कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मिटर ब्याजको मार : पाँच गुणा तिर्दा पनि धितो फिर्ता भएन

‘ऋण लिँदा ५ लाखको कपाली तमसुक गरेको थिएँ, २५ लाख तिरिसकेँ । अहिले थप ५० लाख रूपैयाँ मागेका छन् ।’
विनोद भण्डारी

विराटनगर — मोरङको धनपालथान गाउँपालिका–१ का युनिस हुसेनले छोरा मञ्जरलाई विदेश पठाउन सात वर्षपहिला विराटनगर–९ घोघापुल चोकका मन्टु भनिने सञ्जयप्रसाद रौनियारसँग ५ लाख रुपैयाँ ऋण लिए । त्यसका लागि उनले आफ्नो डेढ बिघा जमिन धितो राखेर कपाली तमसुक गरेका थिए ।

मिटर ब्याजको मार : पाँच गुणा तिर्दा पनि धितो फिर्ता भएन

युनिसले अहिलेसम्म मिटर ब्याजी रौनियारलाई २५ लाख रुपैयाँ बुझाइसके तर रौनियारले धितोबापतको डेढ बिघा जमिन अझै फिर्ता गरेका छैनन् ।

धितोबापतको जग्गा फिर्ता लिन रौनियारले अझै ५० लाख रुपैयाँ माग गरेको उल्लेख गर्दै छोरा मञ्जरले मोरङ प्रहरीमा उजुरी दिएका छन् । ‘ऋण लिँदा ५ लाखको कपाली तमसुक गरेको थिएँ, अहिले १० लाखको तमसुक देखाएर धितो फिर्ताका लागि थप ५० लाख रुपैयाँ मागेपछि न्याय माग्न प्रहरीमा पुगेको हुँ,’ मञ्जरले भने, ‘विदेश गएर कमाएको सबै साहुलाई बुझाएँ तर अझै धितो फिर्ता भएको छैन ।’

धनपालथान–७, कमलपुरका विनोदकुमार सिंहले पनि रौनियारसँग २०६९ सालमा ९ कट्ठा जमिन धितो राख्दै कपाली तमसुक गरेर ३ लाख रुपैयाँ ऋण लिएका थिए । उनले पनि अहिलेसम्म रौनियारलाई १२ लाख रुपैयाँ बुझाइसकेका छन् तर उनलाई पनि रौनियारले धितोबापतको जमिन फिर्ता गरेका छैनन् । विनोदले भने अहिले साहुले ८ लाखको तमसुक देखाएर धितो फिर्ताका लागि थप ३५ लाख रुपैयाँ मागेपछि विनोद पनि न्याय खोज्दै प्रहरीमा पुगेका छन् ।

विराटनगर–१० की संगीता कामतले पनि रौनियारसँग १० लाख रुपैयाँ ऋण लिएर ५० लाख रुपैयाँसम्म बुझाइसक्दा पनि धितो फिर्ता नपाएपछि उनी पनि प्रहरीमा पुगेकी छन् । उनीहरू जस्तै मिटर ब्याजमा ऋण लिने विराटनगरका आधा दर्जनभन्दा बढी व्यवसायी पलायन भइसकेका छन् भने केहीले आत्महत्या गरेका छन् । रौनियारविरुद्ध एकपछि अर्को उजुरी परेपछि मोरङ प्रहरीले रौनियार र उनका सहयोगी एसास अमतलाई पक्राउ गरेर अनुसन्धान सुरु गर्दा रौनियार कुख्यात मिटर ब्याजी भएको पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

रौनियारविरुद्ध २७ जनाले उजुरी गरेका छन् । एसपी खड्काले भने उनले कम्तीमा ५० हजारदेखि बढीमा १० लाख रुपैयाँसम्म मिटर ब्याजमा लगानी गरेर साँवाको दस गुणा बढी रकम तिर्दा पनि धितो र तमसुक फिर्ता नगरी उल्टै धम्क्याएर रकम असुली गरेको पाइएपछि उनलाई ठगी र आपराधिक लाभ लिएको कसुरमा कारबाही गर्ने तयारी गरिएको छ ।

रौनियारसँग मोरङको धनपालथान, जहदा, रंगेली, विराटनगर र सुनवर्षी नगरपालिकाका अधिकांशले ऋण लिएको र उनीहरूसँग रौनियारले मिटर ब्याजमा रकम असुली गर्दा कैयौंको घर उजाड भएको पाइएको खड्काले बताए । उनका अनुसार रौनियारले सर्वसाधारणलाई धितो राखी किर्ते तमसुक गराएर ऋण दिने र त्यो रकमको मिटर ब्याज लिनेदेखि धितोको हालको मूल्यांकनका आधारमा रकम लिएर मात्र धितो फिर्ता गर्ने गरेको पाइएको छ ।

एक ऋणीसँग पटक–पटक ल्याप्चे लगाएर ब्याजदेखि स्याजसम्म असुल्दै आएका रौनियारले अहिलेसम्म सर्वसाधारणको ५० करोड रुपैयाँभन्दा बढी असुलेको प्रहरीको अनुसन्धानले देखाएको छ । रौनियारले एक दशकदेखि यो धन्दा चलाएको र यसैको रकमले रौनियार र उनकी पत्नीका नाममा करोडौं मूल्यबराबरका ६० कित्ता जमिन रहेको पाइएको छ । हालसम्म रौनियारको नाममा सर्वसाधारणको ४० कित्ता र उनकी पत्नी ज्योतिको नाममा २० कित्ता जग्गा राजीनामा पास गरेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरीको भनाइ छ ।

मिटर ब्याजमा लगानी गरेर अकुत सम्पत्ति कमाएको र ग्रामीण क्षेत्रका अधिकांश सर्वसाधारणलाई टाट पल्टाएको भन्दै रौनियारविरुद्ध मंसिर पहिलो साता सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी पनि परेको थियो । विभागमा दर्ता भएको २१३१ नम्बरको उजुरीपत्रमा रौनियारले २०७० यता अदालतमा सर्वसाधारणविरुद्ध लेनदेनका तीन सयवटा मुद्दा दायर गरेको उल्लेख छ ।

प्रकाशित : पुस २०, २०७७ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?