१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

स्वस्थ सहरका लागि साइकल अभियान

काठमाडौँ — साइकल र अन्य वातावरण मैत्री अभ्यास प्रवर्द्धनका लागि एउटा नयाँ अभियान सुरु हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), ललितपुर महानगरपालिका, कान्तिपुर मिडिया ग्रुप र साइकल सिटी नेटवर्क नेपालले संयुक्त रूपमा अभियान अघि बढाउने भएका हुन् । 

स्वस्थ सहरका लागि साइकल अभियान

आगामी जनवरी ९ मा ललितपुरमा साइकल र्‍याली सुरु गरी उक्त अभियान थालनी गरिँदै छ । अभियानलाई कोभिड–१९ महामारीका बेला सहरी गतिशीलता र वातावरण मैत्री जीवनशैलीको विकल्पका रूपमा लिइएको छ । साइकल यात्रा सफा, स्वस्थ र सस्तो यातायातको एक वैकल्पिक माध्यमका रूपमा प्रचार गर्ने लक्ष्य अभियानको छ । यो अभियान कम्तीमा दुइटा महानगरपालिकाबाट सुरु गरिने र त्योमध्ये एक ललितपुर महानगर हुने जनाइएको छ ।

‘साइकल दुई शताब्दीदेखि प्रयोगमा छ र यो सामान्य, सस्तो, भरपर्दो, सफा, वातावरणमैत्री एवं दीर्घकालीन यातायातको विकल्प हुनेछ,’ यूएनडीपीका क्षेत्रीय प्रतिनिधि एसहानी मेडागंगोडा लेबले भनिन्, ‘यस्तो अभियान सफलता र सुरक्षाका लागि मोटर चालक, नीति निर्माताको पनि भूमिका महत्त्वपूर्ण हुनेछ ।’ ललितपुर महानगरपालिकाले यातायातको वैकल्पिक प्रयोगका लागि साइकल अभियानमा जोडिन पाउँदा खुसी लागेको जनाएको छ । मेयर चिरीबाबु महर्जनले ललितपुरले साइकल लेन बनाउन पहिलो पहल गरेको स्मरण गर्दै आफूहरू अन्य स्वस्थ सहर बनाउने कार्यमा सहकार्य गर्न तयार रहेको बताएका छन् । स्वस्थ सहर निर्माणका लागि सहकार्य गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपालप्रसाद सिग्देलले नेपाल सरकारले सन् २०५० भित्र ५० प्रतिशत फोसिल इन्धन प्रयोग कटौती गरी वायु प्रदूषण न्यूनीकरण गर्ने लक्ष्यमा साइकल अभियानले सहयोग पुर्‍याउने बताए ।

कान्तिपुर मिडिया ग्रुपका नायब महाप्रबन्धक महेश स्वाँरले अभियानअन्तर्गत यातायातको वैकल्पिक माध्यम साइकल प्रयोगका लागि आम मानिसलाई प्रेरित गर्न पाएकोमा गर्व लागेको बताए । ‘हामीलाई विश्वास छ यो अभियानले असल वातावरण र जनस्वास्थ्यका क्षेत्रमा रूपान्तरणका लागि टेवा पुग्नेछ,’ उनले भने ।

साइकल सिटी नेटवर्क नेपाल (सीसीएनएन) का अध्यक्ष शैलेन्द्र डंगोलले ‘आफूहरू यस अभियानमा जोडिन पाएकोमा निकै अनुग्रहित रहेको’ बताए । उनका अनुसार यो अभियानले निजी क्षेत्रका कम्पनीलाई यसमा सहकार्य गर्ने अवसर प्रदान गर्नेछ ।

अभियानमा यति एयरलाइन्स, सानो पाइला, जीडी ल्याब्स् एन्ड रिसर्च, साइक्लिङ सिटिज इन्डियालगायत साझेदारहरूको सहयोग रहेको छ । अभियानले यस कार्यका लागि आगामी दिनमा अझ धेरै स्थानीय सरकार र निजी क्षेत्रको सहभागिता हुने अपेक्षा गरेको छ ।


प्रकाशित : पुस १९, २०७७ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?