कहाँ हरायो लिच्छविकालीन ब्रह्मा मूर्ति ?

‘लैनसिंह वाङ्देलले ४० वर्षअघि चोरिएको भनेको यो मूर्ति ११ वर्षअघिसम्म पशुपति गोश्वारा भण्डारमा देखिएको थियो’

काठमाडौँ — केही समयअघिसम्म पशुपति गोश्वारामा रहेको लिच्छविकालीन ब्रह्माजीको मूर्ति हराएको छ । गुठी संस्थान, पशुपति विकास कोष र हाल गोश्वारा कब्जामा लिएको सशस्त्र प्रहरी कसैले पनि यो मूर्तिबारे जानकारी नरहेको बताएका छन् ।

कहाँ हरायो लिच्छविकालीन ब्रह्मा मूर्ति ?

पशुपतिनाथ आर्यघाटबाट गोरखनाथ मन्दिर जाने सिँढीको देब्रेतर्फ पर्खालको भित्तामा योगमुद्रामा रहेको ब्रह्माको मूर्ति २०३८ सालतिर एकाएक हराएको भनेर स्थानीय सरोकारवालामाझ होहल्ला फैलिएको थियो । पशुपति क्षेत्रका सम्पदाबारे खोजीनिती गरिरहेका संस्कृतिविद् गोविन्द टन्डनले हराएको मूर्तिबारे तत्कालीन पाशवत क्षेत्र तथा विकास समिति र अन्यत्रसमेत जानकारी गराएका थिए ।

अन्वेषक लैनसिंह वाङ्देलले आफ्नो कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ मा समेत यो हराएको मूर्तिबारे उल्लेख गरे । १२ औं शताब्दीमा बनाइएको मानिने ब्रह्माजीको यो मूर्ति सन् ८० को दशकमा हराएको भन्दै वाङ्देलले पुस्तक (पेज ६५–६६) मा वर्णन गरेका छन् । ‘यक्ष मल्लबारे एउटा ताम्रपत्र हेर्ने काम लिएर पशुपति गोश्वारा (गुठी कार्यालय) मा गएको थिएँ । गोश्वारामा हाकिम धनप्रसाद उपाध्याय (हाल दिवंगत) थिए । मैले कुराकानी क्रममा हराइरहेको ब्रह्मा मूर्ति र वाङ्देलको पुस्तकबारे पनि अवगत गराएँ,’ टन्डनले सम्झिए, ‘अनि त्यो मूर्ति त्यही गोश्वाराको भण्डार कक्षमा संरक्षण हिसाबमा राखिएको रहेछ भन्ने थाहा भयो । कागजले बेरेर राखिएको मूर्ति देखेको थिएँ ।’

मूर्ति चोरीको बिगबिगी सुरु भएका बेला हराउन सक्ने स्थानमा उक्त लिच्छविकालीन ब्रह्मा मूर्ति रहेकाले त्यसलाई उठाएर गोश्वारा भण्डारमा राखिएको थियो । त्यही प्रमाणका आधारमा टन्डनले उनको पुस्तक ‘पशुपति क्षेत्रको सांस्कृतिक अध्ययन’ (२०५३) मा ब्रह्माजीको यो मूर्ति हराएको नभई पशुपति गोश्वारामा रहेको उल्लेख गर्दै वाङ्देलले ‘स्टोलन इमेजेज अफ नेपाल’ मा लेखेको वृत्तान्त गलत रहेको स्पष्ट पारेका छन् ।

२०४४ सालमा पशुपति विकास कोष स्थापना भएपछि पशुपतिनाथ मन्दिरसामु रहेको गोश्वारा (गुठी) कार्यालयको अधिकांश भागसमेत कोषको अधीनमा आएको थियो । त्यसपछि कोषमार्फत सशस्त्र प्रहरीको पहरागण कक्ष बनाइएको गोश्वाराको भण्डार कक्ष रातारात खाली गरियो । तर भण्डारभित्रै रहेका ब्रह्माको मूर्ति, अन्य ससाना मूर्ति, अरू ताम्रपत्र र अभिलेख असरल्ल बने ।

सम्पदा विज्ञ गोविन्द टन्डन

केही ताम्रपत्र भने गुठीको भद्रकालीस्थित लगत अभिलेख शाखामा ल्याइयो तर ब्रह्माको मूर्तिसहितका सम्पदा कता लगियो, के भयो भन्नेबारे सरोकारवालालाई समेत थाहा छैन । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार, २०६६ असोजदेखि पशुपति विकास कोषअन्तर्गतको भवनमा सशस्त्र पहरागण बसेको हो । यो भनेको विगतमा गुठीको भण्डार रहेको कक्षसहितको भाग हो ।

गुठीको पशुपति कार्यालयकी प्रमुख उमा आचार्यले आफ्नो कार्यक्षेत्रभित्रकै हकअधिकारसमेत नरहेकै अवस्थामा आफूहरू बसिरहेको बताइन् । ‘आफ्नै कार्यालयमा छिर्नसमेत हामीलाई यदाकदा मुस्किल पर्ने गरेको छ । पशुपति विकास कोष र गुठी संस्थानबीचमा समन्वय हुन सकेको छैन,’ उनले भनिन् । प्रमुख आचार्यले केही वर्षअघि अन्वेषक टन्डनले अवलोकन गरेको गुठीको भण्डार कक्षमा हाल सशस्त्र प्रहरी रहेको र ब्रह्माजीको मूर्तिबारे गुठी कार्यालय जानकार नरहेको बताइन् ।

पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले पनि उक्त ब्रह्माजीको मूर्तिबारे खोजबिन गरेर मात्रै भन्न सकिने बताए । यसबारेमा पशुपति विकास कोषको प्रशासनमा लामो समयदेखि सेवारत प्रमुख भोला सिटौलाले केही मूर्ति र अभिलेख सामग्री कोष कार्यालयको ग्यारेजमा समेत राखिएको उल्लेख गर्दै ब्रह्माजी मूर्तिबारे भने तत्काल केही भन्न नसकिने बताए । ‘मूर्ति पशुपति गुठीको स्टोरमै अथवा कोषको ग्यारेजमा हुनुपर्छ, रहेभएको चिजबिज त्यहीं हुनुपर्छ,’ उनले भने, ‘अब खोजबिन गरेर मात्रै भन्न सकिन्छ ।’

सम्बन्धित समाचार

हराएको ३६ वर्षपछि चतुर्मुखी शिवलिंग अमेरिकामा

प्रकाशित : पुस १९, २०७७ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?