भर्चुअल संसारमा महिलालाई पीडा

साइबर ब्युरोमा आउने उजुरीमध्ये महिलाका चरित्र हत्यासँग जोडिएकाको संख्या धेरै
जनकराज सापकोटा

काठमाडौँ — ‘तिम्रो अर्धनग्न तस्बिरहरू मसँग छन्, भनेजति पैसा नदिए सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिन्छु ।’ यस्तै आशयका इमेलहरू लगातार आएपछि उनको हंसले ठाउँ छाड्यो । ‘७० लाख नदिने हो भने नग्न फोटो र भिडियोहरू सामाजिक सञ्जालभरि फैलाइदिने’ धम्कीले डराएकी उनले इमेल गर्नेलाई सुरुमै २ लाख ४५ हजार पठाइन् ।

भर्चुअल संसारमा महिलालाई पीडा

एक दिन उनले दुई वर्षअघि ‘ब्रेकअप’ भएको सम्बन्धलाई केलाउन थालिन् । शंकासहितको दोमनमा दिन बिताइरहेका बेला पनि उनलाई ‘भनेजति रकम छिटो दिन’ धम्कीपूर्ण इमेल आउने क्रम रोकिएन । दोस्रो चरणमा खोजखाज गरेर ६ लाख ५० हजार दिने तयारी गर्दै थिइन् । तर रकम बुझाउनुअघि उनलाई कसैले प्रहरीमा खबर गर्ने सुझाव दियो । डरैडरमा उनी प्रहरीको साइबर ब्युरोमा पुगिन् ।

ब्युरोको अनुसन्धान काठमाडौंको गल्फुटारतिर सोझियो । ६ दिनपछि प्रहरीले पुस ८ मा गल्फुटारबाट जसलाई पक्राउ गर्‍यो, ती उनका पूर्वप्रेमी नै रहेको खुल्यो । ३३ वर्षीय सुमन रेग्मी पक्राउ परेपछि उनले फेक इमेल आईडी बनाएर चरित्र हत्याको धम्की र डर देखाउँदै पैसा उठाउन खोज्नेलाई प्रस्ट चिनिन् । ब्युरोले सुमनको बैंक खाता मात्रै जाँच गरेन, उनले चलाउने इमेलहरूको पनि विस्तृत अनुसन्धान गर्‍यो ।

‘पैसा असुल्न एकैसाथ चार नक्कली इमेल बनाइएको रहेछ । अर्धनग्न तस्बिर सार्वजनिक गरिदिने डरले केटीले जति पनि पैसा दिन्छे भनेर यस्तो खेलमा उत्रेको रहेछ,’ ब्युरोका एक अनुसन्धान अधिकारीले बताए । एक अटोमोबाइल कम्पनीमा काम गर्ने सुमनले पैसाकै लालसा र पूर्वप्रेमिकासँग बदला लिन यस्तो गरेको देखिएको उनले सुनाए । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार बारम्बार आउने उजुरी र घटनाबाट कसैकसैले मानसिक यातना दिन मात्रै त कसैले पैसा कमाउनकै लागि समेत चरित्र हत्याको औजार उज्याएको देखिन्छ । साइबर ब्युरोमा आएका घटनाहरूको सरसर्ती अध्ययन गर्दा इन्टरनेट र सामाजिक सञ्जालसँग सम्बन्धित घटनाबाट पुरुषभन्दा झन्डै दोब्बर संख्यामा महिलाहरू पीडित बनेको देखिन्छ ।

ब्युरोका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १८ वर्षमुनिमा १९ बालक र ५२ बालिका विभिन्न प्रकारको साइबर अपराधबाट पीडित बने । यही अवधिमा १८ वर्षमाथिका ७ सय २७ महिला तथा ५ सय २५ पुरुष विभिन्न प्रकारका साइबर अपराधबाट पीडित बनेका देखिन्छन् । यो संख्याले १८ वर्षभन्दा मुनि र माथि दुवै उमेर समूहमा पुरुषभन्दा महिला बढी पीडित बनेका देखिन्छन् । ब्युरोका प्रमुख एसएसपी नवीन्द अर्यालले भने, ‘त्यसको एउटै कारण हो, महिलालाई चरित्र हत्याको हतियार देखाउन सजिलो हुने सामाजिक संरचना ।’

ब्युरो प्रमुख अर्यालले महिलाको चरित्रको हिसाबकिताब गर्ने सामाजिक संरचनाको कुरा बताउँदै गर्दा केही समयअघिको ओखलढुंगाको घटना सुनाए । गत वर्ष असारमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० की १६ वर्षीया गोमा कार्कीले सुसाइड नोट लेखेर आत्महत्या गरेकी थिइन् । नोटमा ‘मेरो फेक आईडी बनाएर मलाई बदनाम गराउनेलाई कारबाही गरेमात्र मेरो आत्मालाई शान्ति मिल्नेछ’ लेखिएको थियो । उनको सुसाइड नोटकै आधारमा प्रहरीले अनुसन्धान गर्दै स्थानीय युवराज कार्कीलाई पक्राउ गर्‍यो । प्रहरीसँगको बयानमा युवराजले आफूले गोमालाई मन पराउने तर उनले वास्ता नगरेपछि इबी साध्न गोमाकै फोटो राखेर ‘सबैको बूढी म’ भन्ने नक्कली फेसबुक अकाउन्ट खोलेको बयान दिएका थिए ।

पुसको पहिलो साता ब्युरोले चितवनको माडी–६ कल्याणपुरबाट ३५ वर्षीय थमबहादुर विश्वकर्मालाई पक्राउ गर्‍यो । सम्बन्ध बिग्रिएपछि पारपाचुकेको प्रक्रियामा रहेका थमबहादुरले श्रीमतीको चरित्र हत्या गरे जितिन्छ भन्ने सोचले सम्बन्धमा रहँदाका गोप्य तस्बिर र भिडियो सार्वजनिक गरिदिने भन्दै धम्क्याउन थाले ।

सरदर दैनिक चारदेखि २२ वटासम्म साइबर अपराधका निवेदन ब्युरोमा पर्ने गर्छन् । एसएसपी अर्यालका अनुसार तीमध्ये कैयन् उजुरी महिलाको चरित्र हत्यासँग जोडिएका देखिन्छन् । घटनाको संश्लेषण गर्दै कसैले आर्थिक लाभ लिन, कसैले इगो साध्न, कसैले सम्बन्धबाट छुटकारा पाउन त कसैले यौन हिंसाबाट मनोरञ्जन लिन पनि साइबर अपराध गरिरहेको अनुसन्धानबाट खुल्ने गरेको उनले बताए । ब्युरोमा आउने साइबर अपराधका घटनामा पीडित र पीडकबीच सम्बन्धको लामो पृष्ठभूमि पनि देखिन्छ ।

प्रकाशित : पुस २०, २०७७ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?