कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्नुको लिखित कारण दिन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौँ — संघीय संसद्को प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्नुको लिखित कारण दिन सरकारलाई सर्वोच्चको आदेश

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले ७ दिनभित्र कारण पेश गर्न सरकारलाई आदेश दिएको हो ।

सरकारविरुद्ध परेका मन्त्रिपरिषद्‌मा थप नियुक्ति, हेरफेर वा कार्यविभाजनबारे मुद्दाबारे सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले लिखित जवाफ माग गर्ने आदेश जारी गरेको हो । सर्वोच्च अदालतले दुवै पक्षलाई पुस २८ गते छलफलका लागि बोलाउने पनि आदेशमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचनको मितिसमेत घोषणा गरिएको थियो ।

संसद् विघटन गरी मध्यावधी निर्वाचन घोषणा गरेसँगै सरकार कामचलाउ भएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको ५ दिनपछि ८ मन्त्री र एक राज्यमन्त्री थपेका थिए । त्यस्तै, एक मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरेका थिए भने ६ मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको थियो ।

कामचलाउ बनेको सरकारका प्रधानमन्त्रीले संविधान र कानुनविपरीत मन्त्रिपरिषद् विस्तार गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू लोकेन्द्रबहादुर ओली, केशरजंग केसी र दिनेश लामिछानेले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए । उनीहरूले थपिएको मन्त्रिपरिषद् बदर गर्न माग गरेका थिए । त्यस्तै, सरकारले चुनावको मिति घोषणा गरेकाले कोभिड–१९ को महामारीको अवस्थामा स्वास्थ्यको मापदण्डको पूर्णपालना गर्दै चुनाव प्रचारप्रसार तथा मतदानलगायत सम्पूर्ण चुनावी प्रक्रियाका सम्बन्धमा कार्ययोजना प्रस्तुत गर्न परमादेशको पनि माग गरिएको थियो ।

यो रिट निवेदनमा राष्ट्रपति कार्यालय शीतलनिवास, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको छ ।

प्रकाशित : पुस २०, २०७७ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?