, डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर पाउनेछन् ।

प्रकाशित : पुस २१, २०७७ १४:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×