संसद् पुन:स्थापनाको माग गर्नु हास्यास्पद : नेता पौडेल

प्रचण्ड र माधवको पदप्रतिको लोभले आजको अवस्था आयो : नेता  पोखरेल
प्रचण्ड निर्वाचनमा जान डराएर सडकमा जानुभयो : रायमाझी
अमृता अनमोल

बुटवल — नेकपा महासचिव विष्णु पौडेलले प्रतिनिधिसभा पुन:स्थापित हुने कुनै संवैधानिक र कानुनी आधार नभएको बताएका छन् । करिब ६४ प्रतिशत सांसदको साथ र दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेकाले अब पुनर्स्थापित हुने सम्भावना नै नरहेको दाबी उनले गरे । उनले प्रचण्डसहितका नेता सडकमा जानु र संसद् पुन:स्थापनाको माग गर्नु हास्यास्पद रहेको बताए ।

संसद् पुन:स्थापनाको माग गर्नु हास्यास्पद : नेता पौडेल

‘प्रतिधिनिसभा विघटन बाध्यकारी निर्णय हो । प्रचण्ड र उहाँका समूहले सिर्जना गरेको अवस्था हो र तर पनि यो लोकतान्त्रिक र संवैधानिक छ,’ नेकपा रुपन्देहीको अगुवा कार्यकर्ता भेलालाई आइतबार संबोधन गर्दै उनले भने, ‘प्रतिनिधिसभाले समस्याको समाधान गरेन र चुनावी घोषणापत्र पूरा गर्नेगरी काम गर्न सकेन त्यसैले जनताको ताजा जनादेशमा जान्छौं भन्नु भएको छ । त्यो प्रधानमन्त्रीमा अधिकार छ ।’ नेता पौडेलले प्रचण्डले जस्केलाबाट उफ्रेर प्रधानमन्त्रीको कुर्सीमा पुग्ने बाटो तय गरेकाले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्नुपरेको बताउँदै यो अवस्था ल्याउनमा प्रचण्ड र उनका पछि लाग्ने नेता भएको दाबी गरे ।

‘प्रचण्डलाई सहमतिमा आउनुस् । आरोपपत्र फिर्ता लिनुस् । पाटी चलाउनुस् । भनेकै हो’ उनले भने, ‘ कमरेडहरु खुट्टा तान्न र अफ्ठेरो पार्न लागिरहनु भयो । लागिरहनु भएको छ । त्यसैले यस्तो भयो । ’

नेकपा नेता एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको प्रथम अध्यक्ष र महासचिव आफ्नो समूहमा रहेकाले पार्टीको आधिकारिकता आफूहरुमा रहेको दाबी गरे । पार्टीलाई निर्देशन दिने अध्यक्ष र निर्णयको प्रमाणीकरण गर्ने महासचिवबिना अर्को गुटले आधिकारिकता दाबी गर्नुको कुनै अर्थ नरहेको उनको भनाइ थियो । ‘प्रथम अध्यक्षले पार्टी रक्षाको लागि केन्द्रीय कमिटीलाई विस्तार गरेर ११ सय ९९ पुर्‍याउनुभएको छ । अब निर्वाचन आयोगमा मार्चपास गर्नुपर्‍यो भने ११ सय ९९ को मार्चपास हुन्छ’ उनले भने, ‘अब त प्रचण्ड नेपालले त पाटी फोड्न पनि सक्नु हुन्छ । आधिकारिकताको त कुरै छोडौं ।’

नेता पोखरेलले ३३ वर्ष पार्टीको अध्यक्ष बनेका प्रचण्ड र १५ वर्षसम्म महासचिव बनेका नेपालको पद प्रतिको लोभले अहिलेको अवस्था आएको आरोप लगाए ।

नेता टोपबहादुर रायमाझीले अहिलेसम्म टीका लगाएका भरमा पार्टी चलाएका प्रचण्डमा निर्वाचनमा जाने हिम्मत नभएकाले सडकमा गएको बताए । ‘निर्वाचनमा हिम्मत पनि छैन । त्यसैले सडकमा जानुभाछ’ उनले भने, ‘ प्रचण्ड सधैं खल्तीबाट नियुक्ति गरेर सरकार र टीका लगाएर पार्टी चलाउने मान्छे हो । अहिले छताछुल्ल भयो ।’

प्रकाशित : पुस १९, २०७७ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?