सुत्केरी छाउगोठमै

‘मलाई यसरी सुत्केरी भएका बेला डरलाग्दो छाउगोठमा बस्न रहर छैन । समाजले एक्लो बनाउँदैन भने मलाई सबै समाजको अगाडि घरमा राख्दिनुपर्‍यो हजुर ।’
मेनुका ढुंगाना

सुतार, अछाम — शनिबार दिउँसो अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्याय र प्रहरी प्रमुख डीएसपीलगायतको टोली सदरमुकामबाट ४५ किलोमिटर टाढाको सुतार गाउँमा पुग्यो । प्रत्येक शनिबार प्रजिअसहित सुरक्षा निकाय प्रमुखहरू स्थानीयबाट सूचना संकलन गरेर विकट गाउँमा छाउगोठ भत्काउन पुग्ने गरेका छन् ।

सुत्केरी छाउगोठमै

शनिबार अछामको दुर्गम र विकट मानिने रामारोशन गाउँपालिका–७ को सुतार गाउँको मुजाबगरमा रहेको प्रहरी चौकीबाट केही प्रहरीलाई बिहानै गाउँमा गएर छाउगोठको अवस्था बुझ्न डीएसपी योगेन्द्रसिंह थापाले निर्देशन दिइसकेका थिए ।

जिल्लाको टोली सुतारमा नपुग्दै पहिले पुगेका प्रहरीले सातवटा एकल तथा संयुक्त छाउगोठ भत्काइसकेका थिए । तर ऐडी गाउँको बीचमा पर्ने एक सामूहिक छाउगोठ भत्काउन प्रहरीले आँट गर्न सकेनन् । दुई फिट अग्लो, तीन फिट लम्बाइ र चौडाइ भएको डरलाग्दो छाउगोठमा ऐडी गाउँकी सुनीता ऐडी बसेकी थिइन् । सुनीता सुत्केरी भएको पाँच दिन पुगेको थियो । यसअघि दुई छोरी र एक छोरालाई जन्म दिइसकेकी २४ वर्षीया सुनीता पहिले सुत्केरी हुँदा पनि त्यही गोठमा बसेकी थिइन् ।

करिब ३ सय मिटर माथि उनको घर छ । परिवारको स्याहारसुसार गर्ने बेला उनी भने एक्लै छाउगोठमा बस्छिन् । जाँगर चलेको दिन गहुँबारीबाट आफैं साग ल्याएर पकाउँछिन् । जाँगर नचलेको दिन भोकै सुत्छिन् । चिसोले पाँच दिनको शिशुलाई बिरामी बनाउँछ कि भन्ने पीर पनि उनलाई उत्तिकै छ । ‘मलाई यसरी सुत्केरी भएका बेला डरलाग्दो छाउगोठमा बस्न रहर छैन । समाजले एक्लो बनाउँदैन भने मलाई सबै समाजको अगाडि घरमा राख्दिनुपर्‍यो हजुर,’ उनले भनिन्, ‘यो गाउँका महिलाभन्दा पुरुषको सोचाइ खत्तम छ । नेताहरू, कर्मचारीहरू र जनप्रतिनिधिहरू बाहिर गएर सुत्केरी भएका बेला, छाउ भएका बेला घरमा राख्छौं भन्छन् । गाउँमा आएपछि उनीहरू नै गोठमा बस, बाहिर जे भने पनि तिमीहरूले गोठमा नै बस्नुपर्छ भन्छन् । हामी ती ठूलाबडाहरू र समाजका डरले यसरी बस्न बाध्य छौं ।’

सुत्केरीले छोएको लुगाकपडा र मान्छेलाई समेत अरूले नछुने गरेको उनले सुनाइन् । ‘यो गोठभित्रको पीडा म सुनाउनै सक्दिनँ । मलाई घरमै राखिदिनुस्, तर मैले घरमा बस्न चाहेको कुरा अरूलाई नबताइदिनुहोला,’ उनले भक्कानिँदै सुनाइन् । देउताभन्दा समाजको डरले गोठमा बस्ने महिलाहरू जिल्लाबाट गएको टोलीसँग घरमै बस्न चाहेको कुरा बताउन थाले । महिलाका कुरा सुनिसकेपछि टोलीले सुनीताका श्रीमान्को खोजी गर्न थाल्यो । उनका श्रीमान् आउनै चाहेनन् । गोठमा नै बसाउनुपर्छ भन्दै उनी बोलाउन गएका मान्छेलाई जवाफ दिन्थे ।

प्रहरीले खोजी गरेपछि श्रीमान् लालबहादुर ऐडी आए । सम्झाइबुझाइ गर्दा पनि सुत्केरी श्रीमतीलाई घरमा बसाउन नमानेका लालबहादुरलाई प्रहरीले पक्राउ गरी जिल्लामा लैजाने र कानुनअनुसार कारबाही गर्ने चेतावनी दिए । त्यसपछि आमाबुबा र परिवारसँग सल्लाह गर्छु भन्दै निस्किएका उनले पछि श्रीमतीलाई घरमा राख्ने सल्लाह भएको बताए । ‘म अहिले नै मेरी श्रीमतीलाई घरमा राख्छु । यसअघि गोठमा राखेर गल्ती भयो । अब यसरी म गल्ती दोहोरिन दिने छैन,’ सुनीताका श्रीमान् लालबहादुरले भने, ‘अरूलाई पनि सम्झाउँछु । यहाँसम्म आएर हाम्रो आँखा खोली दिनुभएकामा धन्यवाद ।’

सुनीतालाई घरमा राखिएपछि टोली अर्को घरमा पुग्यो । ५ महिनाकी छोरीसहित छाउगोठमा बसिरहेकी महिलाका सासूससुरालाई पनि टोलीले सम्झाइबुझाइ गर्‍यो र घरमा बस्न पठायो । छेउमै भएका महिलाहरू खुसीले गद्गद् भए । ‘जिल्लाको टोली आएर यो गाउँमा ऐतिहासिक काम भयो । अब हामी पनि घरमै बस्छौं । कसैले गाली गरेमा प्रहरीलाई फोन गर्छौं । अब हाम्रो पनि साहस बढेको छ,’ महिला स्वास्थ्य स्वयंसेविका रम्भाकुमारी भण्डारीले भनिन् ।

छाउगोठ भत्काउने र जनचेतना जगाउने कार्य जिल्लाभर एकैसाथ सञ्चालन भएको प्रजिअ उपाध्यायले बताए । ‘अमानवीय कार्य हो । यसलाई निमिट्यान्न पार्न हामी गाउँगाउँमा पुग्ने गरेका छौं,’ उनले भने, ‘यो कुरीतिलाई अन्त्य गर्न गाउँमा सचेतनाका कार्यक्रम पनि गरिरहेका छौं ।’ दोस्रो चरणको अभियानमा जिल्लाभर प्रहरी परिचालन गरेको डीएसपी थापाले बताए । २०७६ पुसबाट सुरु भएको छाउगोठ भत्काउने अभियानमा शनिबार सुतारमा ११ गोठसहित ७ हजार बढी छाउगोठ भत्काइएको उनले जानकारी दिए ।

प्रकाशित : पुस २०, २०७७ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?