कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

किन पढ्दैनन् बादी बालबालिका ?

बझाङ — सदरमुकाम चैनपुरको दक्षिणी बस्ती बादीवाडाकी मनीषा बादीले यस वर्ष एसईई उत्तीर्ण गरिन् । उनको सफलताले परिवारमा मात्रै नभई जिल्लाभरि बादी समुदायमा खुसी छाएको छ । ‘अहिलेसम्म पनि आफन्त र इस्टमित्रले भेटेर, फोन गरेर बधाई दिइरहेका छन्,’ मनीषाकी आमा राधाले भनिन्, ‘जेठी छोरीले बादी समुदायकै नाम राखेकोमा खुसी छौं तर अब कसरी पढाउने भन्ने चिन्ताले निद्रा लाग्न छाडेको छ ।’

किन पढ्दैनन् बादी बालबालिका ?

मनीषाको चाहना स्टाफ नर्स पढ्ने छ । ‘सामान्य कोर्स पनि पढाउन सक्ने हैसियत छैन, स्टाफ नर्स कसरी पढाउनु ?’ राधाले पिरलो सुनाइन् । यहाँ बादी समुदायका १४ परिवार बस्छन् । मनीषाको परिवारमा पाँच जना छन् । बादी समुदायमा १० कक्षा पास गर्ने उनी दोस्रो हुन् । यसअघि २०६८ सालमा सुरेन्द्र बादीले पास गरेका थिए । ‘मसँगै हाम्रो टोलका १८ जना स्कुल जान्थ्यौं । उनीहरू कसैले एक–दुई कक्षामै छोडे । कोहीकोही ६ कक्षासम्म पुगे,’ मनीषाले भनिन्, ‘जसरी पनि पढेर देखाउनुपर्छ भन्ने लागेर मैले हिम्मत हारिनँ । आज यहाँसम्म पुगेकी छु ।’

मनीषाले भनेजस्तै बादी समुदायका बालबालिका स्कुल जान छोडेर भारी बोकिरहेको अवस्थामा भेटिने गरेका छन् । गत वर्ष ३ कक्षामा पढ्दै गर्दा स्कुल छाडेकी थलाराकी १२ वर्षीया निर्मलाले विद्यालय नजानुको कारण अनेक रहेको बताइन् । ‘घरमा समयमा खाना पाकेको हुँदैन, कहिले भोकै जानुपर्छ,’ उनले भनिन्, ‘कहिले आमाबुबाले नै किन स्कुल जानुपर्‍यो भनेर हपार्छन् । त्यही भएर जानै छाडिदिएँ ।’

थलाराका बादी बालबालिका बिहान एक घण्टा ओरालो हिँडेर झनाना बजार पुग्छन् र स्थानीय व्यापारीको सामान बोकेर २/३ घण्टा लगाएर उकालो चढ्छन् । यसरी भारी बोकेर एक जनाले दैनिक एकदेखि डेढ सयसम्म कमाउँछन् । उनीहरूले दुःख गरेर कमाएको पैसाचाहिँ बाबुआमाले रक्सी खाएर सिध्याउँछन् । ‘महिनाभरमा तीन–चार हजारजति कमाउँछु होला,’ १० वर्षीया निर्मला बादीले भनिन्, ‘५/६ सय जतिको खाजा खान्छु । बाँकी बुबाआमाले रक्सी खाएरै सकाउनुहुन्छ ।’

दैनिकजसो भारी बोकेर केटाकेटीले नै परिवार चलाउने गरेको र वयस्कहरू मदिरामै भुल्ने गरेका कारण शिक्षाको अवस्था नाजुक बनेको महिला स्वास्थ्य स्वयंसेविका चक्रुदेवी रोकायाले बताइन् । सिंगो बादी समुदाय नै मदिराको लतमा फसेका कारण उनीहरूको उन्नति हुन नसकेको स्थानीय शिवराज शर्मा बताउँछन् । उनले भने, ‘छोराछोरीको पढाइ र भविष्यको चिन्ता छैन । अनि कसरी प्रगति हुन्छ ?’

थलारामा २८ परिवार बादीको बसोबास छ । यहाँ स्कुल जाने उमेरका ५० जनाभन्दा बढी बालबालिका छन् । घरबाट करिब ५ सय मिटरको दूरीमा विद्यालय छ । पढ्न नियमित जानेको संख्या भने एक–दुई जना मात्र छ । थलारा उच्च माविका शिक्षक धर्मराज उपाध्याय विद्यार्थी नआउनुमा अभिभावकको नै कमजोरी भएको बताउँछन् । ‘नियमित पढाउ भनेर कति सम्झायौं तर मान्दैनन्,’ उनले भने । विभिन्न संघसंस्थाले पढाइमा आकर्षित गर्न झोला, कापी, कलमलगायत दिने गरे पनि एक–दुई दिन विद्यालय आएर छोड्ने गरेको शिक्षक उनले बताए ।

थलारा मात्र होइन, चैनपुरमा बस्ने बादी बालबालिकाको हालत पनि उस्तै छ । बस्तीबाट ५ मिनेटको दूरीमा २ वटा सरकारी विद्यालय छन् । तर दुवैमा बादीका २ जना बालबालिका मात्र नियमित छन् । स्कुले उमेरका २७ जना छन् । ‘भर्ना त १५/१६ जनाले गरेका छन्, पढ्न एक–दुई जना मात्र आउँछन्,’ नमुना आधारभूत विद्यालयका प्रधानाध्यापक गजेन्द्र रसाइलीले भने, ‘छात्रवृत्ति पाउने लोभमा भर्ना गर्छन् तर पढ्न आउँदैनन् ।’

जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रले जिल्ला शिक्षा कार्यालयसँग मिलेर २०७४ मा गरेको अध्ययनले बादी समुदायका बालबालिकाले विद्यालय छोड्ने गरेका छन् ।

प्रकाशित : पुस २१, २०७७ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?