१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संसद् विघटन कम्युनिष्ट पार्टीको सामूहिक आत्महत्या : नेता भुसाल

नारायण शर्मा

नवलपरासी — विभाजित नेकपा दाहाल–नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन कम्युनिष्ट पार्टीको सामूहिक आत्महत्या बताएका छन् । स्पष्ट बहुमत हुँदाहुँदै ओलीले सनक र दम्भको भरमा संसद् विघटन गरेर कम्युनिष्टको नाममा कलंकको काम गरेको आरोप लगाए ।

संसद् विघटन कम्युनिष्ट पार्टीको सामूहिक आत्महत्या : नेता भुसाल

संसद् विघटनमा राष्ट्रपतिले समेत फूलबुट्टा भरेको भुसालले आरोप लगाए । नेकपा दाहाल–नेपाल समूहले सोमबार पूर्वी नवलपरासीको दलदलेमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै भुसालले यस्तो बताएका हुन् । ओलीका पछिल्ला कदम र उनका अभिव्यक्ति सतही, हास्यास्पद, झुट, गालीगलौज र उत्ताउलो भएको उनले जिकिर गरे ।

पूर्वएमाले र पूर्व माओवादी ब्युँताउनु साम्प्रदायिक भएको जिकिर गर्दै भुसालले ओलीको जस्तो निकृष्ट चरित्र, तानाशाही प्रवृत्ति र टुक्का प्रदर्शनले २१ शताब्दीको समाज चल्न नसक्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विरोध गर्ने सबैलाई कुर्तक गरेर ठुंग्ने प्रवृत्ति अंगालेको बताए ।

निर्वतमान कृषिमन्त्री भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली र कदमबारे कुनै पनि नेताले प्रश्न गरे त्यसलाई ठुंग्ने गरेको आरोप लगाए । भुसालले भने, 'प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनले मुलुकलाई डरलाग्दो संकटतर्फ धकेलेको छ, ओलीको असंवैधानिक कदम र हठी स्वभावका कारण मुलुक अस्थिरतातर्फ धकेलिएको छ ।' जनताले दिएको बहुमतको अनादार गरी संविधान मिचेर गराउन लागिएको मध्यावधि निर्वाचनमा ओली पक्षले बहुमत ल्याउने कुरा हास्यास्पद भएको टिप्पणी गर्दै वैशाखमा निर्वाचन हुनै नसक्ने भुसालले ठोकुवा गरे ।

कार्यकर्ता भेलामा भुसालले आफ्नो मन्तव्यको अधिकांश समय ओलीको कार्यशैली, प्रवृत्ति, नेकपाको एकता र आगामी दिनमा नेकपाको भविष्यका विषयमा आफ्ना विचार राखेका थिए । इतिहासका थुप्रै कालखण्डमा संसद् पुन:स्थापनाको अभ्यास सफल भएकाले पनि ओलीले गरेको संसद् विघटन तीन महिनाभित्रै पुन:स्थापना हुने भुसालले दाबी गरे । उनले भने, 'मुलुकमा अब संसद् पुन:स्थापना र सत्यनाश नै दुईवटा विकल्प हुन्, त्यसैले संसद् पुन:स्थापना भएरै छोड्छ ।'

प्रकाशित : पुस २०, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?